We Star Nepal
News From Nepal

वाम गठबन्धन तोड्न कांग्रेसलाई चुनौती

0 429

इलाम- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आउँदो मंसिर २१ मा हुने निर्वाचनमा वाम गठबन्धनलाई पराजित गर्न नेपाली कांग्रेसलाई चुनौती देखिएको छ । जिल्लामा अहिलेसम्म भएका आमनिर्वाचन र स्थानीय निर्वाचनमा बढी एमालेले नै जितिरहेकाले कांग्रेसलाई वाम पकड तोड्न सकस देखिएको हो ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन जिल्लामा आफ्नो ‘लालकिल्ला’ जोगाउनेमा केन्द्रित छ । कांग्रेस भने एमालेको बिरासत भत्काएर आफ्नो पक्षमा पार्न जोडतोडसाथ लागिरहेको छ । गत असार १४ को स्थानीय तह निर्वाचनमा एमालेले जिल्लाका १० मध्ये ७ प्रमुख र ९ उपप्रमुख जितेको थियो । कांग्रेसले ३ प्रमुख र १ उपप्रमुखमा चित्त बुझाएको थियो । जिल्लाका ८१ वडामध्ये एमालेका ४७ र कांग्रेसका ३१ वडाध्यक्ष विजयी भएका थिए भने माओवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राष्ट्रिय जनमुक्ति पार्टीले १–१ वटा वडा जितेका थिए ।

सबै स्थानीय तहका वडामा एमाले र कांग्रेसले ल्याएको मतगणना गर्दा एमाले नै कांग्रेसभन्दा अगाडि देखिएकाले पनि कांग्रेसलाई जितको चुनौती रहेको एक कांग्रेस नेताले बताए । ‘स्थानीय तह चुनावमा वडाध्यक्षहरूले ल्याएको मत हेर्दा त कांग्रेसले कुनै पनि क्षेत्रमा अब हुने चुनाव जित्लाजस्तो देखिएन,’ जिल्ला समितिकै एक जिम्मेवार नेताले भने, ‘एमालेकै मत कांग्रेसलाई पुग्दो छ, माओवादीको पनि एमालेसँगै जोडिएपछि निकै मतको अन्तरले एमाले अगाडि हुन्छ । तर, चुनावको आँखा पनि कहाँ हुन्छ र !’आउँदो चुनावका लागि जिल्लामा एमाले र माओवादीले वाम गठबन्धनबाट मिलेर उम्मेदवारी दिएका छन् । जिल्लाका २ प्रतिनिधिसभा र ४ प्रदेशसभाका क्षेत्रमध्ये एमालेले दुवै प्रतिनिधिसभा र ३ प्रदेशसभामा उम्मेदवारी दिएको छ । गठबन्धनबाट माओवादीको प्रदेशसभाको एउटा क्षेत्रमा उम्मेदवारी छ ।

अहिले गठबन्धन र कांग्रेसका उम्मेदवार सबै गाउँगाउँमा छन् । विगतका चुनाव नतिजाका आधारमा कांग्रेस ‘आक्रामक’ हिसाबले प्रचार अभियानमा छ भने एमाले भइरहेको मत जोगाउने दाउमा देखिन्छ । कांग्रेसका उम्मेदवार वाम गठबन्धनभित्र पनि असन्तुष्टि रहेको भन्दै मतदाता रिझाउने प्रयासमा छन् । एमालेका उम्मेदवारचाहिँ विगतमा आफूहरूले जिल्लामा गरेको विकासको काम, आउँदो योजनालगायत सुनाउँदैछन् । तर, गठबन्धन र कांग्रेस दुवै मुख्य प्रतिस्पर्धीले अहिलेसम्म स्थानीयस्तरको प्रतिबद्धतापत्र सार्वजनिक गर्न सकेका छैनन् । कांग्रेसका जिल्ला सभापति हिमालय कर्माचार्यले सधैं उही मत स्थिर नरहने भएकाले यो पटक जिल्लाबासीले कांग्रेसलाई भोट दिने दाबी गरे । ‘वाम गठबन्धन गरेकाले एमाले र माओवादीकै कार्यकर्ता असन्तुष्ट देखिन्छन्,’ ‘असन्तुष्टको मत कांग्रेसमा आउने हाम्रो आशा हो ।’

