सोचेँ, बेस्या सुन्दर छिन तर उनको घरमा कसरी जाउँ ?
एउटी वेश्या (यौनकर्मी)को मृत्यु भयो । संयोगले सोही दिन नजिकै बस्ने सन्यासीको पनि मृत्यु भयो । यमराज लिन आए । सन्यासीलाई
नर्क, वेश्यालाई स्वर्ग लैजाने तयारी भयो । सन्यासी ठू-ठूलो स्वरमा चिच्याउन थाल्यो- ‘यो कस्तो अन्याय ? म नर्कमा र वेश्यालाई स्वर्गमा ?’
यमराजले भने- एक पटक चित्रगुप्तसित सोध्नुहोस ।
सन्यासीले फेरी कड्किएर भन्यो- सारा जिन्दगी शास्त्र पढेरै बिताएँ, जिन्दगी प्रभुको नाम जपेरै बिताएँ । फेरि यस्तो अन्याय मलाई किन ?
सन्यासीलाई यमलोकमा उपस्थित गराइयो, चित्रगुप्तले खाता पल्टाउदै भने- वेश्या मदिरा पिउँथी, भोगमा रहन्थी जब तिमी भजन गाउँथ्यौ, धूप-दीप जलाउँथ्यौ । तिमी जब मन्दिरमा घण्टी बजाउँथ्यौ तब उनी सोच्दथिन्- ‘कहिले मेरो जीवनमा यी सब कुरा गर्ने सौभाग्य मिल्छ कहिले मन्दिरमा बसेर भजन गाउँन पाउँछु ? कहिले दीप जलाउन पाउँछु ?’
जब तिम्रो घरबाट धूपको सुगन्ध वेश्याको घरमा पुग्थ्यो उनी आफुलाई भाग्यमानी सम्झिन्थिन्, घण्टीको आवाज सुनेर आनन्द लिन्थिन् । तिमी पूजापाठ गर्दा पनि यो
सोच्थ्यौ ‘वेश्या सुन्दर छिन् तर म उनको घरमा कसरी जाउँ ?’ तिमीले
हिम्मत जुटाउन सकेनौ । तिम्रो सामाजिक प्रतिष्ठा तिम्रो बिचमा बाधक बन्यो । गाउँका सब मान्छेहरू तिमिलाई सन्यासीको रुपमा पुज्दथे ।
जब वेश्या नाँच्थिन्, मदिरा पिउथिन्, तिम्रो मनमा वासना जाग्थ्यो । तिमी सधैैं आफूलाई अभागी ठान्थ्यौ । त्यसैले तिमीलाई नर्कमा ल्याइयो र वेश्यालाई स्वर्गमा ।
वेश्या हिलोमा भएपनि कमल हुन लम्किदै थिई, तिमी आँफैमा कमल थियौ तर हिलोमा गड्दै गयौ । मूख्य प्रश्न तिमी बाहिरबाट कस्तो छौ भन्ने होइन मूख्य प्रश्न त तिमी भित्रबाट के छौ भन्ने हो ।
सन्यासीको मूख लाजले कालो निलो भयो ।
(मनुष्य: अनखिला परात्मा)