के चिनको खोप परिक्षण मात्र हो या सुरक्ष्या खोप हो ?
जूनको पहिलो साताभित्र १० लाख ल्याउने तयारीमा सरकारले जून महीनाको पहिलो साताभित्र चीनबाट भेरोसेल खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि स्वास्थ्य मन्त्रालय हुँदै परराष्ट्र मार्फत चिनियाँ पक्षलाई पत्राचार समेत भईसकेको उच्च सरकारी स्रोतले अनलाइनखबरलाई बतायो । बेइजिङस्थित नेपाली दूतावासले पहिलो चरणमा २० लाख खोप खरीदका लागि चिनियाँ पक्षसँग समन्वय गरिरहेको छ । चिनियाँ पक्षले जूनको पहिलो साताभित्र १० लाख खोप उपलब्ध गराउने र सकेसम्म बाँकी १० लाख पनि दिने आश्वासन दिएको छ । नेपालले चीनसँग प्रतिडोज कति रुपैयाँमा खोप खरीद गर्न लागेको हो भन्ने विषयमा केही पनि बताइएको छैन । अन्य मुलुकले चीनसँग प्रति डोज कतिमा खोप खरीद गरिरहेका छन् भन्ने सम्बन्धमा कुनै पनि सार्वजनिक जानकारी छैन । नेपाल सरकार र चीन सरकार बीचमा मूल्यको विषय टुंगो लागेपछि नेपाल सरकारले खोप उत्पादक कम्पनीसँग सम्झौता गरेर खोप ल्याउनेछ । चीनबाट खोप ल्याउने प्रक्रियामा शुरूदेखि नै अलमल र आलटाल गरियो । खरिद गरेर ल्याउने प्रक्रिया त ढिलो भयो नै चीनले अनुदानमा उपलब्ध गराएको खोप नेपाल आउन नै केही हप्ता लाग्यो । यस पछाडिको कारण थियो, चीनले नेपाललाई सो खोप आफैं ढुवानीको व्यवस्था गरेर लैजान भनेको थियो । नेपालको अपेक्षा भने चीनले सो खोप काठमाडौंसम्म ल्याइदेओस् भन्ने थियो । खोप ढुवानीको व्यवस्था आफैं गर्न चीन सरकारले नेपाललाई एक औपचारिक पत्र नै पठाएको थियो । खोप ल्याउने जहाज व्यवस्था गर्न सरकारलाई केही हप्ता नै लाग्यो । नेपाल एयरलाइन्सको चार्टर्ड विमानले बेइजिङबाट खोप ल्याएको थियो । चीनले आठ लाख खोप नेपाललाई अनुदानमा दिएको छ । उसले थप खोप अनुदानमा दिने सम्भावना कम रहेको छ । त्यसैले अब सरकारले खोप खरीद नै गर्नुपर्ने हुन्छ । अन्य मुलुकले चीनको खोप किन्न शुरू गर्दा हाम्रो ध्यान भने सम्पूर्ण रूपमा भारत तर्फ नै थियो । मन्त्रालयका एक अधिकारीका अनुसार भारत रिसाउने हो कि भन्ने डरले सरकारले समयमा नै खोप किन्ने प्रयास गरेन । भारतले नै नेपाललाई चाहिने जति खोप उपलब्ध गराउने आश्वासन दिएकाले पनि सरकारले चीनबाट खोप खरीदका सम्बन्धमा खासै तदारुकता देखाएन । उसो त चिनियाँ खोपलाई नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिने कार्य नै ढिलो भएको थियो । फेब्रुअरीको तेस्रो साता मात्र सरकारले सिनोफार्मको भेरोसेल खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको थियो । मध्यपूर्वको युनाइटेड अरब इमिरेट्स (यूएई) ले सन् २०२० को डिसेम्बर महीनामा नै आफ्ना नागरिकको लागि चिनियाँ खोप अभियान संचालन गरेको थियो । शुरूमा चीनको खोपको प्रभावकारिता र विश्वसनीयताको बारेमा विभिन्न प्रश्न उठेका कारण पनि सरकारले चीनको खोप ल्याउन त्यति तदारुकता नदेखाएको एक उच्च सरकारी अधिकारीले बताए ।