कोरोनाभाइरसले आक्रान्त बनेको नेपालमा नयाँ आशा पलायो, घट्न थाल्यो संक्रमण दर र मृतकको संख्या, बढ्दै निको हुने दर
काठमाडौं । नेपालमा कोरोनाभाइरसका सात हजार ३१६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १९ हजार ५३९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा छ हजार ६४८ जना कोरोनामुक्त भएको जनाएको छ । सोही अबधिमा १४५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार देशभरमा भने सात हजार ३६८ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या क्रमशः घट्दो क्रममा रहेको छ । यस्तै मृतकको संख्या पनि घट्दो क्रममा रहेको छ भने निको हुने दर बढ्दै गएको देखिएको छ । कोरोनाको दोस्रो लहर बढ्दै गएपछि काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्ला निषेधाज्ञा लगाइएसँगै संक्रमण दर घट्दै गएको देखिएको हो । यस्तै मृतकको संख्या पनि घटेको छ । बागमती र कर्णाली प्रदेशको अवस्था के छ? कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदै गएपछि कोरोनाभाइरस सङ्क्रमण भएका बिरामीलाई शय्या पाउन निकै कठिन हुने गरेको बिरामीका आफन्तहरूले बताएका छन्। बिरामीलाई एम्बुलेन्समा राखेर ४ घण्टासम्म अस्पतालहरू घुमाउँदा बल्ल बल्ल शय्या पाएको सैनिककुमार महतोले बताए। उनी भन्छन्, “बिरामीलाई शय्या पाउन पनि सोर्सफोर्स चाहिँदो रहेछ नत्र मुस्किल छ। अस्पतालमा कोरोनाभाइरस सङ्क्रमितका बिरामीले भरिएपछि अस्पतालमा बिरामीलाई शय्या र अक्सिजनको अभाव हुँदै गएको भरतपुर अस्पतालका कोभिड संयोजक डाक्टर प्रमोद पौडेलले बताए। नेपालको सात प्रदेशको तुलनामा बागमती प्रदेशमा कोरोनाभाइरसको सङ्क्रमण उच्च रहेको छ। अस्पतालहरूमा शय्याको अभाव हुँदा कतिपय बिरामीको अस्पताल चहार्दा चहार्दै मृत्यु हुने गरेको छ। चितवनमा विभिन्न जिल्लाबाट कोभिडका बिरामीहरू आउने गरेका छन्। दैनिक बिरामीहरू थपिने क्रम छ। त्यसैले शय्या र अक्सिजनको अभाव हुन थालेको भरतपुर अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीले बताए। बागमती प्रदेशको राजधानी मकवानपुरमा रहेको हेटौँडा अस्पतालमा पनि बिरामीको चाप बढ्दै गएको र अधिकांश बिरामीलाई अक्सिजनको आवश्यकता पर्ने गरेको कारण अक्सिजनको अभाव हुँदै गएको डाक्टर सागर काफ्ले बताए।