वामगठबन्धनका हितमान शाक्य वा कांग्रेसका राजन केसी?
काठमाडौं: काठमाडौं क्षेत्र नम्बर १० मा पर्ने कीर्तिपुरका मतदाताले नयाँ उम्मेदवार खोज्ने गरेका छन् । यो क्षेत्रबाट अहिलेसम्म भएका निर्वाचनमा हरेक निर्वाचनमा नयाँ उम्मेदवारले जित्दै आएका छन् । एकपटक जितेका उम्मेदवारले कीर्तिपर क्षेत्रको विकास निर्माण र स्थानीयनको अपेच्छाअनुसार काम गर्न नसकेको भन्दै नयाँ उम्मेदवार खोज्ने गरेका हुन् ।आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा कीर्तिपुर र आसपासका क्षेत्रलाई परिवर्तनका निम्ति फरक पार्टी तथा नेता खोज्ने स्थानीय मतदाता बताउँछन् । यसअघिको स्थानीय चुनावमा यो क्षेत्रमा पर्ने तीन वटा नगरपालिकामध्ये दुईवटामा एमालेले जित हात पारेको छ । यस क्षेत्रमा लोकतान्त्रिक र वाम गठबन्धनको तुलना गर्दा वाम गठबन्धनसँग १२ हजार मत बढी छ ।
यसअघि ०७० को संविधानसभामा कांग्रेसका राजन केसीलाई जिताएका कीर्तिपुरवासीले त्यसअघि ०६४ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमला दाहाललाई जिताएका थिए । केसी अहिले पनि यस क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् । उनीसँग प्रतिस्पर्धामा उत्रिएका छन वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हितमान शाक्य ।०५६ र ०५१ सालको संसदीय चुनावमा कृष्णगोपाल श्रेष्ठले जितेको यो क्षेत्रमा ०४८ सालको संसदीय चुनावमा एमालेका तत्कालीन महासचिव मदन भण्डारीले जितेका थिए । यस क्षेत्रमा कसलाई जिताउने भन्नेबारे नयाँ उम्मेदवार खोज्ने कीर्तिपुर र आसपासका मतदाता निर्णायक हुने स्थानीय राजकरण नकर्मी बताउँछन् । ‘यसअघिका नेताले आफूले गरेको वाचा पूरा नगरेकाले अर्कोपटक अर्कैलाई भोट दिने गरेका हुन्’, उनले भने । यस पटकको चुनावमा पनि पहिले प्रतिबद्धता जनाएका उम्मेदवारको काम हेरेर मात्रै भोट दिने नकर्मीको भनाइ छ ।
‘हरेक चुनावमा नेता–कार्यकर्ता भोट माग्न आउँदा यस्तो र उस्तो गर्छु भन्छन् । अर्को चुनाव आउँदा पनि यहाँको समस्या ज्यूँकात्यूँ हुन्छ’, उनले भने । अहिले वाम र लोकतान्त्रिक गठबन्धनले आआफ्नै तर्क दिएर भोट मागिरहेका छन् । तर, कसलाई भोट दिने अहिल्यै तय नभएको नकर्मीको भनाइ छ । काठमाडौंमा दोस्रो चरणमा मंसिर २१ गते चुनाव हुने भएकाले यसबारे निर्णय गर्ने समय भएको उनी बताउँछन ।कीर्तिपुर निवासीले एमालेका तत्कालीन महासचिव मदन भण्डारी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चुनाव जिताएको हो । यो क्षेत्रबाट एमालेकै कृष्णगोपाल श्रेष्ठलाई दुईपटक जिताए पनि यो क्षेत्रको मुद्दा उठाउन नसकेको स्थानीय बृजेन्द्र महर्जनको दाबी छ । ‘एकपटक जितेका नेताले राम्रो काम गर्न खोजे दोहोर्याएर जिताउने र राम्रो गर्न नसके अर्को विकल्प खोज्ने स्थानीयको विशेषता नै हो’, उनले भने ।
