We Star Nepal
News From Nepal

आतंककारीको गुटलाई नेपाली काँग्रेसको संरक्षणःप्रचन्ड

0 403

चितवन—चितवन क्षेत्र नं. ३ मा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रोल्पामा सो पार्टीका उम्मेद्वारमाथि भइरहेका हमला नेपाली काँग्रेसलाई सहयोग पुर्‍याउने नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको आरोप लगाएका छन्। आफ्नो निर्वाचन क्षेत्र शिवनगरमा हालै मात्र भाडामा लिएको घरमा सोमबार बिहान चितवनका सञ्चारकर्मीहरुसँग कुरा गर्दा नेता दाहालले सो कुरा बताएका हुन्।‘तिमीहरु आतंक मच्चाउ हामी चुनाबको प्रचारमा जान्छौं भनेर स्थानीय काँग्रेसले तालमेल गरेछन्। विप्लप (नेत्रबिक्रम चन्द) र काँग्रेसबीच तालमेल छ भन्ने हामीलाई पार्टीको तल्लो तहबाट रिपोर्ट पनि आइरहेको थियो। घटना क्रमले त्यही देखायो पनि’, दाहालले भने।

‘विप्लप’का केही मान्छेहरु हतियारसहित समातिँदा रोल्पाबाट मन्त्री भएका काँग्रेस नेता अमर पुनले वक्तव्य निकालेर उनीहरुलाई छाडिदेउ भनेका कारण तालमेल भएको प्रष्टै भएको दाहालले बताए।‘यो काँग्रेसको केन्द्रीय नीति हो भन्ने आरोप पनि मेरो हैन तर मन्त्रीले नै यसो भनेपछि देशभरीका जनताले हेरिरहेका छन्। हामीले बाम गठबन्धन गर्दा अधिनायकवाद आउँछ भन्ने तर आफू चाहिँ क्रिमिनल एक्टिभीटी (आतंककारी कृयाकलाप) गर्नेलाई पनि साथ लिएर तालमेल गर्ने। यस्तो कामले काँग्रेस कसरी लोकतन्त्रवादी ? मेरो देउवाजीलाई अनुरोध छ यसलाई कन्ट्रोल गर्नुस’ दाहालले भने। विप्लबका कार्यकर्ताले काँग्रेसलाई भोट दिँदा आफ्नो कुनै आपत्ति नभएको तर बम गोली हानेर आतंक मच्चाउन नपाउने उनले बताए ।‘जनयुद्ध नै सुरु भयो भनेर चुनावका बेला यसो गरे पनि लौ पोलिटिकल्ली (राजनैतिक) नै आए भनेर भन्न सकिन्थ्यो। नभए बम बारुद पड्काउन पाइँदैन’ दाहालले भने। सो पार्टीका कार्यकर्ताहरु माओवादी केन्द्रमा आउन थालेपछि रिस पोख्न यसो गरेको उनले बताए । तर यसलाई राष्ट्रिय रुपमा नै चुनाबमाथि बढेको सुरक्षा चुनौतीका रुपमा भने आफूले नहेरेको दाहालाको भनाइ छ ।

विकासका लागि प्रचण्ड भन्ने धारणा देखे

चितवन क्षेत्र नं. ३ मा प्रचार प्रसारका लागि दाहालको सक्रियता बढ्दो छ। उम्मेद्वारी दर्ता गराउने अघिल्लो दिन कार्तिक १५ गते चितवन आएका दाहाल पाँच दिन बसेर फर्के। त्यसपछि उनी फेरि गएको बिहिबारदेखि आफ्नो क्षेत्रमा घरदौलो गर्दै मत माग्न व्यस्त छन् । उनी बुधबारसम्म यही रहने छन् । नेपाली काँग्रेसको समर्थनमा उम्मेद्वार रहेका राप्रपा प्रजातान्किकका विक्रम पाण्डेसँग उनको प्रतिस्पर्धा छ । पाण्डेले विकासको नाममा मत माग्दै छन् । विकासका लागि विक्रम पाण्डे भन्ने चर्चा चितवनमा चल्ने गर्छ ।तर मत माग्न घर दौलोमा व्यस्त हुँदा आफुले ‘विकासका लागि प्रचण्ड’ भन्ने भावना मतदातामा पाएको दाहालले बताए । ‘यो जिल्लाबाट जितेर राष्ट्रको नेतृत्व गर्न सक्ने व्यक्ति चितवनले खोजेका छन् । तीन नम्बर क्षेत्रमा मेरो प्रतिद्वन्दी खासै छैन । म प्रतिद्वन्दी हिनताको स्थीतीमा छु । किन भने काँग्रेसले राजनैतिक पृष्ठभुमि बाहिरको एकजना ठेकेदारलाई समर्थन गरेका कारण म प्रतिद्वन्दी बिहिन जस्तै भए’ दाहालले भने ।

राप्रपा प्रजातान्त्रिक उम्मेद्वार पाण्डे गत संविधान सभामा चितवनको तत्कालिन क्षेत्र नं. ५ बाट विजयी भएका थिए । तर दाहालले पाण्डेलाई राजनैतिक पृष्ठभुमि नभएको बताएका छन् । पाण्डे प्रख्यात निर्माण व्यवसायीसमेत हुन् । उनको कालिका कन्स्ट्रक्स प्रालि नामको निर्माण कम्पनी छ । ‘कन्ट्रयाक्टरको हैसियतमा ठेक्दारको रुपमा उहाँले राम्रो विकास गर्नु भएको छ । मेरो सभाव छ उहाँले आफ्नै जिम्मेवारी लिनुस । जे अनुभव गर्नु, भयो जे सिक्नु भयो त्यही गर्नुस । राजनीति राजनीतिज्ञलाई नै गर्न दिनुस । उहाँ राजनीतिज्ञ र कन्ट्रयाक्टरको जे सम्बन्ध हुन्छ त्यसैमा रहनु उचित हुन्छ’ दाहालले भने ।

