काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत नपाउने लगभग निश्चित भएको छ। विश्वासको मत लिने निर्णय गरेका कारण सरकारका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी थिइन्।
बालुवाटार पुगेका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले विश्वासको मत नदिने र विपक्षमा पनि नजाने प्रधानमन्त्रीलाई सुनाएका थिए।
जसपा तटस्थ बस्ने र अर्को समीकरणको सरकार बन्ने अवस्थामा पनि सहभागी नहुने भएपछि अब प्रतिनिधि सभा विघटन हुने संवैधानिक बाटो खुलेको छ।
प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने अवस्था र विकल्पमा दुई वा त्यो भन्दा बढी दलको सरकार बन्ने अवस्था नआउँदा फेरि राष्ट्रपति भण्डारीले ठूलो दलको हैसियतमा ओलीलाई नै सरकार बनाउनका लागि आह्वान गर्नेछिन्।
त्यस बेला पनि सरकार बन्ने अवस्था नआउँदा प्रतिनिधि सभा स्वतः विघटन भई मुलुक चुनावतिर जाने निश्चितप्रायः छ।