We Star Nepal
News From Nepal

मिस नेपालहरुको फिल्मी यात्रा

0 341

काठमाडौं : सन् १९९४ मा सुरु भएको मिस नेपालको यात्राले २३ वर्ष पूरा गर्दा झन्डै त्यति नै संख्यामा सुन्दरी ग्ल्यामरको संसारमा आए। मिस नेपालका विजेतामध्ये धेरैले चलचित्रको पर्दामार्फत आफूलाई स्थापित गराउन खोजे पनि तुलनात्मक रूपमा उनीहरूको प्रयासले मुहूर्त रूप लिन सकेन।प्रथम मिस नेपाल रुवी राणाले पहिलो नेपाल सुन्दरीको क्राउन लगाउँदा जति चर्चा पाएकी थिइन् त्यो चर्चा र सफलतालाई निरन्तरता दिन उनको अभिनय यात्राले साथ दिएन। अनमोल, भुतुक्कै भएँ नि, आधीबाटोलगायतका चलचित्रबाट रजतपटमा आएकी उनी आफूले सुरु गरेका अन्य क्षेत्रमा जति सफल भइन् त्यति सफल चलचित्रमा भने भइनन्। सुमी खड्का दोस्रो मिस नेपाल बनेपछि उनले पनि आफूलाई चलचित्रको ग्ल्यामरमा समाहित गराउने मनशाय राखिन्। चलचित्र ग्रहणमार्फत उनले आफ्नो अभिनय यात्रा आरम्भ गरे पनि यात्राको सुरुआत उत्साहप्रद रहेन। ठूलो तामझामका साथ ठूलै लगानीकर्ताको सहभागिता र मुम्बईबाट आएका निर्देशकले काम गरे पनि उनको चलचित्र ग्रहणले उद्योगमा लागेको व्यापारिक ग्रहण हटाउन सकेन। उनले भुवन केसीले निर्माण गरेको चलचित्र सुपरस्टारमा पनि अभिनय गरिन्। आफूले बनाएका प्रायः चलचित्र सफल भए पनि भुवनको यो चलचित्र भने नामअनुसारको हुन सकेन। त्यसपछि सुमीले समर्पण, एक नजरलगायतका चलचित्रमा अभिनय गरिन्।

१९९७ मा एकै वर्ष दुईवटा संस्थाले मिस नेपाल छाने। नियमित मिस नेपाल प्रतियोगिता आयोजना गर्दै आएको काठमाडौं जेसिसले नीलिमा गुरुङलाई मिस नेपाल घोषित गर्‍यो भने हिडेन ट्रेजरले झरना वज्राचार्यलाई मिस नेपाल (वल्र्ड) छनोट गर्‍यो। झरनाले नेपालको प्रतिनिधित्व गर्दै पहिलो पटक मिस वल्र्डमा सहभागी हुने अवसर पाइन्। मिस वल्र्डमा सहभागी भएर फर्केपछि उनी चलचित्र हतियारमार्फत नेपाली रजतपटमा प्रवेश गरेकी हुन्। चलचित्र निर्देशक प्रकाश सायमीले उनलाई चलचित्र क्षेत्रमा ल्याउन निकै मेहनत गरे पनि हतियार झरनाको फिल्मी यात्रा अघि बढाउने गतिलो हतियार भने बन्न सकेन।
केही नेपाली चलचित्रमा अभिनय गरे पनि उल्लेख्य सफलता पाउन नसकेपछि प्रकाश सायमीकै पहलमा उनी बलिउडमा आफ्नो भाग्य अजमाउन पुगिन्। बलिउडका गायक तथा नायक सोनु निगमको जोडीका रूपमा चलचित्र ‘लभ इन् नेपाल’ खेल्ने अवसर पाइन्। मुम्बई तथा नेपालमा छायांकन गरिएको चलचित्रमा उनले आफ्नो ग्ल्यामर पस्कन कन्जुस्याइँ गरिनन्। तर, यसले उनको फिल्मी करिअरलाई माथि उठाउन भने मद्दत गरेन। उद्योगमा बौद्धिक नायिकाका रूपमा परिचय बनाए पनि सफल नायिका बन्ने उनको प्रयास भने प्रयासमै सीमित रह्यो।

