We Star Nepal
News From Nepal

‘चुनाव हरेक महिना आए हुन्थ्यो, विकास नभए पनि नेता देख्न पाइन्थ्यो !’

0 445

अर्घाखाँची, मंसिर १ – धेरैजसो सुनसान रहने अर्घाखाँचीका गाउँमा चुनावका कारण रौनक बढेको छ । चुनाव नजिकिएसँगै गाउँमा आफ्ना पक्षमा भोट माग्न आउने नेताको लर्को लागेको छ ।

अरुबेला देख्न नपाइएकालाई पनि चुनावमा देखिएको भन्दै विकट बस्ती सिद्धाराका वृद्ध टामलाल पाण्डे भन्नुहुन्छ ‘चुनाव हरेक महिना आए पनि हुन्थ्यो, विकास नभए पनि मत माग्न आउँदा नेता देख्न त पाइन्थ्यो । चुनाव सकिएपछि फर्केर आउने हैनन् ।’

उम्मेदवारहरुले आफूले पूरा गर्न नसक्ने एजेन्डासमेत देखाएर चुनावी मैदानमा उत्रिएको मतदाता बताउँछन् । जलुके लामातालका जुनबहादुर पुलामीका अनुसार आफूले जितेमा ३० वर्षदेखि अलपत्र नौमुरे जलविद्युत आयोजना पूरा गर्छु भन्ने आश्वासन धेरै नेताले दिएका छन् ।
पुलामी भन्नुहुन्छ ‘२०७० सालको चुनावमा पनि नौमुरे सुरु गर्छौं भनेर उम्मेदवार विजयी भएर गए, अहिलेसम्म सुरु नै भएन । अहिले पनि फेरि त्यहि नारा बनेको छ । नागरिक सचेत भइसके भाषणलाई होइन काम गर्ने समाजसेवी उम्मेदवारलाई विजयी बनाउनुपर्छ ।’
सीतगंगा नगरपालिका तथा जिल्लाका धेरै स्थानीय तहमा कांग्रेस विजयी भएकाले प्रदेश र प्रतिनिधिसभामा कांग्रेसलाई जिताएमा जिल्लालाई नमुना बनाउने कांग्रेसका उम्मेदवार डा. रामबहादुर बिसीको भनाई छ ।

डा. बिसीले स्वास्थ्यलाई प्राथममिकता राख्दै अन्य विकासका काम पनि गर्ने बताउनुभएको छ । उहाँले सासंदको तलबबाट आउने पैसा क्यान्सर पीडितको उपचारमा खर्चिने प्रतिबद्घता समेत जनाउनुभएको मतदाता बताउँछन् ।

वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार टोपबहादुर रायमाझी पनि चुनावी प्रचार प्रसारमा व्यस्त हुनुहुन्छ । मन्त्रीदेखि उपप्रधानमन्त्रीसम्म भइसक्नु भएका रायमाझीले पाँच वर्षभित्र नौमुरे जलविद्युत योजना सम्पन्न गर्ने, वैदेशिक रोजगारीमा गएका ५० हजार युवालाई स्वदेश फर्काउनेदेखि रेल गुडाउनेसम्मका चुनावी एजेन्डा अगाडि सार्नुभएको छ ।
क्षेत्र नम्बर १ मा ०७० सालको चुनावमा माओवादी पहिलो पार्टी बनेकाले वाम गठबन्धनलाई चुनाव जित्न सजिलो हुने देखिन्छ ।

Leave A Reply

Your email address will not be published.