निर्वाचनपछि बन्ने सरकारले क्रिकेटको विवाद समाधान गर्ने:केपी ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय प्रतिनिधिसभा र प्रदेशसभाका लागि हुन लागेको आसन्न निर्वाचनपछि बन्ने सरकारले क्रिकेटको विवाद समाधान र क्रिकेट विकासको सम्बन्धमा ठोस निर्णय गर्ने बताएका छन् । हालै मलेसियामा सम्पन्न एसीसी युथ एसिया क्रिकेटको सेमिफाइनलसम्म पुगेको नेपाली युवा टोलीलाई सोमबार सम्मान गर्दै पूर्वप्रधानमन्त्री ओलीले नयाँ सरकारले क्रिकेटलाई अहिलेको अवस्थाबाट माथि उकास्ने बताए।‘अहिले निर्वाचनअघि मैले धेरै बोल्न हुन्न तर, यो निर्वाचनपछि बन्ने सरकारले क्रिकेटको विषयमा ठोस निर्णय लिनेछ’, अध्यक्ष ओलीले ठट्यौली शैलीमा भने, ‘मंसिरपछि कसको सरकार बन्छ भन्ने त तपाईंहरूलाई थाहा नै छ ।’ यू-१९ क्रिकेट टोलीको सम्मानका लागि मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको कार्यक्रममा ओलीले युवा क्रिकेटरले देशको नाम उच्च पार्ने गरी प्रदर्शन गरेको भन्दै प्रशंसासमेत गरे।
‘म नेपाली युवा खेलाडीलाई धन्यवाद भन्न चाहन्छु, बधाई दिन चाहन्छु । तपाईंहरूले देशको नाम राख्नका लागि निकै मेहनत गर्नुभएको छ, त्यसका लागि उच्च सम्मान व्यक्त गर्न चाहन्छु’, उनले भने, ‘यो बधाई र धन्यवाद केपी ओलीको मात्रै हो भनेर नसम्झनु । मैले तपाईंहरूलाई दिएको सम्मान राष्ट्रिय सम्मान हो।’ अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जानुअघि टोलीलाई बिदाइसमेत नगरिएकोप्रति ओलीले कटाक्ष पनि गरे।‘खेलकुद परिषद् दूध खानलाई बनाएको गाई÷भैंसी होइन । ऊन काडेर कपडा बनाउन पालेको भेडा पनि हैन’, ओलीले प्रश्न गरे, ‘खेलाडीको हक हितका लागि बनाएको खेलकुद परिषद्ले खेलाडीको बिदाइसमेत गर्दैन भने किन चाहियो यस्तो खेलकुद परिषद् ? ’ त्यसअघि बोलेका नेपाली टोलीका प्रशिक्षक विनोद दासले पछिल्लो समय आफूहरू अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा बिदाइसमेत हुन छाडेको भनी गरेको गुनासोको प्रसंगमा अध्यक्ष ओलीले खेलकुद परिषद्को आलोचना गरेका हुन् । अध्यक्ष ओलीले नेपाली खेलाडीमा क्षमता भएको तर, त्यसअनुसार आत्मविश्वास र अवसरको कमी रहेको बताए।
प्रशिक्षक दासले नेपाली क्रिकेट अहिले अभिभावकविहीन भए पनि क्षमता र दिशाहीन नभएको बताएका थिए । ‘क्यान अहिले निलम्बनमा छ । क्यान नभएको अवस्थामा पहिले खेलकुद परिषद्ले बिदाइ गर्ने गथ्र्याे । पछिल्लो समय त्यो पनि हुन छाडेको छ । पछिल्लो समय हामीलाई हौसलासमेत मिल्न छाडेको छ’, प्रशिक्षक दासले अध्यक्ष ओलीसमक्ष अनुरोध गरेका थिए, ‘तपाईंहरूले ठूला÷ठूला अवरोध फुकाएर देशलाई अगाडि बढाउनु भएको छ । क्रिकेटको समस्या पनि फुकाइदिनुस् ।’एकेडेमीले समूहगत चरणमा शक्तिशाली भारतको युवा टोलीलाई १९ रनले पराजित गर्दै पहिलो पटक युथ एसिया कपको सेमिफाइनलसम्मको यात्रा तय गरेका नेपाली खेलाडीलाई कदरपत्र र खादाले सम्मान गरेको थियो । नेपाली टोली सेमिफाइनलमा अफगानिस्तानसँग पराजित भएको थियो । आइतबार भएको खेलमा पाकिस्तानलाई पराजित गर्दै अफगानिस्तानले प्रतियोगिताको उपाधि जितेको थियो।