दमौली : तनहुँ जलविद्युत् आयोजनाबाट निस्कने पानीको उपयोग गर्दै एक सय चार मेगावाट क्षमताको अर्धजलाशययुक्त आयोजना बनाउने गरी तनहुँ हाइड्रोपावर कम्पनीले सर्वे अनुमति पाएको छ। नेपाल विद्युत् प्राधिकरणले तनहुँ जलविद्युत् आयोजनाकै सहायक आयोजनाका रूपमा विकास गर्न प्रयास गरिरहेको थियो।हाल नेपाल विद्युत् प्राधिकरणकै प्रमुख स्वामित्वमा तनहुँ हाइड्रोपावर कम्पनीले एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको काम गरिरहेको छ। ऊर्जा मन्त्रालयले कात्तिक १२ गते आयोजनाको सर्वे लाइसेन्स प्रदान गर्ने निर्णय गरेको विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए। दुई वर्षभित्र आयोजनाले सर्वे गरी निर्माणका लागि थप प्रक्रिया थाल्नुपर्नेछ। तनहुँ जलविद्युत्बाट निस्कने पानीको उपयोग गरी अर्को आयोजना सञ्चालन गर्न सकिने नेपाल विद्युत् प्राधिकरणको प्रारम्भिक अध्ययनले देखाएको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको तल्लो तटमा पर्ने अर्को आयोजनाको लाइसेन्सको प्रक्रिय अघि बढाउन तनहुँ हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक प्रदिपकुमार थिकेलाई निर्देशन दिएका थिए। सोहीअनुरुप कम्पनीले सर्वेका लागि विभागमा अनुमति माग गरेको थियो। तनहँ जलविद्युत् आयोजना जलाशययुक्त आयोजना भएकाले यसबाट वर्षभर सञ्चित पानीका आधारमा उच्च माग हुने बेला विद्युत् निकाल्न सकिने गरी बनाइँदैछ।यसै आधारमा आयोजनाबाट सहायक आयोजनाका रूपमा बन्ने आयोजनाबाट पनि हिउँदमा अधिक विद्युत् निकाल्न सकिने ठानिएको छ। नदीमा छाडिएको पानीका आधारमा वर्षायाममा समेत आयोजनाबाट बढी विद्युत् निकाल्ने ठानिएको छ। तल्लो सेती जलविद्युत् आयोजनाको बाँध अहिले निर्माण भइरहेको तनहुँ जलविद्युत् आयोजनाको विद्युत् गृहबाट करिब २० किलोमिटर तल्लो तटमा पर्ने केशवटारमा पर्छ। आयोजनाको अनुमानित लागत करिब २२ करोड अमेरिकी डलर पर्ने आयोजनाका प्रेस संयोजक सचेन गौतमले बताए।