We Star Nepal
News From Nepal

नेपालको ऐतिहासिक जित : भारत १९ रनले पराजित

0 387

काठमाडौं : कप्तान दीपेन्द्रसिंह ऐरीले अलराउन्डर प्रदर्शन गरेपछि नेपालले मलेसियामा जारी एसीसी यू-१९ युथ एसिया कप क्रिकेट प्रतियोगितामा भारतमाथि ऐतिहासिक जित हासिल गरेको छ। मलेसियास्थित ओभल क्रिकेट स्टेडियममा आइतबार खेलिएको खेलमा नेपालले भारतलाई १९ रनले हरायो। विश्व क्रिकेटमा दबदबा जमाएको टेस्ट मान्यताप्राप्त राष्ट्र भारतलाई कुनै पनि स्तरको प्रतियोगितामा नेपालले हराएको यो पहिलो पटक हो।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर एक सय ८५ रन बनाएको थियो। एक सय ८६ रनको विजयलक्ष्य पछ्याएको भारतले ४८.१ ओभरमा अलआउट हुनुअघि एक सय ६६ रनमात्र बनाउन सक्यो। नेपालको ऐतिहासिक जितमा कप्तान दीपेन्द्र नायक बने। अलराउन्डर प्रदर्शन गरेका दीपेन्द्रले सर्वाधिक ८८ रन जोड्नुका साथै महत्वपूर्ण चार विकेट पनि लिए।

एक सय एक बलमा उक्त रन जोडेका दीपेन्द्रले दुई छक्का र ६ चौका प्रहार गरे। उक्त खेलमा दीपेन्द्र म्यान अफ दि म्याच पनि घोषित भए। नेपालले ओपनर आसिफ शेखलाई तीन रनको ब्यक्तिगत स्कोरमै गुमाएको थियो। तेस्रो क्रमका ब्याट्सम्यान अनिल साह पनि ६ रन जोड्दै पेभेलियन फर्किएका थिए। अर्का ओपनर जितेन्द्रसिंह ठकुरीले ३६ रन जोड्दै दीपेन्द्रसँग तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गरे।यसैगरी मध्यक्रमका ब्याट्सम्यान भीम सार्कीले १५ रन बनाए। रोहित पौडेलले ६ मा आउट भए। सन्दीप लामिछानेले अविजित नौ र किशोर महतोले सात रन बनाए। भारतीय टोलीका बलर आदित्य ठाकरे र अभिषेक शर्माले दुई-दुई विकेट लिए। विवेक तिवारी, मन्दीप सिंह, शिव सिंह र अथर्व ताइदेले पनि एक-एक विकेट लिएका थिए।

यसैगरी भारतका लागि हिमांशु राणाले सर्वाधिक ४६ रन जोडे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। मञ्जोत कलराले ३५, अभिषेक शर्माले २७ र अनुज रावतले १८ रन बटुले। भारतका अन्य ब्याट्सम्यानले भने दोहोरो सँख्यामा रन जोड्न सकेनन्। ब्याटिङमा सुधार गरेको नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरेको थियो। नेपालका लागि कप्तान दीपेन्द्रको चारसहित पवन सर्राफ र साहव आलमले दुई-दुई विकेट लिए। कमलसिंह ऐरी र सन्दीप लामिछाने एक-एक विकेट लिए।खेलपछि नेपाली टोलीका प्रशिक्षक विनोद दासले भारतलाई हराउनु नेपालका लागि ठूलो सफलता भएको बताए। ‘खेल प्रतिस्पर्धात्मक थियो। बंगलदेशसँगको खेलमा पनि खेलाडीले राम्रो खेले तर वर्षाका कारण नतिजा गुमायौं। प्रतिद्वन्द्वीअनुसार हामी रणनीति बनाएर खेल्नेछौं। दीपेन्द्रको ब्याटिङमा लिड गर्ने क्षमता अपार देखिएको छ। उनले आफूलाई प्रमाणित गरेर देखाएका छन्। अर्को खेलमा राम्रो गर्दै अगाडि बढ्न चाहन्छौं,’ विनोदले भने।

पहिलो खेलमा बंगलादेशसँग डक वर्थ एन्ड लेविस नियमका आधारमा दुई विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा बलियो भारतलाई हराएपछि अघिल्लो चरणमा पुग्ने सम्भावना पनि जीवितै राखेको छ। समूह ‘ए’ मा दुई खेलको समाप्तिसँगै भारत दुई अंकका सात तालिकाको शिर्ष स्थानमा छ। समान अंक बनाएको नेपाल रनरेटका आधारमा तेस्रो स्थानमा छ।यसैगरी एक खेल खेलेको बंगलादेश दुई अंकका साथ दोस्रो र अंक बिहिन मलेसिया चौथो स्थानमा छन्। सन् २०१२ बाट सुरु भएको उक्त प्रतियोगितामा नेपालले अहिलेसम्म समूहगत चरण पार गर्न सकेको छैन। नेपालले अब आफ्नो अन्तिम खेल आयोजक मलेसियासँग खेल्न बाँकी छ। मलेसियालाई हराउन सकेमा नेपालको सेमिफाइनल सम्भावना बलियो हुनेछ। नेपाल र मलेसियाबीचको खेल मंगलबार हुनेछ।

Leave A Reply

Your email address will not be published.