We Star Nepal
News From Nepal

रहेनन हामी माझ प्रकाश

0 364

माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र एवं स्वकीय सचिव प्रकाशको आइतबार हृदयाघातबाट निधन भएको छ । जेठी छोरी ज्ञानुको क्यान्सरका कारण मृत्यु भएको चार वर्षमै दाहालले एक मात्र छोरा गुमाएका छन् । उनले प्रकाशलाई पशुपति आर्यघाटमा दागबत्ती दिए । प्रकाशका दुई छोरा प्रसिद्ध र प्रणव नाबालक भएकाले दाहालले दागबत्ती दिएका हुन् । दाहालका स्वकीय सचिवसमेत रहेका प्रकाश निर्वाचन सामग्रीको व्यवस्थापनका लागि चार दिनअघि चितवनबाट काठमाडौं आएका थिए ।

दाहालका स्वकीय सचिव सन्तु दराईले शनिबार प्रकाशलाई सामान्य ज्वरो आएको जानकारी दिए । ‘प्रकाशले सामान्य ज्वरो आएको भन्नुभएको थियो, ठूलो रोग केही देखिएको थिएन,’ उनले भने, ‘बिहान एक्कासि अचेत भएको थाहा पाएपछि अस्पताल लग्यौं, बचाउन सकिएन ।’ आमा सीताले शनिबार राति ८ बजे जाउलो खुवाएकी थिइन्, यसपछि करिब ११ बजे पार्टी कार्यकर्तासँग कुरा गरेर प्रकाश सुतेका थिए । उनी कोठामा एक्लै सुतेकाले आमा सीताले ढिलो गरी थाहा पाएकी थिइन् । कान्छी श्रीमती बिना मगर निर्वाचन प्रचारमा कञ्चनपुर थिइन् । निर्वाचन सामग्री व्यवस्थापनका लागि प्रकाश चार दिनअघि राजधानी आएका थिए । उनी चितवन ३ मा बुवा (पुष्पकमल) लाई जिताउन बढी सक्रिय थिए । ‘निर्वाचन सामग्री व्यवस्थापन गरी चितवन जाने कार्यक्रम थियो,’ दराईले भने, ‘चितवनपछि कञ्चनपुरमा निर्वाचन अभियानमा जाने कुरा गर्नुभएको थियो ।’ कञ्चनपुर १ मा प्रकाश पत्नी बिना प्रतिनिधिसभामा उम्मेदवार छिन् । दाहाल वाम गठबन्धनको संयुक्त कार्यक्रममा सहभागी हुन झापा, दमक गएका थिए । आइतबार बिहान गम्भीर बिरामी भएको थाहा पाएलगत्तै उनी हेलिकप्टरबाट काठमाडौं आएका थिए ।

‘बिरामी भएको बिहान करिब ६ बजे थाहा भयो, यस्तो होला भन्ने विश्वास थिएन,’ दाहालसँगै झापा गएका अर्का स्वकीय सचिव जोखबहादुर महराले भने, ‘थप कुरा भन्न सक्ने अवस्थामा छैन ।’ युद्धकालदेखि नै दाहालका स्वकीय सचिव रहँदै आएका महराले अध्यक्ष दाहाललाई सफल बनाउन प्रकाशको ठूलो हात भएको बताए । ‘पार्टी र अध्यक्षलाई सफल बनाउन प्रकाश मरिमेटेर लाग्नुभएको थियो, उहाँको दु:खद निधनले ठूलो नोक्सानी भएको छ,’ उनले भने ।प्रकाशका दाइ समीर दाहालले पछिल्लो समय राजनीतिक र व्यावहारिक रूपमा परिपक्व हुँदै गएको बताए । ‘पछिल्लो समय प्रकाश परिपक्व हुँदै गएका थिए,’ उनले भक्कानिँदै भने, ‘उनलाई पार्टी र बुवा (अध्यक्ष दाहाल) को चिन्ता थियो । उनी बढी आशावादी हुँदै गएका थिए ।’ प्रकाशलाई बच्चैदेखि चिन्दै आएका हाल सँगै काम गरेका दराईले पार्टी र नेतृत्वलाई सफल बनाउन दिनरात खटेका बेला अकल्पनीय घटना भएको बताए । ‘लक्ष्यप्रति अडिग हुनुहुन्थ्यो, लक्ष्य पूरा नहुँदै जानुभयो,’ उनले भने । प्रकाशको निधनपछि आमा सीता र पत्नीद्वय सिर्जना त्रिपाठी र बिना मगर बिरामी परेका छन् । आफन्तहरू शोकमा डुबेका छन् ।

