अवैध रूपमा बालुवा उत्खनन् तीव्र
भक्तपुर र काठमाडौं जिल्लाको सीमाना भएर बग्ने मनहरा खोलाबाट अवैध रूपमा बालुवा उत्खनन् तीव्र बनेको छ । प्रहरी प्रशासनको संरक्षणमा मनहरा खोलाबाट अवैध रूपमा बालुवा निकालिएको स्थानीय वासिन्दाले जानकारी दिएका छन् । खोलाबाट बालुवा चोरी भएको जानकारी गराउँदा पनि त्यसको नियन्त्रणमा ध्यान नदिएपछि प्रहरी प्रशासनको संरक्षण एवं सेटिङ रहेको पुष्टि भएको स्थानीयको दाबी छ । उनीहरूका अनुसार प्रहरीको जिम्मा लगाएको चोरीको बालुवासमेत जिल्ला समन्वय समिति भक्तपुरसम्म नपुगेबाट पनि मनहरा खोलाबाट बालुवा चोरीमा प्रहरीको सेटिङ रहेको प्रष्ट भएको चाँगुनारायण नपा १ का वडाका सदस्य माधव न्यौपाने बताउँछन् ।
राति ओसार्न मनहरा खोला दायाँबायाँ दर्जनौं ठाउँमा बालुवा जम्मा गरिएको छ । यस्तै बालुवा ओसार्न प्रयोग गरिएका गाडी गुडेका छाप जताततै पाइन्छ । केही ठाउँमा मजदुर दिउँसै खोलामा बालुवा जम्मा गर्दै गरेको भेटिएका छन् । चाँगुनारायण नपा १ र ४ तथा काठमाडौंको मूलपानी सीमामा पर्ने मनहरा खोलाका दर्जनौं ठाउँबाट अवैध रूपमा बालुवा निकाल्ने काम भइरहेको स्थानीय बताउँछन् । ‘रातभर मनहरा खोलातर्फ बालुवा बोक्ने ट्रक गुड्छन्’, चाँगुनारायण नपा १ वडाका अर्का सदस्य उद्धव खड्का भन्छन्, ‘बालुवा चोरी हुनेबारे प्रहरीलाई जानकारी दिँदादिँदा हामी नै थाकिसकेका छौं । प्रहरीलाई फोन गर्यो, प्रहरी आउँदैन, उल्टै बालुवा तस्कर घरमा धम्की दिन आइपुग्छन् ।’
बालुवा तस्करले ज्यान मार्नेसम्मको धम्की दिन थालेपछि स्थानीय बासिन्दा मौन बस्न बाध्य भएको उनी बताउँछन् । प्रहरीको सेटिङमा बालुवा चोरी भइरहेकोबारे सञ्चार माध्यममा जानकारी दिएको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा उल्टै स्पष्टीकरण दिनुपरेको वडा सदस्य खड्काले गुनासो गरे । ‘प्रहरीको सेटिङमा बालुवा चोरी भएको भनेर सञ्चार माध्यममा बोल्यो भनी महानगरीय प्रहरी परिसरले बोलाएर मसँग स्पष्टीकरण लियो’, उनले भने, ‘प्रहरीले मिडियामा बोलेको कुराको खण्डन गर्न दबाब दियो । मैले साँचो बोलेको हो, खण्डन गर्दिन दोषीलाई कारबाही गर भन्दा प्रहरीर्ले तिमीले सिकाइरहन पर्दैन भन्दै धम्क्याए ।’
