We Star Nepal
News From Nepal

बिग बि सँग काम गर्दै नेपाली साउन्ड डिजाइनर

0 452

सन् २००६ देखि बलिउडमा ‘साउन्ड डिजाइनर’का रूपमा कार्यरत छन् रूपन्देहीका सञ्जय चतुर्वेदी। बलिउडका थुप्रै स्टारसँग काम गरिसकेका उनी भन्छन्, बलिउडका सुपरस्टार अमिताभ बच्चन ‘गड अफ एक्टीङ’ रहेछन्। सञ्जयका अनुसार उनले अमिताभबाट सिकेको सबैभन्दा महत्वपूर्ण कुरा हो, कामप्रतिको लगाव। ७५ वर्ष पुगिसकेका अमिताभ बिहानै लुरुलुरु स्टुडियो पुग्छन्। काममा यति ध्यान दिन्छन् कि उनीसँग काम गर्दा अरूलाई अझै उत्प्रेरणा मिल्छ, उत्साह जाग्छ।यति बेला अमिताभ र ऋषि कपुरको प्रमुख भूमिका रहेको फिल्म ‘१०२ नट आउट’को साउन्ड डिजाइनका लागि काम गरिरहेका छन् सञ्जय। आगामी १२ जनवरीमा रिलिज हुने भनिएको यो फिल्म ‘पीके’, ‘ओ माई गड’जस्ता सफल फिल्म निर्देशन गरिसकेका निर्देशक उमेश के शुक्लाले निर्देशन गरेका हुन्। यसै फिल्मका लागि बिग बीसँग काम गर्न पाएकोमा एउटा उपलब्धि ठान्छन् उनी।

सञ्जयका अनुसार बच्चन र कपुरहरूमा अभिनयप्रति फरक खालको लगाव छ, जुन अरूमा छैन। उनले बलिउडका थुप्रै सेलिब्रेटीसँग काम गरे तर उनीहरूजस्तो काममा लगनशील अरू देखेनन्। नेपाली फिल्म उद्योगमा साउन्ड डिजाइनको अभ्यास खासै भइनसके पनि बलिउडमा यसलाई सिनेमाको अभिन्न अंगका रूपमा हेरिन्छ। सञ्जय भन्छन्, ‘साउन्ड डिजाइन भनेको सिनेमाको आत्मा हो। राम्रो सिनेमा बन्न साउन्ड डिजाइन अत्यन्त आवश्यक हुन्छ।’ साउन्ड डिजाइनले फिल्मलाई जीवन्त बनाउनेमा विश्वास गर्छन् उनी।सञ्जयका अनुसार फिल्मका प्रत्येक सट् र सिनअनुसार साउन्ड हुन्छ। बिहानीको समय छ भने चराहरू चिर्बिर गरिरहेको, गाडीको चहलपहल कम भएको, बालबालिका बिस्तारै स्कुलतिर लागेको दृश्य देखाउन सकिन्छ र ठ्याक्कै त्यसैमा मिल्ने साउन्ड जोड्नुपर्छ। साउन्ड डिजाइन समय, परिस्थिति र ठाउँअनुसार फरक हुन्छ।

सञ्जयले पशुपतिनाथ, स्वयम्भू लगायतका ठाउँमा पुगेर त्यहाँको वास्तविक साउन्ड रेकर्ड गरेका छन्, जुन साउन्ड उनले आफ्नो आर्काइभमा राखेको र त्यसलाई कुनै पनि बेला फिल्ममा प्रयोग गर्नसक्ने बताए। उनी भन्छन्, ‘साउन्ड डिजाइनमा क्यारेक्टर पनि जोडिन्छ। रिसाएको बेला कसैले पनि ढोका ढ्याम्म बन्द गर्छ तर सामान्य बेलामा त्यस्तो हुँदैन। त्यसैले साउन्डले क्यारेक्टर पनि जोडेको हुन्छ।’कलकत्तास्थित ‘सत्यजित रे फिल्म एन्ड टीभी इन्स्टिच्युट’मा अध्ययन सकाएपछि उनले बलिउडमा काम सुरु गरेका थिए। उनको सबैभन्दा पहिलो फिल्म ‘हनिमुन ट्राभल्स’ थियो। ओम शान्ति ओम, तारे जमिन पर, रक अन, जिन्दगी नामिले दोबार, सांघाई, ढिस्यु, दिल्ली छे, नुरलगायत उनले थुप्रै सफल फिल्ममा साउन्ड डिजाइन गरिसकेका छन्। उनले फिल्म ‘सांघाई’ बाट ‘साउन्ड एसोसिएसन अफ इन्डिया’ तथा ‘ऐश्वर्या’ अवार्ड पाइसकेका छन्।आफूसँग काम गरेका सेलिब्रेटीमध्ये बरुण धवन, जोन अब्राहम, सोनाक्षी सिन्हा एकदमै मिलनसार र सजिलो लागेको सञ्जयले बताए। ‘केही सेलिब्रेटी भने काम गर्न अप्ठ्यारा खालका पनि छन्’, उनले थपे।त्रिभुवन विश्वविद्यालयबाट एमएस्सी गर्दागर्दै सत्यजित रे फिल्म तथा टीभी इन्स्टिच्युटमा अध्ययनको अवसर पाएपछि भारत छिरेका सञ्जय अहिले बलिउडमा निकै रुचाइएको साउन्ड डिजाइनरका रूपमा चिनिन्छन्।

Leave A Reply

Your email address will not be published.