काठमाडौं, मंसिर २ – सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भएर नेपाल फर्कनु परे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १९ वर्षमुनिको नेपाली क्रिकेट टोलीका सदस्यको अनुहारमा खासै निराशा थिएन । खेलाडी, प्रशिक्षक र टोलीका अन्य सदस्य छाती फुलाउँदै विमानस्थल ओर्लिएका थिए ।
खेलाडीले छाती न फुलाउन पनि किन ?
सेमिफाइनलमा अफगानिस्तानसँग पराजित हुँदै फाइनल पुग्न वञ्चित भए पनि नेपाली टिम हारेर पनि जित्ने ‘बाजिगर’ बनेको थियो । त्यसैले खेलाडीले आफूहरुलाई पराजित भन्ने पटक्कै सोचेका थिएनन् । नेपाली टोलीमा खु्शी हुने एउटा गज्जबको आधार थियो, त्यो हो समूह चरणको खेलमा भारतलाई १९ रनले हराउनु, उसलाई पछि पार्दै सेमिफाइनलमा पुग्नु ।‘हामी सेमिफाइनलबाटै घर फर्किए पनि नेपालले लामो समयसम्म सम्झने एउटा सफलता लिएर आएका छौं’ त्रिभुवन विमानस्थलमा स्वागतका लागि पुगेका पत्रकारसँग १९ बर्षमुनिको राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक विनोद दासले भने, ‘तपाईंहरुले थाहा पाइसक्नु भएको छ, हामीले भारतलाई हराउन सक्यौं ।’
मलेसिया उडनु अघि अभ्यास खेल खेल्न बंगालेदेश पुगेको नेपालले बंगलादेशलाई पनि उसकै मैदानमा हराएको थियो । तर समूह चरणको पहिलो खेलमा बंगालदेशसँग हारे पनि नेपालले भारतलाई हराएको थियो । त्यसैले प्रशिक्षक र खेलाडीलीले एक हप्ताको बिचमा दुईवटा टेस्ट खेल्ने देशलाई हराएकोमा गौरव मानिरहेका थिए । १९ वर्षमुनिको एसियाकपमा मलेसियामा नेपाली टोली कुनै पनि खेलमा निरीह नभएको र सबै टिमसँग बलियो प्रतिष्पर्धा गरेको प्रशिक्षक दासको भनाइ छ । पहिलो खेलमा नै बंगलादेशसँगको खेलमा २ विकेटले हारेपछि नेपाल दवावमा परेको थियो । तर बंगलादेशसँगको हारलगत्तै ड्रेसिङ रुममा आफूहरुले भारतलाई हराउने योजना बनाएको प्रशिक्षक दासको भनाइ छ ।
‘अन्तिम ५ बलमा बंगलादेशलाई १० रन आवश्यक थियो, हामीले रन बचाउन सक्छौं जस्तो लागेको थियो, तर हामीले रन बचाउन सकेनौं’ बंगलादेशसँगको हार सम्झँदै दासले भने ‘मैले आजको बंगलादेशसँगको हार बिर्सने हो भने भारतलाई हराउनैपर्छ भनेर खेलाडीको हौसला बढाउँदै योजना बनाएको थिएँ ।’ आफ्नो योजनालाई खेलाडीलाई सही सदूपयोग गर्दै २४ घन्टाभित्रै नतिजा दिएकोमा दासले खुसी व्यक्त गरे । यो पटकको १९ बर्षमुनिको टिम निक्कै राम्रो भएको भन्दै प्रशिक्षक विनोद दासले नेपाली टोलीको मुख्य समस्या ब्याटिङ भए पनि अहिले त्यो समस्यामा निकै सुधार आएको बताए । तर अफगानिस्तानसँगको हारले भने टोलीमा केही आत्मविश्वास गुमेको उनले बताए ।
ब्याटिङ सुध्रिए पनि अफगानिस्तासँग केही कमजोरी
अरुबेला पत्रकारसित बोल्दा ‘हो र होइन’ मात्रैको जवाफ दिने १९ वर्षमुनिको नेपाली टोलीको कप्तान दिपेन्द्रसिंह ऐरी शनिवार भने खुलेरै बोले । भारतलाई हराएको खेलमा ८८ रन बनाएका र बलिङतर्फ पनि ४ विकेट लिएका उनीसँग त्यो खेलको जोश अझै बाँकी थियो । ‘पहिलाको अन्डर नाइन्टिन टोलीप्रति जुन धारण थियो अब त्यो रहेन, किनकी हामीले टेस्ट खेल्ने देश, त्यो पनि भारतलाई हराएर आएका छौं’, कप्तान दिपेन्द्रसिंह ऐरीले भने, ‘हाम्रो व्याटिङमा धेरै नै सुधार भएको छ, अभ्यास गर्दै गयौं भने हामी अझै बलियो हुन्छौं ।’ आफ्नो कप्तानीमा पहिलोपटक सेमिफाइनलनमा पुग्दा आफूलाई झनै खुसी लागेको कप्तान ऐरीले बताए । उनले सन्दिप लामिछानेलाई प्रतिस्थापन गर्दै १९ वर्षुमनिको टोलीको नेतृत्व पाएका थिए । १९ बर्षमुनिको एसियाकप क्रिकेटमा नेपाल पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा भारतलाई १९ रनले र तेस्रो खेलमा मलेसियालाई ८ विकेटले हराएर सेमिफाइलनमा पुगेको थियो । भारतविरुद्धको जित नेपालका लागि ऐतिहासिक जित थियो । सेमिफाइलनमा नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।