नायिका निशा अधिकारीले निर्माण गरेको चलचित्र ‘झ्यानाकुटी’ आजबाट देशभरका सिनेमा हलमा प्रदर्शन भएको छ । चलचित्रले मल्टिप्लेक्स हलमा समेत सो पाउन सफल भएको छ । सौगात मल्ल र बेनिशा हमालको मुख्य भूमिका रहेको ‘झ्यानाकुटी’ लाई सिमोस सुनुवारले निर्देशन गरेका छन् । फिल्म ‘झ्यानाकुटी’ले हिजो सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट प्राप्त गरेको छ ।
पिजी सर्टिफिकेटको नियम अनुसार अब यो सिनेमालाई हेर्न १६ वर्ष भन्दा कम उमेरका दर्शकले अभिभावकको निगरानीमा हेर्नु पर्नेछ । ‘झ्यानाकुटी’मार्फत नायिका नीशा अधिकारीले पहिलो पटक फिल्म निर्माण गरेकी हुन् । सिनेमाले दर्शकको समय र पैसाको सदुपयोग हुने भएको बताउदै दर्शकहरुलाई ढुक्क हुन निशाले आग्रह गरेकी छिन् ।
गाउँले परिवेशको शुद्ध नेपाली कथामा निर्माण भएको सिनेमालाई सेन्सरले पिजी दिएता पनि सिनेमा हेरेपछि आफ्नै गाउघरको याद आउने निर्देशक सिमोसले दाबी गरेका छन् । फिल्मको निर्देशक सुनुवारकै सम्पादनमा तयार भएको सिनेमामा सौगात र बेनिशाका साथ पुष्कर गुरुङ, अस्टल गुरुङ, सुमी मोक्तान लगायत कलाकारको अभिनय रहेको छ । सिनेमामा सनिश गुरुङ र विकाश चौधरीको संगीत रहेको छ भने प्रदीप भारद्वाजको लेखनलाई हरि हुमगईले छायाँकन गरेका छन् ।
अहिले सिने बजारमा ‘झ्यानाकुटी पोज’निकै लोकप्रिय भइरहेको छ । फोटो कन्टेस्टमा आम दर्शक देखि लिएर सेलेब्रेटीले पनि सहभागिता जनाईरहेका छन् । आफ्नो प्रेमी प्रेमिकालाई जुरुक्कै बोकेका फोटोहरु सामाजिक संजालमा भाईरल भइरहेका छन् । फोटो अपलोड गर्ने मध्ये सबै भन्दा बढी लाइक पाउनेले प्रिति चाउचाउको तर्फबाट नगद रु ५१ हजार प्राप्त गर्ने छ ।