पुलिस क्लबको काभा महिला भलिबल टोलीलाई बिदाइ
काठमाडौं । नेपाल भलिबल संघल माल्दिभ्समा आयोजना हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा भाग लिने नेपाल पुलिस क्लबको टोलीलाई बिदाइ गरेको छ ।
मंगलवार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दलगायतले पुलिस टोलीलाई बिदाइ गरेका हुन् ।
नेपालको लिगको विजेताका रुपमा पुलिसले काभा क्लब च्याम्पियनसिपमा भाग लिन लागेको हो ।
च्याम्पियनसिपका लागि पुलिसले राष्ट्रिय टोलीका सदस्य समेत रहेकी एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ ।
भदौ ३० देखि असोज ५ गते सम्म हुने च्याम्पियनसिपका लागि टोली भोली बिहीवार माल्दिभ्स जानेछ ।
सरस्वती, निरुता र सुमित्रा सहित पुलिसका ४ खेलाडी उषा भण्डारी, पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ गत महिना काभा नेसन्स लिगको रजत पदक विजेता टोली रहेका थिए ।