We Star Nepal
News From Nepal

बाबुराम ज्ञान भएको, बुद्धि नभएको मान्छे : प्रचण्ड

0 437

पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ शक्तिका नेता एवं गोरखा क्षेत्र नम्बर २ का उम्मेद्वार डा. बाबुराम भट्टराईलाई आफ्नो उम्मेद्वारी छोडेर माओवादीमै आउन अपील गरेका छन्।बुधबार दिउँसो पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै गोरखाको भच्चेक पुगेका प्रचण्डले यस्तो अपील गरेका हुन्।‘नयाँ शक्तिमा गएका धेरै साथी फर्किने क्रममा हुनुहुन्छ। देवेन्द्र पौडेलको नेतृत्वमा करिबकरिब सबै माओवादी फर्किए भन्दा पनि हुन्छ’, प्रचण्डले भने, ‘मलाई गोरखाली दिदीबहिनी दाजुदाइका अगाडि उभिएर बाबुरामजीको कुरा गर्दा बडो नमीठो लाग्छ। अति भावुक पनि भएर आउँछु। मैले २५ वर्षदेखि बाबुरामजीलाई बचाउँदै बचाउँदै, जोगाउँदै जोगाउँदै ल्याएको थिएँ। धेरै ठूलो दुःख गरेर जोगाएको हो बाबुरामलाई।’

प्रचण्डले पछिल्लो चरणमा बाबुरामलाई जोगाउन नसकेको समेत बताए। ‘कम्युनिष्ट आन्दोलन छाडेर जानुभयो, विचार छोडेर जानुभयो, नैतिकता छोडेर जानु भयो। मलाई अहिले पनि उहाँको माया लाग्छ’, प्रचण्डले भने, ‘म यो मञ्चबाट भन्छु, खुरुक्क माओवादीमा फर्किनुस्, तपाईको भलो त्यसैमा छ। दायाँबायाँ गर्नुभयो भने घर न घाटको बन्नुहुन्छ।’प्रचण्डले बाबुरामलाई उम्मेदवारी फिर्ता गरेर छोडेर वाम गठबन्धनमा आउन समेत आग्रह गरे। ‘ उम्मेदवारी छोड्दिनुहोस्। माओवादी, आन्दोलन, प्रचण्ड छोडेर गल्ती गरेँ भनेर आउनुस्, तपाईलाई स्वागत गर्न तयार छु। आउनुस्, उम्मेदवार छोडर आउनुस्, तपाईले जित्नु पनि हुन्न। तपाईलाई कांग्रेसले ठाउँ पनि दिन्न’, प्रचण्डले भने।पचण्डलाई ज्ञान भएको तर, बुद्धि नभएको नेताको संज्ञा दिँदै प्रचण्डले भने, ‘तपाईले पढ्नुचाँहि भयो, ज्ञान हासिल गर्नुभयो। तर, कहाँ प्रयोग गर्ने बुद्धि भएन। ज्ञान भएको, बुद्धि नभएको मान्छे बन्नुभयो।’

बाबुरामको पतन हुँदा आफू खुशी नभएको समेत प्रचण्डले बताए। ‘तपाईको पतन भएको मलाई रमाइलो लागेको छैन। हामी जनयुद्धमा सँगै हिड्यौं, शान्ति सम्झौता गर्‍यौं। अस्ति नारायणकाजी कमरेड र मेरो सल्लाह भएको थियो, उहाँ आउनुभयो भने २ नम्बरमा बाबुरामलाई दिनुपर्छ। बरु नारायणकाजी कमरेडलाई अर्को क्षेत्र खोजौंला। तर, उहाँको बुद्धि त पुगेन। कांग्रेससँग गठबन्धन गर्न पुग्नुभयो’, प्रचण्डले थप भने, ‘बाबुरामजी घर न घाटको भएको रमाइलो लागेको छैन। म फेरि एक पटक भन्न चाहन्छु, यो नौटंकी गर्न छोडिदिनुस्। दुनियाँका अगाडी किन नाटक गर्नुहुन्छ ? देशभरि त हास्य पात्र भइसक्नुभएको छ। नयाँ शक्ति बनाएर के के न गर्छु, दिल्लीको जस्तो केजरीवाल हुन्छ भन्ने ठान्नुभएको थियो। नेपाल दिल्ली होइन, गोरखा दिल्ली होइन, तपाई केजरीवाल पनि होइन। यो हुनै नसक्ने कुरातिर तपाई किन लाग्नुभयो ? मेरो पुरानो सहयोद्धा यति धेरै पर किन गएको होला भन्ने मलाई चिन्ता छ।’

प्रचण्डले धेरै समय बाबुरामलाई गाली गर्दै फेरि माओवादीमै फर्किन बाबुरामलाई बिनम्रताका साथ आग्रह समेत गरे। ‘गोरखाली जनता दुई चार पैसामा बिक्ने छैनन्। उम्मेदवारी छाडेर माओवादीमा आउनुभयो भने कसरी सम्बोधन गर्नुपर्छ हामीलाई थाहा छ। तर, यदि त्यसका लागि तपाई तयार हुनुभन्न भने भीरबाट लड्ने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिन्नँ भनेजस्तै तपाईको स्थिति हुनेछ हेर्दै जानुहोला’, प्रचण्डले भने, ‘मेरो पुरानो मित्र हुनाले अझै सहानुभूति छ, आउनुस्, सँगै मिलेर काम गरौं। होइन भने त्यसको परिणाम कांग्रेसमा गएर पनि सुख पाउनुहुन्न।’जनसभामा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डा. बाबुराम भट्टराईले गोरखा २ मा जित्ने अवस्था नरहेको बताउँदै वाम आन्दोलनमै फर्कन भट्टराईलाई अपील गरे। कार्यक्रममा अध्यक्ष ओलीले नेपाली राजनीतिमा कांग्रेसको अस्तित्व कमजोर बन्दै गएको र शेरबहादुर देउवा नै कांग्रेसका अन्तिम प्रधानमन्त्री हुनसक्ने दाबी गरे।कार्यक्रममा गोरखा–२ का बाम उम्मेद्वार नारायणकाजी श्रेष्ठले गोरखामा आफ्नो जीत सुनिश्चित भएको दबी गरे।

Leave A Reply

Your email address will not be published.