नेपालमा इन्टरनेट ब्यान्डविथमा मासिक २० करोड रुपया खर्च
काठमाडौं : नेपालमा अहिले एक सय ३० गिगाबाइट (जीबी) को हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ खपत भइरहेको पाइएको छ । अर्थात् एक लाख ३० हजार मेगाबाइट (एमबी) को हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ इन्टरनेटमा प्रयोग भइरहेको इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी)को तथ्यांकले देखाउँछ । ब्यान्डविथ प्रयोग भएको आधारमा हेर्ने हो भने नेपालबाट अहिले ब्यान्डविथको नाममा मात्रै मासिक २० करोड रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ ।नेपाल दूरसञ्चार प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालमा एक सय १० जीबीको हाराहारीमा इन्टरनेसनल ब्यान्डविथ विभिन्न नेटवर्क सर्भिस प्रोभाइडरमार्फत नेपालमा आएको छ । इन्टरनेटको स्पिड पनि बढ्छ ।
तर इन्टरनेट सर्भिस प्रोभाइडर (आईएसपी) व्यवसायीका अनुसार नेपालमा अहिले एक सय २० देखि ३० जीबीसम्म इन्टरनेटसनल ब्यान्डविथ खपत भइरहेको छ । अहिले औसतमा एक एमबीको १५ डलर अर्थात् एक हजार पाँच सय ४५ रुपैयाँ मासिक बुझाउनुपर्ने आईएसपी संघका अध्यक्ष दिलीप अग्रवालले जानकारी दिए । दुई वर्षअगाडि अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रत्येक महिना प्रतिएमबीपीएस ४२ डलर थियो भने अहिले यो शुल्क १५ डलरभन्दा कममा आइसकेको छ । नेपालमा खपत भइरहेको एक लाख ३० हजार एमबी इन्टरनेसनल ब्यान्डविथ इन्टरनेटमा प्रयोग भइरहेको छ । यस हिसाबले हेर्ने हो भने मासिक २० करोडको रुपैयाँ बाहिर गइरहेको छ ।
वार्षिक रूपमा यो क्रम बढ्दै गएको आईएसपी संघका पूर्वअध्यक्ष विनय बोहोराले बताए । ‘इन्टरनेटको प्रयोग वार्षिक ठूला मात्राले बढ्दै गएकाले पनि हरेक वर्ष ब्यान्डविथको खपत नेपालममा बढेको छ’, उनले भने, ‘हरेक पटक इन्टरनेटको कन्टेन्टमा फरक आउँछ ।’ पहिले फेसबुकमा आफै चल्ने भिडियो सिस्टम थिएन, तर अहिले फेसबुकको भिडियो आफै चल्छ, यसले पनि ब्यान्डविथ खपत बढेको छ ।