We Star Nepal
News From Nepal

शान्ति प्रक्रियाको मुख्य कार्यभार पूरा नभए समाज पुन द्वन्द्वतिर धकेलिने:कृष्णप्रसाद सिटौला

0 346

काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिन गठित दुई आयोगका काम तार्किक निष्कर्षमा नपुगे समाज पुनः द्वन्द्वतिर धकेलिने खतरा औँल्याएका छन्। मंगलबार काठमाडौंमा भएको पत्रकार भेटघाटमा सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिने शान्ति प्रक्रियाको मुख्य कार्यभार पूरा नभए समाज पुनः द्वन्द्वतिर धकेलिने सम्भावना रहेको बताए। विस्तृत शान्ति सम्झौता भएको ११ वर्ष पुगेको दिन पारेर सिटौलाले शान्तिप्रक्रिया र चुनावी सन्दर्भहबारे पत्रकारसँग अन्तर्क्रिया गरेका थिए। सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएपछि १० वर्ष लामो सशस्त्र द्वन्द्व अन्त्य भएको थियो।

माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका सिटौलाले दलहरूबीच भएका ‘लिखित अलिखित समझदारी’ लाई तार्किक निष्कर्षमा पुर्‍याई समाजमा दीर्घकालीन शान्ति स्थापना गर्ने कार्यभार बाँकी रहेको बताए। शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न पनि आसन्न निर्वाचनमा आफू विजयी हुनुपर्ने उनको जिकिर छ।’शान्ति प्रक्रियामा संलग्न राजनीतिक दलले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा प्रश्न र शंका नउठ्ने गरी यो विषय टुंग्याउनुपर्छ’, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबीच क्षेत्रधिकार लगायतका विवाद देखिएकोबारे पत्रकारको प्रश्नमा सिटौलाले भने, ‘सबै दलहले गम्भीरतापूर्वक विचार गर्नुपर्छ। यो प्रक्रिया सही निष्कर्षमा पुगेन भने समाज द्वन्द्वतिर धकेलिने सम्भावना छ।’ शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन दलले भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।

द्वन्द्वपीडितलाई न्याय दिन क्रियाशील आयोगकाको काम टुंग्याउन सजिलो नभएको तर्क गर्दै सिटौलाले त्यहाँ पनि आफ्नो भूमिका चाहिने बताए। ‘आयोगसँग सम्बन्धित ऐन कानुनदेखि धेरै कुरामा बहस देखिएको छ, दुनियाँको चासो छ’, उनले भने, ‘यी आयोगका काम टुंग्याउन पनि मेरो भूमिका चाहिन्छ भन्ने मलाई लाग्छ।’ द्वन्द्वपीडितलाई न्याय र समाजमा पुनः हिंसा प्रतिहिंसा तथा बदलाको भाव नहुने गरी दुबै आयोगको निष्कर्ष आउनुपर्ने बताउँदै उनले त्यसका लागि आफू संसदमा आउनुपर्ने दावी गरे। ‘जे समझदारीसहित स्वर्गीय गिरिजाप्रसाद कोइराला र प्रचण्डले शान्ति प्रक्रियामा हस्ताक्षर गर्नुभयो, त्यसलाई इमान्दारिताकासाथ निष्कर्षमा पुर्‍याउनुपर्छ’, उनले भने, ‘त्यसका लागि पनि म संसदमा आउनुपर्छ भन्ने मेरो दाबी छ।’

पाँचवटा निर्वाचन क्षेत्र रहेको झापाको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका सिटौलाका १२ प्रतिस्पर्धी छन्। तर उनको मुख्य टक्कर राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनसँग हुने स्पष्ट छ। मुलुकका अन्य निर्वाचन क्षेत्रमा कांग्रेससँगै चुनावी गठबन्धनमा रहेको राप्रपा सिटौलाको क्षेत्रमा भने मुख्य प्रतिस्पर्धी छ। सिटौला र लिङ्देन दुबैले झापा ३ छोड्न नमानेपछि केन्द्रमा भएको चुनावी गठबन्धन यो क्षेत्रमा भंग भएको थियो। वाम गठबन्धनले उम्मेदवार नउठाई लिङ्देनलाई सघाउने निर्णय गरेकोपछि यहाँको चुनावी प्रतिस्पर्धा झन् रोचक भएको हो। त्यसैले सिटौला यसलाई ‘विशिष्ट प्रतिस्पर्धा’ भन्छन्।

