We Star Nepal
News From Nepal

नेपाली राष्ट्रिय क्रिकेट टोलीको दुर्दशा र समाधान

0 393

नेपाली क्रिकेट सायद अहिले इतिहासकै नाजुक अवस्थामा पुगेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले गत बिहीबार गरेको पछिल्लो पत्राचारले नेपाली क्रिकेटको यो अवस्था तत्काल अन्त्य हुने छाँट देखिँदैन । घरेलु क्रिकेटको सर्वाेच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन फुकुवाका लागि आफैंले तय गरिदिएको प्रक्रिया सहज रूपमा अघि नबढेको प्रति आईसीसी सन्तुष्ट देखिँदैन ।सल्लाहकार समूहले तयार पारेको विधानलाई निर्वाचित भनिएको क्यानको एक समूहले आफ्नो विशेष साधारणसभाबाट संशोधनसहित पारित गरेपछि आईसीसीले त्यसलाई स्वीकार गर्ने वा नगर्ने भन्ने विषयमा कानुनी परामर्श खोजिरहेको छ । त्यसैले आईसीसीले आफ्नो पछिल्लो इमेलमा निर्वाचित समितिलाई प्रस्तावित विधान कार्यान्वयन गर्ने सम्बन्धमा कुनै पनि कार्य तत्काल स्थगित गर्न प्रस्ताव गरेको छ ।

यो अवस्थाले नेपाली क्रिकेटको भविष्य थप अन्योलतर्फ धकेलिने संकेत देखिन थालेका छन् । क्रिकेट विवाद र नेपाली क्रिकेट कसरी यो अवस्थामा आइपुग्यो भन्ने विषयमा सञ्चारमाध्यममा यसअघि नै आइसकेका विषय हुन् । क्यान निलम्बनमा रहेको अवस्थामा पनि खेलाडीहरूसँग नजिक रहेर व्यवस्थापकीय पाटोमा सहयोग गरेको हैसियतले निलम्बनपछि खेलाडीले भोग्नुपरेका कष्ट र नेपाली क्रिकेटले बेहोर्नुपरेको क्षति विषयमा केही विमर्श गर्न चाहन्छु ।गत वर्ष त्रिवि मैदानमा विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिबियाविरुद्धको खेलका लागि आईसीसीले कठिन सर्त राख्यो । खेलको दौरान कुनै पनि किसिमको घटना भए पाहुना टोली नामिबियालाई हेली चार्टर गरेर मैदानबाटै सीधै विमानस्थल र त्यहाँबाट नामिबियासम्म पुर्यामउनुपर्ने जिम्मेवारीसहितको ‘इमर्जेन्सी इभ्याकुएसन’ को प्रतिबद्धता माग्यो, त्यो प्रतिबद्धता गृह मन्त्रालयबाटै आउनुर्थ्यो । क्यान निलम्बनमा रहेको बेला कुन जुक्ति र मुस्किलले त्यो पत्र ल्याउनुपरेको थियो?

सायद त्यसको सत्यता यहाँभन्दा अपत्यारिलो लाग्न सक्छ ।त्यसपछि विश्व क्रिकेट लिगअन्तर्गत केन्याविरुद्धको खेल पनि आईसीसीले सुरक्षाको कारण देखाउँदै भारतको नोइडामा सारिसकेको थियो । खेलकुद परिषद्, खेलकुद मन्त्रालय र गृह मन्त्रालयमा धाएर एक दिनभित्रै पाहुना टोलीलाई विमानस्थलदेखिकै सुरक्षाको ग्यारेन्टी गर्ने प्रतिबद्धता दिलाएपछि मात्रै खेल नेपालमा सम्भव भएको थियो ।गत वर्ष हङकङमा टी-ट्वेन्टी विश्व कप छनोट खेल्न हिँडेको नेपाली महिला राष्ट्रिय क्रिकेट टोली प्रतियोगिताको दुई दिनअघिसम्म पनि भिसा नआइपुग्दा नेपालमै रोकिने सम्भावना देखियो । राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयको सिफारिसमा नेपाली टोलीलाई भिसा नै नलागेको खाली पासपोर्ट बोकाएर हङकङ पुर्याखउनुपर्दाको पीडा अरूलाई थाहा छैन ।

विभागीय टोलीसँग आबद्ध भएका सिनियर र उमेर समूहका खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पठाउँदा ती विभागीय टोलीबाट स्वीकृति पत्र कसले ल्याइदिने ? अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भिसा लागू गर्न दूतावासले निलम्बनमै परेको भए पनि क्यानकै पत्र खोज्छन् । त्यो समस्यालाई कसरी समाधान गर्ने ?क्यानअन्तर्गत कार्यरत रहेका कर्मचारीलाई आईसीसीले हालैबाट मात्रै तलब दिन सुरु गरेको छ । तर एक्लो कमाइले घरको चुलो धानिरहेका ती कर्मचारीले पाँच महिनासम्म एक रुपैयाँ पनि नपाउँदा रातदिन गरेर खेलकुद परिषद् धाएर आफ्नै जिम्मेवारीमा एकमुष्ट तलब दिलाउनुपर्यो ।