माओवादी प्रवक्ता पम्फा भुसालले चुनावी सभालाई श्रद्धाञ्जलीसभाका रूपमा गर्ने बताइन् । ‘दुई दिन श्रद्धाञ्जली कार्यक्रम गरी मनाइनेछ,’ उनले भनिन्, ‘अध्यक्षले चुनावी कार्यक्रम नरोक्न निर्देशन दिनुभएको छ ।’ प्रकाशको निधनपछि माओवादी नेताहरू चुनावी कार्यक्रम रोकेर राजधानी फर्केका थिए । घटनालगत्तै छोरासहित श्रीमती सिर्जना नर्भिक अपस्पताल पुगेकी थिइन् । प्रकाशको अवस्था देख्नेबित्तिकै उनी बेहोस भएकी थिइन् । लगत्तै निर्वाचन प्रचारमा कञ्चनपुरमा रहेकी बिना मगर अस्पताल पुगेकी थिइन् । बिनालाई सम्हाल्न सहयोगीलाई कठिन भएको थियो । भरतपुर नगरपालिका मेयर एवं दिदी रेणु दाहाललगायत आफन्तहरू प्रकाशको निधन भएको जानकारी पाएपछि काठमाडौं आएका थिए ।

पशुपति आर्यघाटमा प्रकाशको अन्तिम संस्कार गर्नुअघि पार्थिव शरीर माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको थियो । अन्तिम श्रद्धाञ्जली दिन विभिन्न दलका नेताहरू पेरिसडाँडा पुगेका थिए । उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलगायतका नेताहरू त्यहाँ पुगेका थिए । कांग्रेस नेताहरू प्रकाशशरण महत, प्रकाशमान सिंह, एमाले नेताहरू माधव नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष वामदेव गौतमलगायत नेता नर्भिक अस्पताल पुगेका थिए । पशुपति आर्यघाटमा श्रद्धाञ्जली दिन नेकपा मसाल महामन्त्री मोहनविक्रम सिंह, नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई, प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव पुगेका थिए । प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिन सरकार उच्च अधिकारी, सयौं सर्वसाधारण पार्टी कार्यालय पेरिसडाँडा र आर्यघाट पुगेका थिए ।

‘ठूलो क्षति’

माओवादीले विज्ञप्ति जारी गरी साकार उपनामले चिनिने प्रकाश दाहालको निधनले पार्टी र आन्दोलनमा ठूलो क्षति पुगेको बताएको छ । ‘युद्धकालको कठिन र संघर्षमय दिनमा कहिल्यै विचलित नभई पार्टी गतिविधिमा निरन्तर सक्रिय रहनुभएका क. प्रकाशको अल्पायुमै भएको दु:खद निधनले पार्टी र सिंगो आन्दोलनलाई ठूलो क्षति पुगेको छ,’ प्रवक्ता पम्फा भुसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशको निधनले मर्माहत भएको उल्लेख गरेका छन् । कांग्रेसले विज्ञप्ति जारी गरी मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ । एमालेले दाहालको आकस्मिक तथा असामयिक निधनबाट पार्टी स्तब्ध बनेको उल्लेख गर्दै एमालेका तर्फबाट आइतबार दिउँसोका पूर्वनिर्धारित सबै चुनावी कार्यक्रम स्थगित गरेको थियो ।भारतका विदेशमन्त्री सुष्मा स्वराजले ट्वीट गरी प्रकाशको निधनप्रति दु:ख व्यक्त गर्दै परिवारप्रति समवेदना व्यक्त गरेकी छन् ।

ठट्टा गर्न रुचाउँथे प्रकाश

२०३८ असारमा जन्मिएका उनी दसवर्षे सशस्त्र युद्ध र शान्ति प्रक्रियामा आएपछि दाहालका दाहिने हात थिए । बुवाका साथै उपत्यका बाहिर जाँदा आमा सीतालाई खुबै ख्याल गर्थे । विवाहका विषयमा केही विवादित भए पनि दाहालले प्रकाशलाई निरन्तर आफ्नो सचिवालयमा राख्दै आएका थिए । २०६९ जेठमा सगरमाथा चढेका उनी त्यसपछि निरन्तर राजनीतिमा सक्रिय थिए । उनी माओवादी केन्द्रीय सदस्य थिए । युद्धमा लागेका कारण १२ कक्षा उत्तीर्ण गरी त्यसपछि पढ्न पाएका थिएनन् । अप्ठ्यारो बाटोमा यात्रा गर्दा उनले बुवा चढेको गाडी आफैं हाँक्थे । दाहालको निजी सचिवालयको व्यवस्थापन र प्राविधिक कुरा मिलाउँदै आएका थिए ।प्रकाशका मिल्ने साथी राहुल महरा (कृष्णबहादुर महराका छोरा) ले प्रकाश तनावमा पनि ठट्टा गर्ने स्वभाव भएको बताए । पछिल्लो समय पार्टी अध्यक्ष बुवालाई राजनीतिक कोर्सबारे पनि सुझाव दिन थालेका थिए । यसले दाहाललाई खुसी बनाएको थियो । राजनीतिक रूपमा पनि उनी परिपक्व हुँदै गएको उनका सहकर्मीहरूले बताएका छन् । उनको निधनपछि सामाजिक सञ्जालका भित्तामा शोक पोखिएको छ भने ट्वीटरमा ट्रेन्डिङ भएको छ ।

Leave A Reply

Your email address will not be published.