रामचन्द्र पौडेलको गाडीमा बम प्रहार
काठमाडौं, मंसिर २ – नेपाली कांग्रेसले पूर्व सुभामुख एवम् पार्टीका नेता रामचन्द्र पौडेल चढेको गाडीमा तनहुँमा शनिबार दिउँसो बम प्रहार भएको घटनाको भत्सर्ना गरेको छ ।
नेपाली कांग्रेसले विज्ञप्ति निकालेर प्रतिनिधिसभा चुनावका लागि तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार पौडेल चढेको गाडीमा शनिबार दिउँसो सवा तीन बजे प्रेसर कुकर बम प्रहार भएको घटनाको बिरोध गरेको हो । लोकतन्त्रप्रति जनलहर उर्लिरहेका बेला त्यसलाई सहन नसकेर कांग्रेस नेतालाई लक्षित गरी बम प्रहारका घटना बढ्दै गएको र यसले लोकतन्त्र नै खतरामा परेको भन्दै कांग्रेसले घटनाको विरोध गरेको हो ।
यस्ता घटना आपराधिक रहेको र लगातार यस्ता घटना भइरहनु निकै दुःखद रहेको तर यसबाट कांग्रेस र लोकतन्त्रमा आस्था राख्ने कोही पनि विचलित नहुने पनि कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । घटनामा संलग्नमाथि कडा कारवाहीको माग गर्दै कांग्रेसले यस्ता घटना नदोहो¥याउन चेतावनी पनि दिएको छ ।
गोरखाको पालुङटारमा भएको चुनावी सभालाई सम्बोधन गरेर लमजुङ जाने क्रममा नेता पौडेल चढेको बा १३ च ३७४६ नम्बरको गाडीमा तनहुँको भानु नगरपालिका–१० नेपालडाँडामा बम प्रहार भएको हो । गाडीमा प्रेसर कुकर बम प्रहार भएको प्रहरीले जनाएको छ ।
विस्फोटका कारण गाडीको सिसा फुटेको छ भने एकजना प्रहरी घाइते भएका छन् । नेता पौडेल र उहाँसँग रहेका अरु नेता भने सकुशल रहेको प्रहरीले जनाएको छ । बम विस्फोटको घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ । विस्फोट कसले गराएको हो भन्ने अहिलेसम्म खुलेको छैन ।