यो अवधिमा खेलाडीले खेल्न नपाएका मात्रै हैनन्, उनीहरूले पाउँदै आएका सीमित सेवा सुविधा पनि नपाउँदा उनीहरूमा देखिएको प्रभाव अझ नकारात्मक छ । त्यसले नयाँ युवा खेलाडीमा खेल्ने जागर नै हराउने डर थपिएको छ ।वर्षैाँसम्म बन्न नसकेको मूलपानीको क्रिकेट मैदान क्यानकै अनुपस्थितिमा खेलाडीकै अग्रसरतामा खेल्न योग्य बनेको छ । सम्भवतः यसै साता हामी मैत्रीपूर्ण खेलसँगै मूलपानी मैदानको उद्घाटन पनि गर्दैछौं । धेरै समस्या र चुनौती हुँदाहुँदै पनि हामीले यो मैदान निर्माण गरेरै छोडेका छौं ।समस्या र दुःख, कष्टको फेहरिस्त यहाँ अझ लामो हुन्छ । अझै पनि क्यान निलम्बन मुक्त गर्ने पाटोमा गम्भीर भएर नलाग्ने हो भने भविष्यमा आइपर्ने यस्ता समस्याको जिम्मेवारी कसले लिने ? म यहाँ कसैलाई पनि दोष दिन चाहन्न । क्यानमाथि आईसीसीले लगाएको निलम्बन फुकुवा गर्न चाल्नुपर्ने प्रक्रियामा सहभागी सबैसँग आग्रह गर्दछु, यदी नेपाली क्रिकेट विकास होस् भन्ने चाहना तपाईंमा छ भने आफ्नो स्वार्थ छोडेर यो प्रक्रिया पूरा गर्नतर्फ लाग्नुहोस् ।

बोर्ड नै उत्तम विकल्प

आईसीसीले दिएको म्यान्डेटअनुसार प्रक्रिया पूरा भई नयाँ कार्यसमिति आएपछि नेपाली क्रिकेटले तत्काललाई यो अवस्थाबाट मुक्ति पाउनेछ । नेपाली क्रिकेटलाई जीवित राख्न यो प्रक्रिया पूरा गर्नुको विकल्प छैन । यद्यपि नेपाली क्रिकेटको समस्याको दीर्घकालीन समाधानका लागि क्रिकेट विकास बोर्ड नै उत्तम विकल्प हो । त्यसको प्रयास र तयारी अहिलेबाटै हुन जरुरी छ ।

क्रिकेट बोर्डको अभ्यास पूर्ण सदस्य राष्ट्रहरूले प्रयोग गर्ने संरचना हो । भारत, अस्ट्रेलिया, इङल्यान्ड, न्युजिल्याड, श्रीलंका, पाकिस्तानलगायत सबै देशहरूमा क्रिकेट बोर्डमार्फत नै घरेलु क्रिकेटको सञ्चालन भइरहेको छ । नेपाली टोलीले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सशक्त प्रदर्शन गर्दै अघि बढ्दै जाँदा नेपालले पनि एक दिन बोर्डकै संरचना अपनाउनुपर्नेछ । राजनीतिक अस्थिरता भइरहने हाम्रोजस्तो मुलुकमा क्रिकेट बोर्ड अझ उत्तम उपाय हो । किनभने स्वायत्त स्वरूपको रहने क्रिकेट विकास बोर्ड राजनीतिक हस्तक्षेपबाट टाढै रहन्छ, जसले गर्दा नेपाली क्रिकेट पनि राजनीतिबाट टाढै रहनेछ र त्यसले क्रिकेट विकासमा सकारात्मक प्रभाव पार्नेछ । त्यसैले यसको पहल अहिलेबाटै किन नगर्ने ?

नेपालमा प्रक्रियाको हिसाबले क्रिकेट बोर्ड गठन केही मुस्किल देखिन्छ । मन्त्रिपरिषद् बैठक हुँदै संसद्ले प्रस्ताव पारित गरेपछि मात्रै व्यावहारिक रूपमा बोर्ड गठन गर्न सकिने कानुनी व्यवस्था छ, तर नेपाली क्रिकेटको विकासको आवश्यकता महसुस गर्ने सबैले यसको चुरो कुरो बुझेर प्रक्रियामा अघि बढ्न जरुरी छ ।नेपाली क्रिकेटका सरोकारवाला निकाय खेलकुद मन्त्रालय र खेलकुद परिषद्ले प्रतिबद्धता जनाएर आईसीसीसमक्ष पेस गरेको अवस्थामा बोर्ड गठनको प्रक्रिया अहिल्यै पनि अघि बढ्न सक्छ । त्यसका लागि प्रतिबद्धताले मात्रै पुग्ने छैन । ती प्रतिबद्धता व्यावहारिक रूपमा कार्यान्वयन गर्ने क्षमता पनि देखाउनुपर्छ । प्रतिबद्धता कार्यान्वयमा विलम्ब देखिए नेपाली क्रिकेट फेरि अर्को समस्यामा फस्नेछ।

 

Leave A Reply

Your email address will not be published.