We Star Nepal
News From Nepal

निरन्तर विस्फोट:सुरक्षा निकाय क गर्दै छ

0 334

काठमाडौं- निर्वाचन प्रचारप्रसारमा व्यस्त उम्मेदवारलाई लक्षित गरी निरन्तर भइरहेका विस्फोटदेखि भौतिक आक्रमणसमेतका घटना रोकिने संकेत देखिएको छैन । निरन्तर भइरहेका यस्ता घटनाको जिम्मेवारी पनि कसैले लिएको छैन ।बिहीबारमात्रै उम्मेदवार लक्षित विस्फोटका तीन घटना भएका छन् । त्यसको केही घन्टा अघिमात्रै प्रधानमन्त्री देउवाले धनगढी, कैलालीमा आयोजित पत्रकार सम्मेलनमा सुरक्षा व्यवस्था कडा पारिएको बताएका थिए । ‘जनताले निर्धक्क भएर स्वविवेकीय अधिकार पाऊन् भन्ने हिसाबले सुरक्षाको अत्यन्त राम्रो व्यवस्था मिलाइएको छ, जनताले निर्धक्क भएर मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ’, देउवाले धनगढीमा भने ।

सुरक्षा ब्रिफिङसमेत सुन्न नभ्याएका प्रधानमन्त्री देउवाले सो अभिव्यक्ति दिएको केही घन्टाभित्रै उनको पार्टी कांग्रेसकै रोल्पाका उम्मेदवार एवं सिँचाइ राज्यमन्त्री अमरसिंह पुनलाई लक्षित गरी विस्फोटन गराइएको छ । रोल्पा सदरमुकामबाट जौलीपोखरीमा आयोजित चुनावी सभामा भाग लिन जाँदै गर्दा पुनलाई लक्षित गरी विस्फोट गराइएको हो । मानवीय र भौतिक क्षति नभए तापनि आतंकित बनाउन विस्फोट गराएको राज्यमन्त्री पुनले बताएका छन् ।त्यसलगत्तै बाग्लुङको गल्कोटमा वाम गठबन्धनको चुनावी सभास्थल नजिक बम विस्फोट गराइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुग्नुअघि सभास्थलनजिक विस्फोट गराइएको हो । विस्फोटपछि धुवाँको मुस्लो देखिएको थियो । उक्त विस्फोट भएको केही समयपछि पुगेका दुवै शीर्ष नेताले कार्यक्रमलाई सम्बोधन गरेर फर्केका थिए ।

बिहीबारै साँझ गोरखामा माओवादी केन्द्रका गोरखा–२ का उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गरी बम विस्फोट गराइएको छ । गोरखा नगरपालिका–१० को सर्भीखोला नजिक भएको विस्फोटबाट मानवीय क्षति भने भएको छैन तर खोलाछेउमा राखिएको बा२च ९४६३ नम्बरको गाडीका सबै सिसा फुटेका छन् ।यसअघि पनि वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरी अन्य विस्फोट पनि भइसकेका छन । विस्फोट र गोली प्रहारका ७ घटनामध्ये ६ घटना वाम उम्मेदवार लक्षित छन् ।सबैभन्दा खतरनाक आक्रामण भोजपुरमा प्रदेशसभा उम्मेदवार शेरधन राईमाथि गरिएको थियो । कात्तिक २८ गते भएको सकेट बम प्रहारबाट पूर्व सञ्चार मन्त्रीसमेत रहेका राई चढेको बा१५ज ५६०८ गाडीमा समेत क्षति भएको थियो भने २१ जबाफी फायर पनि गरिएको थियो । ट्याम्केमैयुम गाउँपालिका–८ मा भएको सो घटनामा गाडीमा क्षति पुग्नुका साथै राईका सुरक्षागार्ड असई डिल्ली देवकोटाको बायाँ हातमा चोट लागेको थियो ।