२०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ मा पराजित कर्माचार्यले आउँदो चुनावमा भने जिल्लाका सबै क्षेत्र जित्ने विश्वासमा रहेको बताए । ‘पहिला जितेर गएकाले केही काम गर्न सकेनन् भन्ने जनताको गुनासो छ,’ बुधबार जिर्मले गाउँको चुनावीसभामै रहेका उनले भने, ‘हामी प्रतिनिधिसभातर्फ जिल्लाका दुवै क्षेत्र जित्छौं, नभए पनि क्षेत्र १ त पक्कै जित्छौं, प्रदेशका ४ वटै क्षेत्र जित्छौं, कम्तीमा पनि २ वटा त जित्छौं नै ।’ कर्माचार्यले यसअघि जितेका कांग्रेस उम्मेदवारले विकासका काम गरेको भन्दै मतदाताले चुनावमा आफूहरूलाई मत हाल्ने दाबी दोहो¥याए ।

जिल्लामा पटकपटक भएका चुनावको नतिजाले मात्र होइन, उम्मेदवार छनोट, संविधान निर्माणमा अहिलेकै उम्मेदवारहरूले गरेको नेतृत्व, राष्ट्रिय राजनीतिमा यहाँका उम्मेदवारले निर्वाह गरेको भूमिकालगायतका कारणले पनि जनताले एमालेलाई मतदान गर्न चाहेको एमालेको दाबी छ । जिल्लाको क्षेत्र २ का उम्मेदवारसमेत रहेका एमाले नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ संविधान निर्माणको नेतृत्व गर्दागर्दै पनि आफूले जिल्लाको विकासमा सहयोग गरेको बताउँछन् । ‘मैले संविधान निर्माणको मुख्य जिम्मेवारी पाएर त्यसलाई सफलतापूर्वक पार लगाएँ, सँगसँगै जिल्लाको विकास–निर्माणमा पनि उत्तिकै सहयोग गरेको छु,’ नेम्बाङले भने, ‘आउँदो ५ वर्षका लागि पनि स्पष्ट अजेन्डा रहेकाले मतदाताले मलाई पहिलाको धन्यवाद दिँदै पुनः काम गर्ने अवसर दिनुहुनेछ ।’

उनले यसअघि त्यही क्षेत्रमा २ पटक विजयी भएको, स्थानीय तहमा पनि आफ्नो क्षेत्रमा एमालेकै मत बढी रहेको र त्यसमा वाम गठबन्धन भएकाले माओवादीको मतसमेत थप्दा आफ्नो कोही प्रतिस्पर्धी नै नहुने दाबी गरे । ‘निकै मतको अन्तरले हामी विजयी हुन्छौं,’ उनले भने, ‘अबको ५ वर्ष विकास र समृद्धिका लागि काम गर्ने योजनामा छु ।’नेम्बाङका मुख्य प्रतिस्पर्धीका रूपमा कांग्रेसका पूर्वसभासद् केशव थापा छन् । थापाले पनि आफूले लोकतन्त्र रक्षा र गाउँको पूर्वाधार विकासका अजेन्डा राखेकाले मतदाताले आफैंलाई मतदान गर्नेमा ढुक्क रहेको बताए । ‘मैले इलामको क्षेत्र नम्बर ३ बाट विजयी हुँदा जति विकास निर्माणका काम गरेको छु, त्यसैको आधारमा अबको चुनाव जित्छु भन्ने लाग्छ,’ उनले भने, ‘चुनाव जितेर गएपछि त मैले गर्ने भनेकै गाउँको विकास हो । चुनावमा जनताले मलाई अहिलेसम्म क्षेत्र नम्बर ३ बाट जिताउनुभएकै विकासको कामका लागि हो ।’

नेम्बाङले यो क्षेत्रमा २०५६ सालयता लगातार ३ पटक चुनाव जितेका छन् । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पनि नेम्बाङले उनै थापालाई हराएका थिए ।स्थानीय तह चुनावमा वडाध्यक्षले ल्याएको मतका आधारमा यो क्षेत्रमा एमालेको मत २७ हजार ७ सय १ छ भने कांग्रेसको २६ हजार १ सय ९३ मत छ । माओवादीको ६ हजार ८ सय ३९ मत एमालेसँग जोड्दा वाम गठबन्धनको ३४ हजार ५ सय ४० मत पुग्छ । प्रतिनिधिसभाको क्षेत्र २ मा देउमाई नगरपालिका, फाकफोकथुम, माङ्सेबुङ, चुलाचुली गाउँपालिका, माई नगरका ६, ७, ८ र इलाम नपाका १, २, ३, ४, ५, ६, ७, ८, ९, ११ र १२ वडा पर्छन् ।स्थानीय निर्वाचनमा देउमाई र चुलाचुलीमा एमालेका प्रमुख–उपप्रमुखसहितको बहुमत आएको छ भने माङ्सेबुङ तथा फाकफोकथुममा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए । १२ वटा वडामध्ये वडा १० बाहेक ११ वटा वडा यही क्षेत्रमा समेटिएको इनपाको प्रमुख–उपप्रमुखमा पनि एमालेकै उम्मेदवार विजयी भएका थिए । इनपाको वडा १, २, ५, ६ र ९ मा एमालेका वडाध्यक्ष विजयी भएका थिए भने वडा ३, ४, ७, ८, ११ र १२ को वडाध्यक्षमा कांग्रेसले बाजी मारेको थियो । यसै क्षेत्रमा रहेको माई नपाको वडा ६, ७ र ८ मा एमालेका वडाध्यक्ष विजयी भएका थिए ।

