प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचारका क्रममा उम्मेदवारहरुमाथि भएका आक्रमणका घटनाको अनुसन्धान भइरहेको बताएका छन् । उनले त्यस्ता घटना हुन नदिन सुरक्षा अधिकारीहरुलाई निर्देशन पनि दिएका छन् । उनले मंसिर १० र २१ गते हुन गइरहेको ऐतिहासिक निर्वाचन भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गर्न कडा सुरक्षा व्यवस्था मिलाइएको बताए । आसन्न निर्वाचनलाई मध्यनजर गरी नेपालगन्जमा आयोजना गरिएको प्रदेश नम्बर ५ र ६ का सुरक्षा भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले चुस्त सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् । उनले सीमित स्रोत र साधनको उपयोग गर्दै निर्वाचन सुरक्षामा लाग्न सुरक्षा अधिकारीहरुसँग आग्रह गरे ।
भौगोलिक विकटतालाई पनि मध्यनजर गरी निर्वाचन तयारी जुट्न उनले सुझाव दिए ।गृहसचिव मोहनकृष्ण सापकोटाले सुरक्षा योजना बनाएर कार्यान्वयनका लागि जिल्ला पठाइसेकको जनाकारी दिए । ‘निर्वाचनका समयमा छिटफुट घटना भइरहेका छन् । यो किन भएका छन् गम्भीर कुरा हो,’ उनले सुरक्षा अधिकारीलाई निर्देशन दिँदै भने,‘भयमुक्त र सुरक्षित वातावरणमा मतदातालाई भोट हाल्ने वातावरण मिलाउनुस् ।’