त्यसैगरी पश्चिम रुकुममा बिना विभागीय मन्त्री जनार्दन शर्मालाई लक्षित गरी विस्फोट गराइएको थियो । रोल्पाबाट प्रतिनिधिसभा उम्मेदवार वर्षमान पुनलाई लक्षित गरी ओत–घर्तीगाउँबीचमा रहेको भित्तावाङमा एम्बुस विस्फोट गराइएको थियो । कात्तिक २५ गते भएको उक्त विस्फोटमा सुरक्षाकर्मीका गाडीमा सामान्य क्षति पुगेको थियो । त्यसको भोलिपल्ट दुईखोली गाउँपालिकाको चुनावी सभा सकेर बाघमारा जाँदै गर्दा जंगलको बीचमा पुनमाथि गोली प्रहार भएको थियो, लगत्तै प्रहरीले १० राउन्ड जबाफी फायरिङ गर्नुपरेको थियो ।उम्मेदवार लक्षित विस्फोटको सुरुआत कात्तिक २४ मा भएको थियो । गृहजिल्ला रुकुममा बिनाविभागीय मन्त्री शर्मालाई लक्षित गरी २ वटा वम एकैपटक प्रहार गरिएको थियो । चौरहजारीको चुनावी सभा र घरदैलो सम्पन्न गरी सानोभेरी गाउँपालिकाको सिम्ली जाँदै गर्दा सडकमाथिबाट शर्मालाई लक्षित गरेर २ वटा बम एकैपटक प्रहार गरिएको थियो । तीमध्ये एउटा शर्माको गाडीसामुन्ने विस्फोट भएको थियो भने अर्को विस्फोट हुन सकेको थिएन ।

सो घटनापछि दिनदिनै विस्फोटका घटना भइरहेका छन् । सुरक्षा निकाय र एमाले–माओवादी गठबन्धनले भने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले विस्फोट प्रयास गरिरहेको आरोप लगाइरहेका छन् । एमाले र माओवादीको बुधबार भएको संयुक्त पत्रकार सम्मेलनमा चन्दको नामै लिएर विस्फोटन नगर्न चेतावनी दिइएको थियो । ‘विप्लव (चन्द) भाइ, बरु डोकोमा बिरामी बोक, यो बम पडकाउने काम रोक’, एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक रुपमै भनिसकेका छन । त्यसमाथि माओवादी अध्यक्ष पुष्पकमल दाहालले विप्लव र सरकारको मिलोमतोमा आक्रमण भएको आरोपसमेत लगाएका छन् । विस्फोटमा संलग्न भएको भन्दै पक्राउ परेका विप्लवका कार्यकर्ता छुटाउन कांग्रेस नेताले दबाब दिएको दाबी गर्दै ओली र दाहालले उक्त आरोप लगाएका हुन ।

यसबारे जिज्ञासा राख्दा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बमले पार्टीको उम्मेदवारमाथि आक्रमण गर्ने कुनै योजना नभएको बताए । ‘पार्टीले यो निर्वाचन बहिष्कार गरेको सत्य हो । यसमा हाम्रो सांकेतिक विरोध निरन्तर रुपमा रहिरहेको छ,’ बमले नागरिकसँग भने, ‘उम्मेदवारमाथि आक्रमण उनीहरुले नै मिलिभगतमा गराइरहेका छन् र दोष हाम्रो पार्टीलाई दिइएको छ । यो गलत छ ।’ बमका अनुसार उम्मेदवारमाथि भएका शृंखलाबद्ध आक्रमणको सत्यतथ्य छानबिन गरे आफैं खुलस्त हुनेछ ।

विस्फोटनको सिलसिला
कात्तिक ३०– वाम चुनावीसभामा, गल्कोट, बाग्लुङ, विस्फोट
कात्तिक ३०– अमरसिंह पुन, घोडागाउँ, रोल्पा, बम प्रहार
कात्तिक३०– नारायणकाजी श्रेष्ठ, गोरखा–२० सिर्भिखोला, बम विस्फोट
कात्तिक २८– शेरधन राई, ट्याम्केमैयुम, भोजपुर, बम प्रहार
कात्तिक २६– वर्षमान पुन, गोली प्रहार
कात्तिक २५– वर्षमान पुन, भित्तावाङ, रोल्पा, एम्बुस विस्फोट
कात्तिक २४– जनार्दन शर्मा, चौरहजारी–८ गोइरी, बम विस्फोट
कात्तिक ३०– वाम चुनावीसभामा, गल्कोट, बाग्लुङ, विस्फोट
कात्तिक ३०– अमरसिंह पुन, घोडागाउँ, रोल्पा, बम प्रहार
कात्तिक३०– नारायणकाजी श्रेष्ठ, गोरखा–२० सिर्भिखोला, बम विस्फोट
कात्तिक २८– शेरधन राई, ट्याम्केमैयुम, भोजपुर, बम प्रहार
कात्तिक २६– वर्षमान पुन, गोली प्रहार
कात्तिक २५– वर्षमान पुन, भित्तावाङ, रोल्पा, एम्बुस विस्फोट
कात्तिक २४– जनार्दन शर्मा, चौरहजारी–८ गोइरी, बम विस्फोट

Leave A Reply

Your email address will not be published.