‘वामपन्थी हावी भए लोकतन्त्र खतरामा’:देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले वामपन्थी शक्ति हावी भए लोकतन्त्रै खतरामा पर्ने आरोप लगाएका छन् । प्रदेश ७ मा बुधबार आयोजित कांग्रेसको पहिलो चुनावी सभालाई लम्कीमा सम्बोधन गर्दै पार्टी सभापतिसमेत रहेका देउवाले यो ऐतिहासिक निर्वाचन भएकाले सबै लोकतन्त्रवादी एक ठाउँमा उभिनुपर्ने बताए । ‘यस पटकको लडाइँ लोकतन्त्रवादी र वामपन्थीबीच भएकाले पनि जनता लोकतन्त्रको पक्षमा उभिने छन्,’ उनले भने, ‘वामपन्थी शक्तिहरू हावी हुँदा लोकतन्त्रमाथि सदैव खतरा भइरहनेछ, यसैले जनताले यस पटक कांग्रेसलाई साथ दिनुपर्नेछ ।’ राजनीतिक अस्थिरताका कारण आफूले धेरै काम गर्न नसकेको दावी गर्दै प्रधानमन्त्रीले भने, ‘संविधान कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकास गर्न कांग्रेसलाई जिताउनु आवश्यक छ, राजनीतिक स्थायित्व दिन पनि कांग्रेसको नेतृत्व आवश्यक छ ।’
सभापछि धनगढीमा क्षेत्रीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले केही समययता निर्वाचनविरोधी गतिविधि बढ्न थालेकाले गम्भीर हुन निर्देशन दिए । ‘केही जिल्लामा निर्वाचन प्रक्रियालाई असर पुर्याउने गरी उम्मेदवार लक्षित गतिविधि भइरहेकाले गम्भीर हुनोस्,’ उनले भने, ‘निर्वाचनविरोधी गतिविधि, अस्वस्थ प्रतिस्पर्धा, धम्की, चन्दा संकलनजस्ता गतिविधिलाई पनि नियन्त्रण गर्नोस् ।’