काठमाडौं : निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भ्रमणका लागि मात्रै दुई अर्ब २६ करोड ६५ बजेट छुट्याएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई भ्रमण शीर्षकमा रकम उपलब्ध गराइन्छ । निर्वाचन खर्चमध्ये भ्रमणमा मात्रै साढे २१ प्रतिशत खर्च हुने देखिएको छ।मंसिर १० र २१ मा सम्पन्न हुने दुई चरणको निर्वाचनका लागि १० अर्ब ५३ करोड ४३ लाख ४३ हजार रुपैयाँ खर्च गर्ने गरी आयोगले कार्यक्रम बनाएको छ । आयोगले स्थानीय तह निर्वाचनमा एक अर्ब ९१ करोड भ्रमण शीर्षकमा खर्च गरेको थियो । आगामी चुनावमा भ्रमण भत्ताका लागि छुट्याइएको रकम स्थानीय चुनावको भन्दा ३५ करोड ६५ लाख रुपैयाँले बढी छ।
आयोगले स्थानीय भत्ताका लागि एक करोड रुपैयाँ छुट्याएको छ भने अन्य भत्ता शीर्षकमा एक अर्ब ७५ करोड २३ लाख रकम खर्च गर्ने योजना बनाएको छ । आयोगले स्थानीय तहको निर्वाचनमा स्थानीय भत्ताका लागि ३८ लाख र अन्य भत्तामा एक अर्ब १ करोड रुपैयाँ खर्च गरेको छ ।आयोगले निर्वाचन शिक्षा तथा अन्य कार्यक्रमको अनुगमन तथा मूल्यांकनका लागि १९ करोड आठ लाख खर्च गर्ने भएको छ । हतारमा निर्वाचन गर्ने परिपाटीले निर्वाचनका बेला गरिने कार्यक्रमको अनुगमन गर्न आयोगले त्यति नभ्याए पनि यो शीर्षकमा रकम भने छुट्याइएको छैन ।आयोगले अहिले नमुना मतपत्र र निर्वाचन सामग्रीसमेत छापिसकेको छ । कात्तिक २५ गतेदेखि मतदाता शिक्षा कार्यकर्ता परिचालन गर्न लागेको प्रवक्ता नवराज ढकालले बताए ।घरदैलोमा गएर दिइने भनिएको मतदाता शिक्षा कति प्रभावकारी भयो वा कसरी दिए भनी अनुगमन÷मूल्यांकन गर्न भने आयोगले भ्याएको छैन ।
त्यस्तै अयोगले आगामी चुनावका लागि पाँच करोड आठ लाख ५० हजार इन्धनमा खर्च गर्ने भएको छ । यसअघिको स्थानीय तह चुनावमा इन्धनमा दुई करोड ७७ लाख रुपैयाँ खर्च गरे पनि प्रतिनिधि तथा प्रदशेसभा चुनावमा भने यो शीर्षकअन्तर्गत खर्च छुट्याएको छैन ।आसन्न निर्वाचनका लागि तीन अर्ब सात करोड ७४ लाख खर्च गरिने भएको छ । स्थानीय चुनावमा कार्यक्रम खर्च शीर्षकमा एक अर्ब ५४ करोड रुपैयाँ खर्च गरिएको आयोग प्रवक्ता ढकालले जानकारी दिए । अन्य रकम पनि विभिन्न शीर्षकमा खर्च गरेको आयोगले जनाएको छ ।आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कार्यालय प्रयोजनका लागि कार्यालयसम्बन्धी खर्च शीर्षकमा दुई अर्ब २३ करोड ५० लाख खर्च गर्ने भएको छ ।आयोगले निर्वाचन सेवा तथा परामर्शका लागि एक करोड ५५ लाख खर्च गर्ने भएको छ । अन्य सेवा शुल्कको लागि २० लाख छुट्याएको छ । बिमा शीर्षकमा आयोगले १५ करोड रुपैयाँ छुट्याएको छ । सञ्चालन तथा मर्मत सम्भारका लागि ११ करोड रुपैयाँ छुट्याएको छ।
आयोगले चुनावी प्रयोजनका लागि लिइने घरभाडाको लागि पाँच करोड ५६ लाख खर्चिने भएको छ । निर्वाचनमा सञ्चार महसुलको लागि दुई अर्ब ९७ करोड खर्च गर्ने तयारी गरेको छ । पानी र बिजुलीमा मात्र तीन करोड ६८ लाख ४० हजार खर्च गर्न लागेको छ । यसका अलवा आयोगले विविध खर्च शीर्षकअन्तर्गत ५५ करोड १३ लाख ४७ हजार रुपैयाँ खर्च छुट्याएको छ ।निर्वाचन आयोग ऐन २०७३ परिच्छेद ६ को दफा २७ मा निर्वाचन सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने प्रयोजनका लागि आयोगको खर्चको व्ययभार संघीय सञ्चित कोषबाट गरिने व्यवस्था गरिएको छ । आयोगले निर्वाचनका लागि प्राप्त बजेट आफैंले खर्च गर्न पाउने व्यवस्था रहेको अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले जानकारी दिए ।‘निर्वाचनका लागि गरिने खर्च मात्र हामीले जुटाइदिने हो’, भण्डारीले भने, ‘कार्यक्रम बनाउनेदेखि सम्पूर्ण खर्च गर्ने अधिकार आयोगकै हुनेछ ।’