विपद्मा साथसाथ
राजमार्ग खुलाउँदै लेखनाथ
सिन्धुलीबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसद लेखनाथ दाहालले अविरल वर्षाले अवरुद्ध गरेका र भत्काएका सडक खुलाउने कार्यमा लगिरहेको जानकारी दिए ।
‘पहिलो प्राथमिकता आवतजावतका लाग सडकमार्ग खुलाउनु हो, यसैका लागि समन्वय गर्ने र पहल लिने काममा छु’ उनले भने, ‘तीन वटै तहको सरकारसँग समन्वय गरेर निजी क्षेत्रका साथीहरू र नेपाली सेनाको सहयोगमा काम भइराखेको छ ।’
दाहालका अनुसार बिपी राजमार्ग अन्तर्गत नेपालथोक धुलिखेल सडक खण्डको सिन्धुली तर्फको नेपालथोक, आपघारी, देवीस्थान, सिमाना खण्डको वैकल्पिक बाटो निर्माण भइराखेको छ । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीमाढी बजारबाट सोलाभन्जाङ, खनीयाँखर्क, खुर्कोट, खाल्टे, रामटार हुँदै नेपालथोकसम्मको राजमार्ग सुचारु भएको छ ।
वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको गढी दरबारदेखि चपौली, नागी हुँदै मझुवा गैरीगाउँसम्मको अवरुद्ध सडक खुलेको छ ।
सांसद दाहालका अनुसार खुर्कोटमा तत्काल बेलिब्रीज जडान कार्य सुरु भएको छ । यसका लागि स्थानीय सरोकारवालाहरू, प्रदेश र संघीय सरकारको समन्वयमा काम सुरु भएको छ ।
‘खुर्कोटमा बेलिब्रिज १५/२० दिनमा बनेर संचालनमा आउने विश्वास छ’ दाहालले भने । सिन्धुलीको खुर्कोटको पुल सुनकोसी नदीले बगाउँदा आवतजावत बन्द भएको छ । पुल भत्किंदा स्थानीय लगायत पूर्वका लाखौं नागरिक चाडपर्वको मुखमा प्रभावित भएका छन् ।
यस वर्षको बाढी र पहिरोबाट सिन्धुपाल्चोक पनि अति प्रभावित
सांसद माधव सापकोटा
यस वर्षको बाढी र पहिरोबाट सिन्धुपाल्चोक पनि अति प्रभावित छ । सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद माधव सापकोटा पहिरो पन्छाउने, प्रभावितको व्यवस्थापन गर्ने, राजमार्ग खुलाउने लगायतका काममा व्यस्त रहेको बताउँछन् ।
विपद्का बेला संघीय जनप्रनिधिको उपस्थितिले एकीकृत रूपमा उद्धार र व्यवस्थापनको कार्य गर्न सहज भएको सांसद सापकोटाको अनुभव छ ।
‘ब्युरोक्रेसीको आफ्नो च्यानल हुन्छ । सडक, पुल भत्किएपछि कसलाई भन्ने, के गर्ने भन्ने प्रक्रिया हुन्छ’ उनले भने, ‘तर, हामीले फिल्डबाटै कार्यालय प्रमुखसँग समन्वय गरेपछि काम छिटो हुँदोरहेछ ।’
सांसद सापकोटाको अनुभवमा हिम पाइपदेखि अन्य निर्माण सामग्री जुटाउन निजी क्षेत्रसँग समन्वय गर्न पनि विपद्को बेला सांसदले प्रभावकारी समन्वय गर्न सक्छन् । ‘फिल्डमा पुगेर हिम पाइप चाहियो, अन्य सामान चहियो भन्दा दबाब हुन्छ, सरकारसँग नभए निजी क्षेत्रले पनि उपलब्ध गराउँछन् र एकीकृत रूपमा काम हुन्छ,’ उनले भने ।