प्रहरी प्रशासन र जिल्ला समन्वय समितिको खानी शाखामा बस्ने कर्मचारीलाई अवैधरूपमा बालुवा चोरी निकासी गर्ने एकएक जानकारी भएको खड्काको दाबी छ । चाँगुनारायण नपा १ का वडा अध्यक्ष राजेश खड्काले भने, ‘उनीहरूको सेटिङ नभएको भए मनोहरा खोलाबाट मात्रै होइन खानीबाट समेत किन निरन्तर बालुवा चोरी भइरहेको छ ।’स्थानीयले भने चाँगुनारायण नपाले पहिले ‘डम्प’ भएर बसेको बालुवा बेच्न स्वीकृति दिएपछि बालुवा चोरी तीव्र भएको बताएका छन् । नगरपालिकाले दुई महिनाअघि डम्प भएर रहेको बालुवा बिक्री गर्न स्थानीय खानी सञ्चालकलाई स्वीकृति दिएको थियो । नपाले डम्प भएको बालुवाको नापजाँचपछि बालुवा बिक्री गर्न रसिदको व्यवस्था गरेको थियो ।
नपाले स्वीकृत गरेको सोही रसिदको आडमा माफियाले मनहरा खोला र खानीबाट अवैध रूपमा बालुवा निकालेको स्थानीय बताउँछन् ।‘रातभर मनहरा खोलाबाट बालुवा चोरेर डीपोमा जम्मा गरिन्छ’, एक स्थानीयले भने, ‘दिउँसो त्यही बालुवा नपाले स्वीकृति दिएको डीपोको रसिदमार्फत बिक्री वितरण हुन्छ ।’महानगरीय प्रहरी परिसर भक्तपुरले भने चोरीको बालुवा नियन्त्रणमा लिएर जिल्ला समन्वय समितिलाई बुझाउँदै आएको बताएको छ । परिसरकी प्रमुख प्रहरी उपरीक्षक किरण राणाले अहिलेसम्म अवैध रूपमा बालुवा ओसार्ने २७ वटा ट्रक नियन्त्रण गरी कारबाहीका लागि जिल्ला समन्वय समितिलाई बुझाएको बताइन् । उनले स्थानीय जनता प्रहरीलाई दोष दिएर आफू पन्छिने आरोप लगाइन् ।
उनले बालुवा चोरी रोक्ने काम प्रहरीको मात्रै नभएको भन्दै जिल्ला समन्वय समिति र नगरपालिका बढी जिम्मेवार हुने बताइन् । ‘बालुवा चोरी रोक्ने जिम्मेवारी प्रहरीको मात्रै होइन’, उनले आक्रोशित हुँदै भनिन्, ‘प्रहरीले कहाँमात्र हेर्ने ? शान्ति सुरक्षा हेर्ने कि बालुवा कहाँबाट चोरी निकासी भइरहेको छ भनी लाग्ने ? ‘जिल्ला समन्वय समितिले पछिल्लो समय प्रहरीले नियन्त्रणमा लिएको कुनै पनि बालुवा आफूलाई नबुझाएको दाबी गरेको छ । जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जिससकहाँ कुनै बालुवा नबुझाइएको दाबी गरे । ‘जिससले कुनै पनि खानीलाई बालुवा उत्खनन्का लागि स्वीकृति दिएको छैन’, उनले भने, ‘प्रहरीले हामीलाई कुनै अवैध बालुवा बुझाएको पनि छैन ।’ स्थानीयका अनुसार बिहान र दिउँसो निष्क्रिय हुने बालुवा माफिया साँझ पर्न थालेपछि सक्रिय हुने गरेका छन् ।
साँझ ६ देखि बिहान ६ बजेसम्म बालुवा चोरी गर्नेको सक्रियता बढ्ने उनीहरू बताउँछन् । रातभर मनहरा खोलाबाट निकालिएको बालुवा नजिकै रहेको डीपोमा जम्मा गरिने स्थानीय बताउँछन् । उनीहरूका अनुसार साना गाडीले बाटोमा झारेको बालुवा टिपरमा राखेर काठमाडांै लगिन्छ । केही टिपरले नजिकै वा टाढा रहेका डिपोमा बालुवा झार्ने गरेको स्थानीयको भनाइ छ ।