चलचित्र उद्योगले झरनाको बौद्धिकता उपयोग गर्न नसकेको केहीको विश्लेषण छ तर मिस नेपाललाई ग्ल्यामरको खुड्किलो बनाएर आएकाहरू रजतपटमा जम्न नसककेको क्रमलाई उनले पनि निरन्तरता नै दिइन्। सन् २००० की मिस नेपाल उषा खड्गी लामो समय फेसन मोडलिङ र मिडियाको क्षेत्रमा बिताएपछि यसै वर्ष चलचित्र निर्मात्रीको रूपमा उद्योगमा प्रवेश गरेकी छन्। उनले आफ्नै प्रोडक्सनमा चलचित्र निर्माण गर्ने घोषणा गरेकी छन्। उनको चलचित्र आउँदै जाँदैको अहिले प्रि-प्रोडक्सनको काम भइरहेको छ। यो चलचित्रको निर्देशन उनकै पनि जीपी तिमल्सिनाले गर्दै छन्। मिडियाका विभिन्न क्षेत्रमा समेत काम गरेकी ‘बोल्र्ड एन्ड ब्युटिफल’ मिस नेपाल-२००२ माल्भिका सुब्बा फेसन, मोडलिङका विधामा जुन रूपमा सफल भइन् चलचित्रको पर्दामा भने आम दर्शक तथा निर्माता निर्देशकको रोजाइमा पर्न सकिनन्। उनले गड लिभ्ज इन् दि हिमालयाज, गुड बाई काठमान्डू, हाम्री शिवानीलगायतमा काम गरिन्। माल्भिकापछि २००९ की मिस नेपाल जेनिशा मोक्तानले चलचित्रमा आफ्नो छवि बनाउने प्रयास गरेकी हुन्। सन् २००१ मा दरबार हत्याकाण्ड तथा २००६ र २००८ मा विरोधका कारण मिस नेपाल प्रतियोगिता आयोजना नै हुन सकेन। जेनिशाले मिस नेपाल हुनुभन्दा पहिले नै चलचित्रमा आउने प्रयास गरेकी हुन्। उनले चलचित्र मेरो एउटा साथी छमा अभिनय गरेकी छन्।

सन् २०११ मा मिस नेपाल बनेपछि मलिना जोशी निकै उत्साहका साथ चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्। उनको चलचित्र उद्योगको प्रवेशलाई धेरैले आशाका साथ हेरेका पनि थिए, तर उनले अभिनय गरेका चलचित्रहरूले व्यावसायिक रूपमा रेकर्ड स्थापित गर्न सकेनन्। उनी अभिनीत चलचित्र ऋतुको चर्चा भने केही मात्रामा भयो। झुम्की, दि विनरलगायतका चलचित्र प्रदर्शनमा आए भने केही आउने क्रममा छन्। अहिले नै आफ्नो कामको मूल्यांकन गर्ने समय भइनसकेको उनको भनाइ छ। ‘यो सुरुवात हो, मेहनतले अझै सफल बनाउँछ भन्ने विश्वास छ’, उनको प्रतिक्रिया छ। मलिनापछि आएकी सृष्टि श्रेष्ठको आगमनलाई चलचित्र उद्योगका निर्माता निर्देशकहरूले सकारात्मक रूपमा लिएका छन्। केही म्युजिक भिडियो र थिएटरमा अभिनयपछि अहिलेका सुपरस्टार अनमोल केसीको जोडीका रूपमा उनले अभिनय गरेको गाजलुले भने केही चर्चा पायो। कुमारीको कथामा आधारित यो चलचित्रपछि उद्योगमा उनको उपस्थिति खासै देखिएको छैन। अहिले बलिउडमा उनले चलचित्रमा अभिनय गर्ने अवसर पाएको चर्चाले भने निकै स्थान पाएको छ।

Leave A Reply

Your email address will not be published.