We Star Nepal
News From Nepal

टुक्रा–टुक्रा पारिएको अवस्थामा शव फेला

0 336

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ योगिनियाँ गाउँ स्थित कोशी पश्चिमी तटबन्धको छेउमा हात खुट्टा तथा शरिरका अन्य भागहरु टुक्रा टुक्रा पारिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

मंगलवार बिहान नदि छेउमा दिशा पिसाब गर्न गएका गाउँलेहरुले क्षत विक्षत शव हेरेपछि प्रहरीलाई जानकारी गराएका थिए। कोशी नदि छेउमा फालिएको शव भन्दा झण्डै ३ सय मिटरको वरपर शरिरका विभिन्न भागहरु छरिएको अवस्थामा स्थानीले देखेका थिए।

घटनाको जानकारी पाए लगत्तै सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहको नेतृत्वमा घटनास्थल पुगेर अनुसन्धान थालिएको छ। कसको शव हो भन्ने सनाखत समेत हुन सकेको छैन।

शवको प्रकृति हेर्दा कम्तीमा एक साता अघि नै उक्त शव शरिरका विभिन्न भाग काटेर बोरामा हालि फालिएको हुन सक्ने प्रहरीको अनुमान छ। शवको हात, खुट्टा र टाउको काटिएको छ भने अनुहारमा समेत कुनै केमिकल हालिएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। प्रत्यक्षदर्शीका अनुसार हात, खुट्टा पोलिएको जस्तै देखिन्छ।

‘अन्दाजी ३०/३२ बर्षिया महिलाको शव हुन सक्ने हाम्रो प्रारम्भीक अनुसन्धानले देखिएको छ’, घटना स्थलमै भेटिएका सप्तरीका प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहले भने, ‘हत्या पश्चात शरिरको टुक्रा गरेर बोरामा हालि शव फालिएको हो, झाडिमा फालिएको बोरावाट कुकुर, स्याल जस्ता जनावरले ती शवका विभिन्न भागलाई निकालेको हुन सक्ने हाम्रो अनुमान छ।’

उक्त भेगका स्थानियहरुलाई बोलाएर प्रारम्भीक पुछताछ तथा शवसँगै फेला परेका सामग्रीहरु देखाएर सनाखत गर्ने कार्य प्रहरीले विहानैदेखि थालेपनि हाल सम्म शवको सनाखत हुन नसकेको एसपी सिंहले बताए। उनले भने, ‘हामी घटनाको सुक्ष्म अनुसन्धानमा जुटिसकेका छौ, चाडै केहि न केहि तथ्य फेला पारिन्छ।’

Leave A Reply

Your email address will not be published.