‘सबै निर्वाचन क्षेत्रहरूको प्रतिस्पर्धाको प्रकृति फरक-फरक छ तर मेरो ठाउँमा विशेष छ, विशिष्ट छ’, सिटौलाले भने, ‘मेरो प्रतिस्पर्धा एमाले माओवादीसँग होइन, राप्रपासँग छ, परिवर्तन नचाहने राजावादी एकातिर छन्, परिवर्तन चाहने म अर्कोतिर छु।’ कांग्रेसले केन्द्रीय स्तरमा गरेको गठबन्धन सिटौलाको क्षेत्रमा कार्यान्वयन नहुनुको कारण र उक्त क्षेत्रमा एमाले माओवादी नेतृत्वको वाम गठबन्धनले उनका प्रतिस्पर्धी राप्रपाका लिङ्देनलाई सघाउने निर्णयबारे सोधिएका प्रश्नको भने उनले ‘अरुका बारेमा टिप्पणी नगर्ने’ भन्दै उनले जवाफ दिएनन्। एमाले माओवादीले आफ्ना उम्मेदवार नउठाएकाले सिटौलालाई सघाउने सम्भावनाबारे सोधिएको प्रश्नको भने उनले घुमाउरो जवाफ दिए।

‘जनताको अधिकारका लागि संघर्ष गरेकाले जनतालाई दमन गर्नेको अवशेषलाई समर्थन गर्छन् भन्ने विश्वास मलाई छैन’, उनले भने, ‘मैले त्यो चेतना जगाउन सक्नुपर्छ, स्वविवेक प्रयोग गर्न सक्ने अवस्थामा मैले पुर्‍याउनुपर्छ। म अहिले त्यही अभियानमा छु।’ जनआन्दोलनको भावना र परिवर्तनको पक्षमा रहेकाले अाफ्नो पक्षमा विवेक प्रयोग गर्ने उनको विश्वास छ।माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन तथा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न आफ्नो प्रमुख भूमिका भएको जिकिर गर्दै सिटौलाले मतदाताले आफ्नो योगदानको मूल्यांकन गर्ने आशा व्यक्त गरे। ‘समझदारीकै आधारमा माओवादीको हातबाट बन्दुक छुटाई बहुदलीय लोकतन्त्रको बाटोमा ल्याउने र शान्तिपूर्ण आन्दोलनको माध्यमबाट गणतन्त्र स्थापना गर्ने काममा मेरो महत्वपूर्ण भूमिका छ’, उनले भने, ‘आम नेपालीको परिवर्तनको एजेन्डालाई मेरो निर्वाचन क्षेत्रमा विषयान्तर गर्न खोजिँदैछ । २१ गतेसम्म पुग्दा ठूलो जनमत मेरो पक्षमा आउँछ भन्ने मेरो विश्वास छ।’

संसद पुनर्स्थापनापछि गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री छँदा विद्रोही नेता प्रचण्ड र बाबुरामलाई लिन तथा पुर्‍याउन जाँदा आफूलाई संसदमा ‘माओवादीको सवारी मन्त्री’ भनिएको उनले स्मरण गरे।झापा ३ को ‘विशिष्ट’ प्रतिस्पर्धामा एक लाख १४ हजार पाँच सय ८६ मतदाताले सिटौलालाई रोज्नेछन् वा लिङ्देनलाई त्यो मंसिर २१ को चुनावी नतिजाले स्पष्ट पार्नेछ।

Leave A Reply

Your email address will not be published.