वीरगन्ज: राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको अमलेखगन्ज मोतीहारी पेट्रोलियम पाइपलाइन आयोजनाको निर्माण कार्य आगामी जनवरीदेखि सुरु हुने भएको छ।बाराको अमलेखगन्जदेखि वीरगन्ज हुदै भारत बिहारको मोतीहारी सम्मको ६८ दशमलव ९६ किलो मिटेर लम्बाइको पाइपलाइन आयोजनाको निर्माण कार्य आगामी जनवरी देखी शुरु गरिने नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए।
यसअघि बिहारको रक्सौल देखि अमलेखगन्ज सम्म ४१ किलोमिटर तय गरिएको पाइपलाइन निर्माण क्षेत्र अहिले भने बिहारको मोतिहारी देखि रक्सौल हुदै नेपालको अमलेखगन्ज सम्मको ६८ दशमलव ९६ किलोमिटर निर्माण क्षेत्र तोकिएको हो।चार अर्ब ४० करोड रूपैयाँ लागत अनुमान गरिएको पाइपलाइन निर्माण आयोजनामा तीन अर्ब २० करोड रूपैया भारत सरकारले र बाँकी एक अर्ब २० करोड रूपैया नेपाल सरकारले व्यवहोर्ने छ।इण्डियन आयल कार्पोरेशन (आइओसी) का निर्देशक अनिष अग्रवाल, महाप्रबन्धक एसएस बोस र प्रमोद नारङ तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटा, नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुशील भट्टराई र निर्देशक गोइत सहतिको टोलीले पाइपलाइन निर्माण स्थल अमलेखगन्ज देखि रक्सौल सम्मको शुक्रबार र शनिवार स्थलगत निरिक्षण गरेको थियो।
स्थलगत निरिक्षण पछि आयलम निगमका प्रवक्ता गोइतले जनवरी देखि पाइपलाइन आयोजनाको निर्माण कार्य थालिने जानकारी दिए। सन् २०१७ भित्र नै सम्पन्न गर्ने लक्ष्य राखिएको पाइपलाइन आयोजना निर्माणको काम, नेपाल आयल निगम र आइओसी दुवै पक्षको नीतिगत निर्णयमा ढिलाई हुदा निर्माण प्रक्रिया ढिलो गरि अगाडि बढेको हो।पाइपलाइन आयोजना निर्माणका लागि चाहिने पाइप सहितको सामाग्री डिसेम्बर महिना देखि वीरगन्जमा आउन थाल्ने र जनवरी देखि पाइपलाइन बिछयाउने काम शुरु गर्ने गरि प्रकृया अगाडि बढाइसकिएको गोइतले बताए। पाइपलाइन बिछ्याउन आइओसीले सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको छ, उनले भने,’ पाइपका लागि टेण्डर आह्वान गरेर कम्पनी समेत छनोट भइसकेको छ।
शुक्रबार र शनिवार गरिएको स्थलगत अनुगमनका क्रममा अमलेखगन्ज दखि वीरगन्ज सम्मको पाइप बिछयाउने क्षेत्रमा रहेका तीन सय २४ वटा घर टहरा , विद्युतका पोल र रुखहरु हटाउनु पर्ने अवस्था देखिएको भन्दै गोइतले घरटहरा र विद्युतको पोल हटाउनका लागि सम्बन्धित मन्त्रालयमा जानकारी गराइने गोइतले बताए।गोइतका अनुसार पाइपलाइन आयोजना निर्माण सुरु भएको ३६ महिना भित्र सक्ने लक्ष्य राखिएको छ।पाइपलाइन आयोजना निर्माणका लागि भारतबाट ल्याइने पाइप लगायतका अन्य सामाग्री राख्नका लागि आयलम निगमले वीरगन्जमा बन्द अवस्थामा रहेको वीरगन्ज चिनी कारखानाको जग्गा भाडामा लिइसकेको छ।
नेपाल आयल निगमले हाल भारतको बैरगनीया र रक्सौलमा रहेको आइओसीको डिप्पोबाट पेट्रोलियम पदार्थ (डिजेल , पेट्रोल , मट्टीतेल, हाइस्पीड डिजेल र हवाइ इन्धन) टयाङकर मार्फत अमलेखगन्जमा रहेको आयल निगमको डिप्पोमा ओसार्दै आएको छ।अब पाइप लाइन मार्फत पेट्रोलियम पदार्थ आयात गर्दा ढुवानी भाडा कम लाग्नुका साथै चुहावटमा पनि नियन्त्रण आउने आयल निगमको भनाइ छ। पाइपलाइन आयोजना निर्माणपछि भारतको डिप्पोबाट प्रतिघण्टा दुइ लाख लिटर इन्धन अमलेखगन्जको डिप्पोमा ल्याउने आयल निगमको लक्ष्य छ।