काठमाडौं : स्विफ्ट ह्याक गरी बंगलादेशको केन्द्रीय बैंकबाट २०१६ को फेब्रुअरी ४ मा एकै रातमा एक सय एक मिलियन डलर चोरी भएपछि बैंकिङ क्षेत्रमा संसारभरि त्रास फैलियो। ११ हजारभन्दा बढी बैंक सदस्य रहेको स्विफ्ट (सोसाइटी फर वल्र्ड वाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन) ह्याक गरी केही घण्टामै त्यति रकम चोरेका थिए। चोरिएकोमध्ये ३५ मिलियन डलर पाउन बैंक सफल भयो, बाँकी रकम गुमायो।फिर्ता भएकोमध्ये २० मिलियन डलर ह्याकरले झिक्नुअघि नै रोक्का गरिएको थियो। क्यासिनोको नाममा झिकिएको १५ मिलियन डलर फिर्ता गराइएको थियो। बंगलादेशको ह्याकिङपछि स्विफ्ट सुरक्षा सतर्कता बढाएको भनिए पनि त्यसयता अरु चार बैंकको स्विफ्ट ह्याक भइसकेको छ। अहिलेसम्म पहिचान नखुलेका ह्याकरले बंगलादेश सेन्ट्रल बैंकको रकम चोर्न बैंककै कर्मचारीले प्रयोग गर्ने कोड ह्याक गरेका थिए।
उक्त कोडमार्फत ह्याकरले न्युयोर्कमा रहेको फेडरल रिजर्भ बैंकमा दर्जनौं पटक पैसा ट्रान्सफरको अनुरोध गरेका थिए। फेडरल रिजर्भ बैंकमा रहेको बंगलादेश सेन्ट्रल बैंकको रकम फिलिपिन्स र श्रीलंकामा रहेका खातामा पठाउन लगाएका थिए। ह्याकरले ८१ मिलियन डलर फिलिपिन्सको रिजल कमर्सियल बैंकिङ कर्पोरेसनमा फरक-फरक चार खातामा ट्रान्सफर गरी हात पार्न सफल भएका थिए।
यसका साथै प्यान एसिया बैंकिङमा एक पटककै प्रयासमा २० मिलियन डलर ट्रान्सफर भएको थियो। ह्याकरले रकम झिक्नुअघि नै बैंकले रोक्का गरेकाले त्यो रकम फिर्ता पाउन बैंक सफल भएको थियो। ह्याकरले हात पारेको ८१ मिलियन डलर रिजल बैंकको मनिलामा रहेको शाखामा चारवटा एकाउन्टमा ट्रान्सफर भएको थियो। त्यो खाता कारोबार हुनुभन्दा एक वर्ष अघिमात्र खोलिए पनि कुनै कारोबार भएको थिएन। त्यसअघि खातामा जम्मा पाँच सय डलर थियो।
चोरीको जानकारी एउटा प्रिन्टरमार्फत पत्ता लागेको थियो। स्विफ्टमार्फत हरेक पल्ट पैसा ट्रान्सफरको अनुरोध गरेसँगै त्यसमा अटोमेटिक प्रिन्ट निस्किने गर्छ, जुन चौबिसै घण्टा सञ्चालनमा हुन्छ। चोरी भएको भोलिपल्ट (फेब्रुअरी ५) मा फेडरल रिजर्भ बैंकका निर्देशकले प्रिन्टरको ट्रे खाली देखे। त्यसक्रममा प्रिन्टर र स्विफ्ट सिस्टमबीचमा रहेको टर्मिनलमा राखिएको सफ्टवेयरले सिस्टममा भएको फाइल हराएको हुन सक्ने अथवा परिवर्तन भएको हुन सक्ने संकेत गर्यो। भोलिपल्ट उक्त सफ्टवेयरले काम गर्न थाल्यो। बैंकले सो प्रिन्टरलाई रिस्टार्ट गर्दा अनधिकृत कारोबार भएको प्रिन्ट निस्कियो।