चरचित अभिनेत्री श्रीदेवीकी छोरी नायिका बन्ने तयारीमा
मुम्बई : कुनै समयकी चर्चित बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी पनि अब बलिउडको ग्ल्यामरमा छाउने भएकी छन्। करण जौहरले निर्माण गर्न लागेको ब्लकबस्टर मराठी फिल्म ‘सैराट’को हिन्दी रिमेकमार्फत जाह्नवीले बलिउड यात्रा सुरु गर्न लागेकी हुन्।
नागराज मञ्जुलले निर्माण गरेको मराठी फिल्म सैराटले ठूलो व्यापार गरेको थियो। बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जौहरले यसको हिन्दी रिमेक गर्न लागेपछि यो फिल्मका लागि छानिने कलाकारबारे निकै चर्चा चलेको थियो।अन्नत जौहरले यस चलचित्रका लागि अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी र शाहिद कपुरका भाइ ईशानलाई चयन गरेका छन्। तर, चलचित्रको निर्देशन भने उनी आफैंले गर्नेछैनन्। शशांक खेतानलाई उनले निर्देशनको अभिभारा सुम्पेका छन्। जाह्नवी र ईशान दुवैले करण जौहरमार्फत बलिउडमा डेब्यु गर्न पाउनु खुसीको कुरा भएको बताएका छन्।
फिल्मको छायांकन डिसेम्बर १ देखि हुने बताइएको छ। फिल्मको पहिलो चरणको छायांकन उत्तर भारतबाट हुनेछ। आगामी वर्षको जुलाईमा चालचित्र रिलिज गर्ने गरी यसको कार्य अघि बढाइने निर्माता जौहरले बताएका छन्। ईशान अहिले एउटा हलिउड चलचित्रमा अभिनय गरिरहेका छन् भने जाह्नवी अभिनय तथा नृत्यका कक्षा लिइरहेकी छन्।सुन्दर अनुहार तथा शरीरकी धनी जाह्नवी उनको फेसनेबल जीवनशैलीका कारण बेलाबेलामा चर्चाका आउने गरेकी छन्। एजेन्सी