हाइड्रोपावर इञ्जिनियरिङप्रति विध्यारथिहरुको आकर्षण बढ्दो
सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा हाइड्रोपावर इञ्जिनियरिङप्रति आकर्षण बढ्दो छ । हाइड्रोपावरको विकासँगै अध्ययन गर्ने विद्यार्थीको आकर्षण बढ्दै गएको हो ।मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा सिभिल, हाइड्रोपावर र कम्प्युटर इञ्जिनियरिङ अध्ययापन भइरहेको छ । विश्वविद्यालयका उपप्रध्यापक माधव रिजालका अनुसार सिभिल र कम्प्युटरको तुलनामा हाइड्रोपावर इञ्जिनियरिङमा विद्यार्थीको आकर्षण बढ्दै गएको हो । विश्वविद्यालयले सिभिलमा ९६, हाइड्रोपावरमा ४८ र कम्प्युटर इञ्जिनियरिङमा ४८ जनाको कोटा तय गरेको छ । उपप्रध्यापक रिजाल भन्छन्,‘हाइड्रोपावरमा कोटा सीमित भएपनि तीनचार गुणा भन्दा बढी विद्यार्थीको आवेदन पर्ने गरेको छ’
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले गत वर्षदेखि हाइड्रोपावर इञ्जिनियरिङ सुरु गरेको हो । अहिलेसम्म अन्य विश्वविद्यालयले हाइड्रोपावर इञ्जिनियरिङ सुरु गरेका छैनन् ।मध्यपश्चिमाञ्चाल विश्वविद्यालय अन्र्तगत इञ्जिनियरिङ संकायका निमित्त डीन विरेन्द्र खड्काले हाइड्रोपावर इञ्जिनियरिङ प्रभावकारीरुपमा सञ्चालन गर्ने तयारी भएको जानकारी दिए । ‘अहिले पाठ्यक्रम परिमार्जन गर्ने काम भइरहेको छ, हाइड्रोपावर इञ्जिनियरिङ प्रभावकारी बनाउन हाम्रो ध्येय हो’ उनले भने।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले हाइड्रोपावर इञ्जिनियरिङ पाठ्यक्रम परिमार्जन गर्नका लागि विज्ञसँग अन्तरक्रियासमेत गरेको छ । कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा उपेन्द्रकुमार कोइरालाले विश्वविद्यालयले हाइड्रोपावर इञ्जिनियरिङलाई उच्च प्राथमिकता दिने बताए । प्राडा दुर्गाप्रसाद संग्रौलाले हाइड्रोपावर इञ्जिनियरिङको व्यवस्थापन गर्न चुनौति देखिए पनि हाइड्रोपावर क्षेत्रका लागि कोशेढुंगा सावित हुने बताए । कार्यक्रममा प्राडा गोकर्ण मोगा, प्राड हरिकृष्ण श्रेष्ठलागयतले समयसापेक्ष पाठ्यक्रम निर्माण गर्न जोड दिएका थिए ।