काठमाडौं- केरुङ–काठमाडौं रेल मार्ग निर्माण गर्न चीन सरकार तयार रहेको नेपाल भ्रमणमा रहेको चिनियाँ उच्च अधिकारीले बताएका छन् । सोमबार काठमाडौं आइपुगेको चिनियाँ उपमन्त्री सहितको २३ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलले यहाँका सरकारी अधिकारीसँगको पहिलो बैठकमा चीन–नेपाल अन्तरदेशीय रेलमार्ग निर्माण गर्न तयार रहेको बताएको हो ।चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीसँग सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दुईपक्षीय पहिलो बैठक भएको थियो । छलफलमा चिनियाँ टोलीले रेलमार्ग निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेको हो । उक्त बैठकमा नेपाली पक्षका तर्फबाट मन्त्रालयका सचिव देवेन्द्र कार्की, रेल विभागका महानिर्देशक अनन्त आचार्य र सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्याय सहित मन्त्रालयका अन्य अधिकारीको सहभागिता रहेको थियो ।
‘सोमबारको पहिलो बैठक अत्यन्तै सकारात्मक रह्यो,’ रेल विभागका प्रवक्ता समेत रहेका उपाध्यायले भने, ‘यो बैठकमा दुई देशमा भएका रेलका विकास र यसको सकारात्मक प्रभावबारे विस्तृत छलफल भएको छ ।’ छलफलका क्रममा नेपालमा रेलमार्ग निर्माण गरिदिन चीन तयार रहेको बताएको थियो । केरुङ–काठमाडौं रेलमार्ग निर्माण धेरै गाह्रो भएको र यसको लागि ठूलो लगानीका साथै प्राविधि आवश्यक पर्ने चिनियाँ टोलीले बताएको छ । उनीहरूका अनुसार रेलमार्ग बन्ने क्षेत्रमा क्षेत्रमा ठुल्ठूला पहाड भएकाले धेरै सुरुङ र पुल निर्माण गर्नु पर्नेछ । यस मार्गको सम्पूर्ण प्राविधिक विशेषता हेरेपछि मात्र लगानी र दुई देशबीचको सम्झौताको विषय अघि बढ्ने चिनियाँ टोलीले जानकारी गरायो ।
यो भ्रमणसँगै चिनियाँ टोलीले केरुङ–काठमाडौं रेलमार्गको काम सुरु गर्ने विभागले जनाएको छ । चिनियाँ प्रतिनिधिले नेपालमा रेलमार्ग निर्माण गर्न आवश्यक पर्ने प्राविधिक सहयोग गर्न तयार भएको नेपाली पक्षलाई बताएको थियो । त्यसैगरी उनीहरूले रेलमार्ग निर्माण गर्न आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाली पक्षलाई तालिम दिने प्रतिबद्धता समेत जाहेर गरेको उपाध्यायले बताए ।बैठकमा रेलले देशमा पार्ने समग्र सामाजिक र आर्थिक प्रभावको विषयमा पनि विस्तृतमा छलफल गर्दै चिनियाँ टोलीले अन्तरदेशीय रेलमार्ग निर्माणमा उनीहरूले गरेका कामबारे जानकारी गराएका थिए । साथै, उनीहरूले चीनमा रेल विकासको अवस्थाबारे नेपाली टोलीलाई जानकारी गराएका थिए । नेपाली पक्षले मुलुकमा हालको रेलमार्गको पूर्वाधार विकास र अन्य अवस्थाबारे जानकारी गरायो ।
विज्ञसहितको संयुक्त टोली मंगलबार केरुङ जाँदैछ । उक्त टोलीले केरुङ–काठमाडौंको रेलमार्गको अध्ययन गर्नेछ । साथै, टोलीले काठमाडौं–पोखरा हुँदै लुम्बिनी जोड्ने रेलमार्ग बनाउन स्थलगत अध्ययन गर्ने तय भएको छ । नेपालमा रेल विकासको सम्भावना अध्ययन र छलफल गर्न आएको टोली केरुङबाट फर्केपछि बुधबार पोखरा र बिहीबार लुम्बिनी जाने कार्यक्रम तय भएको छ ।टोलीको स्थलगत अध्ययनपछि शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकारी अधिकारीसँग थप छलफल गर्ने कार्यक्रम छ । चिनियाँ टोली शनिबार स्वदेश फर्कनेछ ।
चिनियाँ टोलीमा चीनको परराष्ट्र मन्त्रालय र यातायात मन्त्रालयका प्रतिनिधि, सरकारी कर्मचारी, नेसनल डेभलपमेन्ट कमिसनका प्रतिनिधि, नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि, परामर्शदाता, निर्माण व्यवसायी, बैंकका प्रतिनिधि लगायत छन् ।तिब्बतको केरुङबाट रसुवागढी नाका हुँदै काठमाडौंसम्म रेलमार्ग निर्माण गर्ने योजना सरकारले अघि सारेको छ । उक्त रेलमार्ग निर्माण गर्न चीन सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । अघिल्ला सरकारका अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमणको अवसरमा उक्त रेलमार्ग निर्माण गर्न सहयोग गर्ने प्रारम्भिक सहमति चिनियाँ सरकारले गरेको थियो ।सरकारले काठमाडौं र पोखरालाई रेलमार्गले जोड्ने योजना अघि सारेको छ । त्यसैगरी, पोखरा र लुम्बिनीलाई पनि रेलमार्गले जोड्ने योजना छ । सरकारले काठमाडौं–पोखरा रेलमार्गको सम्भाव्यता अध्ययन सकिसकेको छ । अध्ययन अनुसार उक्त रेलमार्ग एक सय ८७ किलोमिटर लामो हुनेछ र यसले ६ वटा जिल्लालाई जोड्ने छ । काठमाडौंबाट सुरु भएको रेल नुवाकोट, धादिङ, गोरखा, तनहँु हँुदै पोखरा पुग्ने अध्ययनमा उल्लेख छ । यो रेलमार्गले अहिले गाडीबाट पोखरा पुग्न लाग्ने झन्डै सात घन्टा लामो यात्रालाई दुई घन्टामा झार्ने अध्ययनले देखाएको छ ।
मुलुकमा हाल कुनै पनि रेल सेवा सञ्चालनमा छैन । इतिहास बोकेको जयनगर–जनकपुर रेलमार्ग बन्द भइसकेको छ भने नयाँ मार्ग निर्माणको क्रममा रहे पनि चल्न सकेको छैन ।हाल जयनगरबाट सुरु भएर जनकपुर हुदै बर्दिबाससम्म पुग्ने ६९.२ किलोमिटर रेलमार्ग निर्माणको अन्तिम चरणमा छ । जसमध्ये ३५ किलोमिटरमा आगामी फागुनदेखि रेल चलाउने योजना रेल विभागको छ । उक्त खण्डको धनुषा कुर्थासम्म ३५ किलोमिटरमा फागुनदेखि रेल चलाउन सकिने रेल विभागले जनाएको छ । तर रेलमार्ग तयार भए पनि रेल उपलब्ध नहुँदा उक्त समयमा चल्न सक्ने सम्भावना कम हँुदै गएको छ ।त्यसैगरी, बिहारको जोगबनीदेखि विराटनगरसम्मको ट्र्याक पनि अन्तिम चरणका पुगेको छ । जसको लम्बाइ १८.६ किलोमिटर रहेको छ । यो ट्राक निर्माणको अन्तिम चरणमा पुगेको विभागले जनाएको छ ।