मकवानपुरमा अन्धाधुन्द खुकुरी प्रहारबाट तीन जनाको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिका ७ बिजौनामा खुकरी प्रहारबाट तीन जनाको ज्यान गएको छ। स्थानीय सुमन बराइलीले मंगलबार साँझ साढे ५ बजे अन्धाधुन्द खुकुरी प्रहार गर्दा बिजौनाका ५२ बर्षीय सिताराम धिताल, धितालका १६ बर्षीय छोरा सुडन र अर्का स्थानीय ६५ वर्षीय जितबहादुर ब्लोनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए।
सितारामको प्राथमिक स्वास्थ्य चौकी मनहरी र सुडन र जितबहादुरको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मृतक सिताराका दुई छोरामध्ये उनीसँगै जेठा छोरा सुडनको हत्या भएको हो। मकवानपुरको हर्नामाडीका जितबहादुर बिजौनास्थित छोरी ज्वाइँको घरमा बस्दै आएका थिए। उनी ज्याला मजदुरी गथ्र्ये।
प्रहरीले खुकुरी प्रहार गर्ने बराइलीलाई नियन्त्रणमा लिएको छ। घरासयी झगडापछि खुकुरी लिएर घरबाट निस्किएका ३१ वर्षीय बराइलीले घर नजिकै रहेका छिमेकीमाथि एक्कासी खुकुरी प्रहार गरेको स्थानीयले बताएका छन्।
घटनापछि बिजौना गाउँ शोकमा डुबेको मनहरी ७ मन अध्यक्ष ठाकुर तितुङले बताए। ‘खुकुरी प्रहार गर्ने बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ’, उनले भने, ‘घटनाको छानबिन गरी छिट्टै नै सत्यतथ्य सार्वजनिक गर्न हामी प्रहरीलाई सहयोग गरिरहेका छौं।’
बराइलीलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरको जिम्मा लगाएको छ। बराइली हेर्दा सामान्य अवस्थामा देखिए पनि घटनाको कारण पत्ता लागिनसकेको प्रहरी प्रवक्ता झाले जानकारी दिए। घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए।
यसैबीच मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ लेवटमा मंगलबार दिउँसो ट्रिपर र मोटरसाइकल एकआपसमा ठक्कर खादा दुई जनाको मृत्यु भएको छ। हेटौंडाबाट मनहरी तर्फ जाँदै गरेको ना ७ ख ४८०९ नम्बरको ट्रिपरले नारायणगढबाट हेटौंडा तर्फ आउँदै गरेको ना ३३ प ८६४७ नंम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
दुर्घटनामा परी मोटरसाइकलमा सवार नवलपरासीस्थित गैँडाकोट नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष २४ का अनिल जिसी र वडा नम्बर ५ बस्ने वर्ष २३ की पुनम बिकको मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डीएपी झाले बताए। चालक जिसीको घटनास्थलमै र बिकको चुरेहिल अस्पताल हेटौंडामा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए। ठक्कर दिने ट्रिपर र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरिएको झाले बताए।