
पोखरा : चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाएको छ । गत साउनदेखि कर्मचारीका लागि अस्थायी शिविर बनाउन सुरु गरेको यस कम्पनीले उक्त काम भ्याएर आइतबारदेखि विमानस्थल निर्माण थालनी गरेको हो ।
ठेकेदार कम्पनीले दर्जनभन्दा बढी संख्यामा ट्रिपर, डोजर, लोडर र एक्साभेटर विमानस्थल निर्माणका लागि परिचालन गरेको छ । सयभन्दा बढी मजदुर र कर्मचारी काममा खटिएको ठेकेदार संस्थाका परियोजना प्रमुख जेरी याङले जानकारी दिए । ‘यो हिउँदमा जमिन सम्याउँछौं’, उनले भने, ‘त्यसपछि पूर्वाधार निर्माणको खास काम सुरु हुन्छ ।’ नेपालीहरू चुनावी सरगर्मीले तातिरहेका बेला आफ्नै ढंगबाट ठेकेदार संस्थाले चुपचाप निर्माणको काम अघि बढाएको हो । ‘माटोमा प्रवेश गर्नुअघि पूरा गर्नुपर्ने चिनियाँ संस्कृतिको रीत पनि हिजै पूरा गर्यौं’, याङले भने, ‘हामी निर्धारित समयभित्रै काम सक्नुपर्छ भनेर लागेका छौं ।’
अहिलेको केही दिनमा धानवमार्ग, ट्याक्सीवे र टर्मिनल भवन बन्ने ठाउँको छनक आउने उनले जानकारी दिए । ‘यो चिनियाँ सरकारको अनुदानसमेत रहेको परियोजना हो’,‘त्यसैले पनि हाम्रो जिम्मेवारीअनुसारको काम बेलैमा सक्नुपर्छ भनेर गम्भीर रूपले लागेका छौं ।’ नेपाल र चीन सरकारले पूरा गर्ने प्रक्रियामध्ये नेपालतर्फबाट केही सुस्तता छाएको उनको भनाइ थियो । सीएएमसीईले कामदारलगायत आफ्नो टिम बस्ने अस्थायी आवाससँगै कार्यालय स्थापना गरिसकेको छ ।
अबको केही दिनमा धानवमार्ग, ट्याक्सी वे र टर्मिनल भवन बन्ने ठाउँको छनक आउने चिनियाँ कम्पनीको दाबी छ ।
नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रदीप अधिकारीले चिनियाँ रीतिअनुसारको पूजापछि आइतबार नै उपकरण फिल्डमा पठाएका थिए । विमानस्थलका लागि आवश्यक जमिनको मुआब्जा वितरण पनि सकिसकिएको उनले बताए । केही महिनाअघि मात्रै विमानस्थल वरिपरि रिङरोड निर्माणका लागि थप ५० रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसअघि ६ सय २९ रोपनी जमिन विमानस्थलका लागि थप अधिग्रहण गरिएको थियो । ४० वर्षअघि तीन हजार एक सय ५० रोपनी जमिन विमानस्थलका लागि भनेर सरकारले लिएको थियो ।
पोखरा महानगरपालिकाको वडा नं १० र १४ मा विमानस्थल निर्माणको शिलान्यास २०७३ वैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेका थिए । निर्माण खर्च चिनियाँ एक्जिम बैंकबाट ऋण लिन प्रधानमन्त्री ओलीले २०७२ चैत दोस्रो साता आफ्नो भ्रमणकै क्रममा सम्झौता गरेका थिए । चीनबाट उपलब्ध हुने झन्डै २२ अर्ब ऋण सम्झौता र सहमति दुई देशका सरकारबीच भइसकेको छ ।
सरकारी स्वामित्वको चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईले पोखरा विमानस्थल निर्माण गर्न २०७१ वैशाख २९ गते ठेक्का पाएको थियो । २५ सय मिटर धावनमार्ग हुने पोखरा विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० मोडलका वा ती सरहका जहाजले उडान र अवतरण गर्न सक्नेछन् ।