संगीत गुरु चन्दनकुमारको ‘संगीत स्वराधना’ पुस्तक राष्ट्रियसभा अध्यक्ष दाहालद्धरा विमोचन
काठमाडौं । संगीत गुरु चन्दनकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘संगीत स्वराधना’ सार्वजनिक भएको छ । शनिबार राष्ट्रियसभा अध्यक्ष निवास बालुवाटारमा आयोजित समारोहमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले पुस्तक विमोचन गर्नभएको छ ।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बलिया राष्ट्रको सांस्कृतिक हस्तक्षेपबाट मौलिक कला–संस्कृतिलाई जोगाउन
संगीत क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएको छ ।
संगीत साधकदेखि संगीत विधामा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि समेत यो पुस्तक उपयोगी रहेको छ ।
पुस्तकमा संगीतका सैद्धान्तिक र व्यावहारिक दुवै पक्षको ज्ञान र विवेचना प्रस्तुत गरिएको लेखक श्रेष्ठको भनाई छ ।
वरिष्ठ संगीतकार दीपक जंगमले संगीतसाधकले समय खर्च गरेर तयार पारेको पुस्तक अवश्य पनि पठनीय हुने बताउनुभयो । लामो समयदेखि शास्त्रीय संगीतमा सक्रिय श्रेष्ठद्वारा लिखित उक्त पुस्तक शास्त्रीय संगीत बुझ्न र जान्न रुचाउनेका लागि उपयोगी हुने बताइएको छ ।
वरिष्ठ संगीतकार शुम्भजीत बास्कोटाले शास्त्रीय संगीतप्रेमीका लागि उक्त पुस्तक पठनीय हुने बताउनुभयो । अन्तर्राष्ट्रियरुपमै नेपालमा पनि यस्ता शास्त्रीय संगीतका गुरु छन् भनेर अवगत गराउन पुस्तकले योगदान दिने उनको तर्क छ । लेखक श्रेष्ठको संघर्षमय सांगीतिक जीवनले संगीतको सफलतामा पुग्न कति संघर्ष गर्नुपर्छ भन्ने कुरालाई पुस्तकले उतारेको उनको भनाइ छ ।
नेपाल संगीतकार संघका अध्यक्ष तथा संगीतकार चेतन सापकोटाले शास्त्रीय संगीत सिक्न र बुझ्न चाहनेका लागि यो पुस्तक पठनीय हुने बताउनुभयो ।
पुस्तकको मूल्य २ हजार ५०० रुपैयाँ राखिएको छ । ‘संगीत स्वराधना’को यो पहिलो भाग हो । यसको अन्य भाग पनि प्रकाशन गर्दै जाने लेखक तथा संगीत साधक श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा वरिष्ठ गायिका संगीता राना प्रधान, संगीतकार राजु सिंह, चेतन सापकोटा, गायकहरु सत्यराज आचार्य, स्वरुपराज आचार्य, शिव परियार, गायिका माण्डवी त्रिपाठी, गीतकार उत्तमबाबु श्रेष्ठ लगायत सहभागी थिए ।