सांसद सापकोटाले अहिले राजमार्ग खुलाउने, मृतकको पोस्टमार्टम गराउने र अरु प्रतिकार्यका काममा समन्वयका काममा केन्द्रित रहेको जानकारी दिए ।
पहिरोबाट निकालिएका १० शव नेपाली सेनासँग समन्वय गरेर हेलिकप्टरमार्फत काठमाडौं पठाइएको र चार वटा शव स्थानीय स्तरमा उपलब्ध डाक्टरमार्फत पोस्टमार्टम गराएर अन्त्यष्टिको व्यवस्था गरिएको उनले सुनाए ।
स्थानीय सरकारले संघीय जनप्रतिनिधिको साथ पाउँदा विपद् व्यवस्थापनमा सहज महसुस गर्ने गरेको सांसद सापकोटाका अनुभव छ । विपद्पछि समेत प्रभावितको लागि दीर्घकालीन काम गर्नुपर्नेमा उनको जोड छ ।
‘पाकेको धानबाली भित्र्याउन भकारी र धोक्रो ठिक पारेर राखेको नागरिकको धानबाली बगरमा बदलिएको छ, अब खेतीयोग्य जमिन पनि बाँकी रहेन’ उनले भने, उहाँहरूलाई कति पीडा होला, यो पीडामा काम गर्नुपर्नेछ ।’
संघ र प्रदेश सरकारले तत्कालका लागि घोषणा गरेका राहतको सदुपयोग होस् र बढी प्रभावित पहिलो प्राथमिकतामा परून् भनेर चनाखो रहेको सांसद सापकोटाले सुनाए । उनी विदेश भ्रमण रद्द गरेर विपद्का बेला नागरिककहाँ गएको दाबी गर्छन् ।
सांसद सापकोटासहित बिभिन्न राजनीतिक दलका नेताहरूलाई यही असोज १४ गते र १५ गते एउटा सम्मेलनमा सहभागिताका लागि बेलायत आमन्त्रण गरेको थियो । तर, बाढी र पहिरोले आफ्नो निर्वाचन क्षेत्र प्रभावित भएपछि भ्रमण रद्द गरेको सापकोटाले जानकारी दिए ।
राजमार्ग खुलेपछि धेरै सहज हुने भएकाले म राहत, उद्धारका साथसाथै राजमार्ग खुलाउन केन्द्रित छु’ उनले भने ।
सांसद दाहालले विपद् व्यवस्थापनका लागि तत्कालीन, मध्यमकालीन र दीर्घकालीन रूपमा काम गर्नुपर्ने र यसका लागि तीनवटै सरकारसँग समन्वय गरिरहेको सुनाए ।
उनका अनुसार वर्षाले यसपटक सबैभन्दा बढी प्रभावित गरेको सिन्धुलीको नेपालथोक, मुलकोक र खुर्कोट हो । पर्यटक हब नै रहेको मुलकोटमा करोडौं लगानीका रिसोर्टहरू पुरिएका छन् ।
सुनकोशी आसपासका १५ सय विगाहा खेतीयोग्य जमिन बगाएको दाहालले बताए । ‘यसका अलावा कोशी र रोशीले समेत सिन्धुलीका खेतीयोग्य जमिन बगाएको छ’ उनले भने ।
पीडित र प्रभावितका लागि गाउँपकालिकाले राहतका प्याकेजहरू ल्याएका छन् । यसअघि मेस चलाएर प्रभावितलाई खुवाइएको थियो ।
पछिल्लो समय पुरिएका घरहरूबाट सामानहरू निकाल्ने काम भइराखेको छ । ‘बगेका बाहेकका क्षेत्रमा पुरिएका क्षेत्र खोतल्ने काम गरिरहेका छौं,’ उनले भने, ‘अत्यधिक क्षति भएकाहरूका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्थामा समेत सहयोग माग गरिरहेका छौं ।’
#Onlinekhabar