We Star Nepal
News From Nepal

निर्वाचन अनुगमनमा सहसचिव नेतृत्वको ३७ टोली खटाइयो

0 324

काठमाडौं : निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रको अनुगमन गर्न सहसचिवको नेतृत्वमा टोली खटाएको छ। प्रत्येक क्षेत्रमा सहसचिवको नेतृत्वमा टोली खटाइएको हो।निर्वाचन टोलीलाई विभिन्न महत्वपूर्ण जिम्मेवारी दिएको छ। जसअनुसार टोलीले आफ्नो क्षेत्रमा जुनसुकै पक्षबाट आचारसंहिता उल्लंघन भएको पाइएमा तत्काल रोक्न लगाई कानुनबमोजिम कारबाही गर्न सक्नेछ। आवश्यक परेमा टोलीले प्रमुख जिल्ला अधिकारीको सहयोग लिन पनि सक्नेछ।

टोलीले निर्वाचन क्षेत्रमा आचारसंहिता पालना गर्न/गराउन निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गर्ने, राजनीतिक दल उम्मेदवार, निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ तथा आचारसंहिताविपरीत काम गरेमा कारबाही गर्नेलगायत १५ वटा अधिकार टोलीले पाएको छ।

निर्वाचन आयोगले स्थानीय निर्वाचनमा पनि सहसचिव नेतृत्वमा यस्तै टोली पठाएको थियो तर त्यतिखेर टोलीले औपचारिकता मात्रै निर्वाह गरेको भन्दै आलोचना भएको थियो। त्यसैले आयोगले यसपटक टोलीलाई पनि कडाइ गरेको छ। टोलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अनुगमन निर्देशिकाअनुसार क्षेत्रमा भएमा निर्वाचनसम्बन्धी महत्वपूर्ण गतिविधि तथा समस्याबारे आयोगको योजना शाखामा प्रतिवेदनसमेत पेस गर्नु पर्नेछ। टोलीले फर्किएलगत्तै अनुगमन अवधिमा भएका सबै गतिविधि र प्रगति समेटिएको विस्तृत प्रतिवेदनसमेत बुझाउनुपर्ने आयोगले जनाएको छ।

Leave A Reply

Your email address will not be published.