प्रतिनिधिसभाको क्षेत्र १ का एमाले उम्मेदवार तथा पूर्वप्रधानमन्त्री भलनाथ खनाल पटकपटक आफूलाई यो क्षेत्रका मतदाताले गरेको विश्वास अब पनि पाउने बताउँछन् । ‘चुनावका लागि मैले राष्ट्रिय र स्थानीयस्तरका बेग्लाबेग्लै र स्पष्ट योजना बनाएको छु,’ उनले भने, ‘देशको सार्वभौमसत्ता, अखण्डता, समृद्धि र लोकतन्त्र बलियो बनाउने, मुलुकको सामाजिक, आर्थिक, जीवनस्तर सुदृढ बनाउँदै विविधतापूर्ण सामाजिक अवस्थाको रक्षा गर्ने र वैदेशिक सम्बन्धलाई प्रगाढ बनाउने मेरो राष्ट्रिय योजना हो ।’उनले इलाम जिल्ला र आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, खानेपानी, स्वास्थ्य क्षेत्रमा काम गर्ने योजना पनि रहेको भन्दै मतदाताले आपूmलाई जिताउने बताए । ‘जिल्लाबाट म ५ पटक चुनाव लडें । एउटाबाहेक सबैमा इलामबासीले माया गरेर विजयी गराउनुभयो । यो अवधिमा विकास निर्माणका महŒवपूर्ण काम भएका छन्,’ उनले भने, ‘सडक, भवन, पुल, कृषि, स्वास्थ्य, शिक्षालगायत दर्जनौं क्षेत्रमा मैले काम गरेको छु । कतिपय आयोजना अधुरै रहेकाले तिनीहरूलाई पूर्णता दिन पनि मतदाताले मलाई पुनः जिम्मेवारी दिनुहुनेछ ।’ खनालका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र कट्टलले चाहिँ यो पटक जनताले ‘नयाँ अनुहार’ लाईजिताउने दाबी गरे । कट्टेल पहिलोपटक यहाँ चुनाव लड्न लागेका हुन् । ‘पटक–पटक एउटै मान्छे एउटै क्षेत्रमा चुनावमा उठ्नु निरंकुशता हुन्छ । जनताले पनि नयाँ अनुहार हेर्न चाहेका छन्,’ उनले भने, ‘लोकतन्त्र रक्षा र गाउँको विकासमा काम गर्न सक्ने जनताले देख्नुभएको छ । त्यसैले मलाई यो पटक जिताउनुहुन्छ भन्ने छ ।’

प्रतिनिधिसभा क्षेत्र १ मा स्थानीय तहको चुनावमा वडाध्यक्षले ल्याएको मतका आधार एमाले नै अघि देखिन्छ । यो क्षेत्रका सबै वडामा एमालेको जम्मा मत ३० हजार १ सय ४८ छ । यसमा माओवादीको ५ हजार १ सय ७५ जोड्दा कुल ३५ हजार ३ सय २३ हुन्छ । यहाँ कांग्रेसको २४ हजार ९९ मत छ । प्रदेशतर्फका चारै क्षेत्रमा पनि एमालेको मत कांग्रेसको भन्दा बढी देखिन्छ । त्यसमा माओवादीसमेतको जोड्दा एमाले कांग्रेसभन्दा निकै अघि देखिएको छ ।तर, एमाले इलामका कार्यालय सचिव नवराज शंकर भन्छन्, ‘स्थानीय तह निर्वाचनको नतिजा एउटा आधार मात्रै हो । खनाल र नेम्बाङले विगतमा राष्ट्रिय राजनीतिमा निर्वाह गर्नुभएको सकारात्मक भूमिका, संविधान निर्माणमा गरेको नेतृत्व, जिल्लाको विकास–निर्माणका काम, सरकारमा पार्टी हुँदा ल्याइएका योजनालगायतले पनि एमालेलाई भारी मत आउँछ ।’

Leave A Reply

Your email address will not be published.