अबको १० वर्ष विकास निर्माणद्वारा समाजबादको आधार तयार पार्नेछु

पत्रकारहरुसँग बोल्दै दाहालले अबको १० वर्ष विकास निर्माणमा समर्पित हुने बताए। ‘राजनीतिमा लागेपछिको पहिलो १० वर्ष मैले बिचार र राजनीति निर्माणमा नै लगाएँ। अर्को १० वर्ष मैले गणतन्त्र र संघीयताको निम्ति समावेशी समानतको निम्ति युद्धमा लागेर बिताएँ । अर्को १० वर्ष शान्ती प्रकृया र संविधान निर्माणमा योगदान गर्ने ठाउँमा बिताएँ । अबको १० वर्ष विकास निर्माणबाट समाजवादको आधार तयार गर्न बिताउँने छु’ दाहालले विगत र भविश्यको लेखा जोखा सुनाए।राष्ट्रिय पूँजीको निर्माण गर्ने कुरामा नै आउँदो दशक बिताउने उनले बताए। पार्टी एकीकरण पनि यही आधारमा रहेर गर्ने उनले बताए। ‘देशको स्थीरता र विकासको निम्ति सवै काँग्रेस पनि एक ठाउँमा हुनु आवश्यक छ । त्यस्तै सवै कम्युनिष्ट पनि एक ठाउँमा आउनु जरुरी छ। अनि मात्रै स्वस्थ्य र सुन्दर प्रतिस्पर्धा हुन्छ। राम्रो काम गर्नेलाई जनताले सत्तामा १०÷२० वर्ष पनि राख्दिन सक्छन । नराम्रो काम गरे पाँचै वर्षपछि हटाइ दिने छन्। यसो हुँदा देश र जनताले सुख पाउँछन्’ दाहालले भने।

एमालेसँग पार्टी एकता गर्ने विषयमा माओवाद बाधक नबन्ने उनले बताए । ‘नमिल्ने हो भने मात्रै नमिल्ने कुरा हेरिन्छ । हामी मिल्दै छौं र हामी बीच के के मिल्दो छ त्यो हेरेका छौं। माक्र्सवाद लेलिनवाद हामी दुवैले मान्छौं यो मिल्ने कुरा भयो । द्वन्द्वात्कम ऐतिहासिक भौतिकवादलाई हामी दुवैले विश्व दृष्टीकोण मान्छौं । समाजवाद अबको हामी दुवैको उद्देश्य हो। रणनीति पनि हाम्रो त्यही हो। शान्तिपूर्ण प्रतिस्पर्धा मार्फत नै समाजवाद आउँछ भन्ने कुरा पनि मान्छौं। अहिले आर्थिक सम्वृद्धिमा नै केन्द्रित हुनु पर्छ भन्ने कुरा पनि मान्ने भएपछि अरु चीज मिलाउन सकिन्छ’ दाहालले भने।माओवाद छलफलको विषय बन्ने र महाधिवेशनमा छलफल गर्ने गरी दस्तावेजमा राख्ने उनले बताए। ‘पहिला प्रचण्डपथ भन्ने त हाम्रो झण्डै झण्डै आधिकारिक सिद्धान्त बनेको थियो नि। मैले नै अहिले यसलाई ड्रप गरौं भने । पार्टी एकता ठुलो कुरा हो । कम्युनिष्टहरुको एकता ठुलो कुरा हो भनेर प्रचण्डपथ मैले नै ड्रप गरेको थिएँ। त्यस्तै माओवाद पनि ड्रप हुन सक्छ । ड्रप गर्ने भनेको विरोध गर्ने भनेको हैन । पछि अनुकुल समयमा छलफलमा लैजाने भनेको हो’ दाहालले भने।

मिल्ने कुरालाई आधार बनाएर एकता गर्दै जाने र नमिलेका कुरा छलफल गर्दै टुङ्ग्याउने बताएका दाहालले माओवाद, बहुदलीय जनवादका विषयमा साझा भाषा खोज्न सकिन्छ भने । ‘यो नै बढी राष्ट्रका हितमा छ। अब हामी सिद्धान्तका पछाडी लागेर राष्ट्र र जनतालाई दुख दिने कि राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर सिद्धान्त मिलाउँदै लैजाने भन्ने दुई विकल्पमध्ये एउटा रोज्नु पर्‍यो क्या’ दाहालले भने ।

पार्टी एकता चुनाबपछि

एमालेसँग माओवादीको पार्टी एकता चुनाबपछि नै हुने दाहालले बताए । ‘हिँजो मंसिर ९ मा दुई पार्टीबीच एकता भन्ने समाचार एकाएक आएछ। त्यो साँचो हैन। कसरी आएछ बुझ्न पाएको छैन। गलत समाचार कहिले कहीँ भाइरल हुन्छ त्यस्तै हो त्यो समाचार। हामीले निर्वाचनपछि नै पार्टी एकता बारे ठोस निर्णय गर्नै भनेर उहिल्यै भनेका हौं। चुनाबअघि हैन’ दाहालले भने ।दाहालले कार्यकारी प्रमुख प्रतक्ष्य निर्वाचित गर्ने भन्ने अजेन्डा आफुहरुले नत्यागेको बताएका छन् । ‘निर्वाचन पछाडी यो विषय उठ्छ । हामी कार्यकारी प्रतक्ष्य निर्वाचित गर्नु पर्छ भन्ने मान्यतामा नै छौ’ दाहालले भने ।

Leave A Reply

Your email address will not be published.