We Star Nepal
News From Nepal

गुल्शन ग्रोबर मार्फत नेपाल हलिउडमा जोडिदै

0 432

काठमाडौं – भिलेनको रुपमा ख्याति पाएका बलिउड अभिनेता गुल्सन ग्रोबर नेपालमा सुटिङ भइरहेको अन्तराष्ट्र्रिय फिल्म ‘द म्यान फ्रम काठमाडौं’को सुटिङका लागि हाल काठमाडौंमा छन् । फिल्ममा भिलेनको चरित्रबाट चर्चा पाएपनि वास्तविक जीवनमा भने उनी भद्र व्यक्तिको रुपमा परिचित छन् ।‘फिल्म करियरको सुरुवाती दिनमा मैले गरेको भिलेन भूमिका दर्शकले मनपराए ।’ ग्रोबर भन्छन्, ‘हालसम्म राम्रो भूमिका निर्वाह गरेको फिल्महरुमा काम गरेपनि ब्याडम्यानको रुपमा दर्शकले मलाई मनपराएका छन् ।’ त्यसो त उनी तुलनात्मक रुपमा फिल्ममा हिरोभन्दा भिलेन बन्न सबैभन्दा गाह्रो हुने बताउँछन् । ‘फिल्ममा राम्रो अभिनय गर्ने कलाकारहरु ब्याडम्यान बन्न सक्छन् । हिरो हुनलाई राम्रो लुक्स र मध्यम स्तरको अभिनय क्षमता भए पुग्छ ।’ ग्रोबरका अनुसार बलिउडका चर्चित भिलेनहरु अम्जाद खान, अम्रिस पुरी, डेनी डेन्जोङ्पा, किरण कुमार, रामा सेट्टी र शेर खान लगायत राम्रा कलाकार हुन् ।

उनले अभिनेत्री मनिषा कोइराला, कट्रिना कैफ, विपाशा बासु र डायना हेडेन लगायतसँग अभिनय गरिसकेका छन् । सन् १९८० मा निर्माण भएको ‘हम पाँच’ फिल्मबाट अभिनय यात्रा सुरु गरेका अभिनेता ग्रोबर ‘ब्याडम्यान’ उपाधीबाट बलिउडमा चर्चित छन् । झण्डै ४० वर्ष बलिउडमा बिताइसकेका उनले विभिन्न भूमिकामा अभिनय गरिसकेका छन् । ‘बलिउड यात्राको क्रममा सबै खालको भूमिकामा अभिनय गरिसकेको छु । मेरो ब्रान्डचाँहि ‘ब्याडम्यान’को रुपमा स्थापित भएको छ ।’त्यसो त उनी पहिलो बलिउड कलाकार हुन् जसले हलिउड र अन्तराष्ट्र्रिय फिल्महरुमा समेत सफलता पाएका छन्। ‘म पहिलो बलिउड कलाकार हुँ, जसले संसारभरका फिल्महरुमा काम गरिरहेको छु । भिलेनको रुपमा अभिनय गर्दा धेरै कुराहरु आफ्नै अभिनयबाट सिक्ने अवसर पाएको हुँदा सबैखालका फिल्ममा काम गर्न सकिरहेको छ ।’

राम्रा कलाकारले हिरो र भिलेनभन्दा कुलश अभिनयमा जोड दिने तर्क उनको छ । संसारभरका चार सयभन्दा बढी फिल्ममा काम गरिसकेका ग्रोबर भन्छन्, ‘हिरो बनेर स्थापित हुने रहर कहिल्यै आएन । भिलेन भएर अभिनयको विभिन्न पक्षलाई स्थापित गर्न हर प्रहर लागिरहेको हुन्छु ।’फिल्म सुटिङको दौरान राजधानीमा भेटिएका अभिनेता ग्रोबर नेपाली भाषामा कुराकानी गर्न प्रयासरत देखिए । सुटिङस्थलमा शुभचिन्तकबाट घोरिएका उनी आफूलाई सम्हाल्दै नेपालीमा भन्छन्,‘आउनुस् एउटा फोटो खिचिहालौं ।’अभिनेत्री मनिषा कोइरालाको विवाह समारोहमा सहभागि हुन सात वर्षअघि नेपाल आएका ग्रोबर नेपाली संस्कृति, परम्परा र भाषाबारे जानकार छन् । यसपटक नेपाल घुम्ने योजना पुरा हुन नसकेकोमा भने खिन्न देखिए । ‘अभिनेत्री मनिषा कोइरालाको मुम्बईस्थित घर हाम्रो लागि नेपाल हो । जहाँ नेपाली संस्कृति, खाना र परम्पराको झलक पाइन्छ । यसले मलाई नेपाल आएर नेपाली संस्कृति, परम्परा र भाषा बुझ्न प्रोत्साहित गरिरहेको थियो । यो मेरो दोस्रो नेपाल भ्रमण भएपनि सुटिङको व्यस्तताले पशुपतिनाथ बाहेक घुम्न पाएको छैन्।’

Leave A Reply

Your email address will not be published.