यसपटक प्रतिनिधिसभा र प्रदेशसभा गरी दुईवटा चुनाव एकैपटक हुँदै छ । वाम र लोकतान्त्रितक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने भए पनि पुरानै उम्मेदवार वा नयाँ कसले बाजी मार्ला अहिल्यै अड्कल गर्न गाह्रो हुने कीर्तिपुरका युवा मतदाता बद्री महर्जनको बुझाइ छ । स्थानीय उम्मेदवार भएको अवस्था र उसले चित्तबुझ्दो काम गरेको छ भने सोही व्यक्ति पनि मतदाताको रोजाइ हुन सक्ने महर्जन बताउँछन् ।अर्का स्थानीय आशारत्न बज्राचार्यले पटक–पटक मत दिएर पठाएका नेताले आफ्नो दायित्व पूर्णरूपमा निर्वाह गर्न नसकेकाले नै कीर्तिपुरवासीले नयाँ उम्मेदवार खोज्ने गरेको बताए । उनले भने, ‘यसपटक पनि विभिन्न राजनीतिक दलका उम्मेदवार घरघरै आइरहेका छन् । नारामा सबैले हाम्रो मुद्दा उठाए पनि व्यावहारिक रूपमा कार्यान्वयन गर्न सक्ने आधार हेर्न जरुरी छ ।’
कीर्तिपुर, दक्षिणकाली र चन्द्रागिरिको दुईदेखि ११ वटासम्मका तीन वटा नगरपालिका रहेको यो क्षेत्रमा स्थानीय प्रतिनिधिले बढी प्राथमिकता पाउने कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार राजेन्द्रकुमार (राजन) केसीले बताए । ‘विगतमा पनि स्थानीय प्रतिनिधिलाई विश्वास गरेको ठाउँ भएकाले यसपटक मलाई दोहो¥याउने पक्का छ’, केसीले भने । केसीले ०७० को संविधानसभा निर्वाचनमा प्रचण्डलाई भारी मतले पराजित गरेका थिए । अहिले वाम गठबन्धनका उम्मेदवार पाहुना भएकाले आफ्नो जित सुनिश्चित भएको उनको दाबी छ । स्थानीय मुद्दा उठाउन र जनअपेक्षाअनुसार काम गर्न आफू सफल भएकाले वाम गठबन्धनलाई पराजित गर्ने केसीको विश्वास छ ।
०६४ सालको संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट विजयी हितमान शाक्य यसपटक काठमाडौं–१० बाट चुनाव लड्दै छन् । माओवादी केन्द्रबाट प्रतिस्पर्धामा उत्रेका शाक्य अबको आवश्यकता स्थिर सरकार हुनुपर्ने भएकाले आफूलाई मत दिनेमा उनी पनि विश्वस्त छन् । वाम गठबन्धनले उठाएको एजेन्डा समृद्धि भएको र यसअघि स्थानीयको मत परिणाम हेर्ने हो भने वाम गठबन्धनको १२ हजार बढी मत भएकाले पनि आफ्नो जित सुनिश्चित भएको शाक्यको दाबी छ । ‘अर्को कुरा कीर्तिपुर र यो क्षेत्रका मतदाताले हरेक पटक नयाँ उम्मेदवार खोज्ने गरेका छन् । यस आधारले पनि मेरो जित सुनिश्चित छ’, उनले भने ।
यस क्षेत्रबाट विवेकशील साझा पार्टीका प्रदीप ढकाल, राष्ट्रिय जनमोर्चाका गणेशबहादुर कुँवर, संघीय समाजवादी फोरमका रामलाल श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका हरिकुमार महर्जन, नेकपा मालेका कृष्णकुमार श्रेष्ठ, कांग्रेस (बीपी) का प्रणय सिंह, राजपाका अर्जुनकुमार रञ्जित र नयाँ शक्तिका पञ्चलाल महर्जन प्रतिस्पर्धामा उत्रिएका छन् । प्रदेशसभाका दुई सिटमा भने यो क्षेत्रमा दलका २८ जना उम्मेदवार छन् । यो क्षेत्रमा कुल मतदाता संख्या ७१,२०१ छ ।