वर्षमानको ओलीलाई सुझाव शहरमा बंगलादेशको हावा चल्न थालेको छ, सचेत हुनुस्
ओलीलाई वर्षमानको सुझाव स् शहरमा बंगलादेशको हावा चल्न थालेको छ, सचेत हुनुस्
४ भाद्र २०८१, मंगलबार
रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचार र राज्य दोहनमा मुछिएका मन्त्रीहरूलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ’ भन्दै हिँडेको टिप्पणी गरेका छन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासनका लागि भ्रष्टाचारविरुद्ध चालेको कदमबाट डराएर रातारात कांग्रेस–एमालेबीच सहमति भएको उनको आरोप छ ।
पार्टी सम्बद्ध विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी रोल्पाको २३औं सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरूको बीचमा बसेर भ्रष्टाचारीको मुख हेर्दिनँ भनेको सुन्दा मानिसहरू हाँस्ने गरेको बताए ।
पुनले माओवादी सशस्त्र जनयुद्ध, ०६२–०६३ को संयुक्त आन्दोलन, शान्तिप्रक्रिया, गणतन्त्र घोषणा र संविधानसभामार्फत संविधान निर्माणसम्म आउँदा कांग्रेस–एमालेलाई रूपान्तरण गरियो होला भन्ने आफूहरूको अनुमान पछिल्ला घटनाक्रमहरूले गलत साबित भएको तर्क गरे ।
उनले भुटानी शरणार्थी र गिरीबन्धु टी(स्टेट प्रकरणमाथि छानबिन हुने भएपछि र बालुवाटारमा हडपिएको सरकारी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याउन थालेपछि अप्रत्याशित रुपमा कांग्रेस–एमालेबीच गठबन्धन भएको उल्लेख गरे ।
फरक प्रसंगमा प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारमा अर्थमन्त्री रहेका पुनले आफूहरु सरकारबाहिर आउनुपर्दा नआत्तिएको बताए ।
पुनले भ्रष्टाचारविरुद्ध र सुशासन कायम गर्न आफूहरूले सडक र सदनबाट सरकारलाई खबरदारी गर्ने चेतावनी दिए ।
तर, काँग्रेसकै वरिष्ठ नेताहरुले सरकार सय दिन मात्र टिक्ने बताउन थालेको उनको दाबी छ ।
उनले सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्न तत्व र बिचौलियाहरुको संरक्षण गरिरहे जनताले लखेट्ने चेतावनी दिए। पुनले बंगलादेशको राजनीतिक हावा काठमाडौंसहित देशका ठूला शहरमा चल्न थालेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई सचेत हुन आग्रह समेत गरेका छन् ।