We Star Nepal
News From Nepal

बड्दो मानवतस्करी: प्रमुख राजनीतिकदलका नेताको मिलिमतो

0 360

काठमाडौं- राजनीतिक कार्यक्रममा सहभागी गराउने बहानामा मानवतस्करी गरेको आरोपमा पाँचजना पक्राउ परेका छन्। प्रमुख राजनीतिक दलका नेतालाई अतिथि बनाउँदै उनीहरूसँगै असम्बन्धित व्यक्तिलाई प्रतिनिधि बनाएर अमेरिका, जापान, कोरियालगायत देशमा लगेर छाड्ने गरेको सूचना आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दिवाकरबाबु भट्टराई, महेश पाण्डे, पदमराज पाठक, मनोज चौधरीलगायतलाई पक्राउ गरेको हो ।महाशाखाका प्रमुख एसएसपी दिवश लोहनीका अनुसार १०÷१० लाख रुपैयाँ लिएर असम्बन्धित व्यक्तिलाई राजनीतिक कार्यक्रममा सहभागी गराएर जापान लगेको सूचना आधारमा महाशाखाले उनीहरूको खोजी गरिरहेको थियो । उनीहरू कोरियामा रोजगारीका लागि बैंकको नक्कली स्टेटमेन्टमा समेत जोडिएपछि पक्राउ परेका हुन् ।

‘पक्राउ परेकाले विभिन्न देशमा रहेका राजनीतिक दलसँग जोडिएका संस्थाको कार्यक्रम भन्दै नेताहरूलाई प्रमुख अतिथि र अतिथि बनाएर बोलाउने गरेको देखियो,’ एसएसपी लोहनीले भने, ‘ उनीहरूले पैसा खर्चिएर विदेश जान तयार हुनेसँग जनही १० लाख रुपैयाँसम्म लिएर नेताको सहयोगी बनाएर मानव तस्करी गरेको खुल्यो ।’अनुसन्धान कार्यक्रममा सहभागी हुन गएका दलका नेता सो विषयबारे अनभिज्ञ देखिएको भन्दै प्रहरीले उनीहरूको नाम भने गोप्य राखेको छ । प्रायः सबै दलका कुनै न कुनै नेतालाई भ्रमण भन्दै असम्बन्धित व्यक्तिसँग पैसा लिएर तस्करी गरेको देखिएको र यस पाटोबारे गम्भीर अनुसन्धान अगाडि बढाएको लोहनीले बताए । ‘प्रारम्भिक अनुसन्धानमा कार्यक्रममा सहभागी हुन जाने नेता उनीहरूको अपराध शैलीबारे जानकार देखिएनन्,’ उनले भने, ‘ नेताहरू पार्टीको कार्यक्रममा भन्दै जान तयार भएपछि गिरोहले पत्तै नदिई दलको नाममा असम्बन्धित व्यक्तिका नाममा भिषा लगाएर मानव तस्करी गरेको देखिएको छ ।’

प्रभावशाली दलको नेता, मन्त्री र सांसदको विदेश भ्रमण आवरणमा मानव तस्करी हुने गरेको यो पहिलो घटना भने होइन । सांस्कृतिक कार्यक्रम, पार्टीका भ्रातृ संगठनका कार्यक्रम र सरोकारै नभएका कार्यक्रममा नेता र सांसदलाई आफ्नो खर्चमा सहभागी गराएर पत्र कीर्तेगरी असम्बन्धित व्यक्तिलाई संलग्न गराएर पैसा उठाउने गिरोह सक्रिय रहेको यसअघि समेत खुलेको थियो ।गत वर्ष माओवादी केन्द्रका ८ सांसद यस्तै प्रकृतिको मानव तस्करीमा जोडिएपछि प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो । राजनीतिक दबाबमा अनुसन्धान फितलो बनाउँदा तस्करीमा जोडिएका तत्कालीन सांसद र समूहका मुख्य नाइकेले उन्मुक्ति पाएका थिए ।

Leave A Reply

Your email address will not be published.