We Star Nepal
News From Nepal

शिक्षा ऐन बनेपछि शैक्षिक समस्या समाधान हुनेछन्( अध्यक्ष दाहाल

0 85

काठमाडौं, कार्तिक १५ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले शिक्षासम्बन्धी ऐन बनेपछि शैक्षिक क्षेत्रमा देखिएका धेरै समस्या तथा विकृतिहरु समाधान हुने बताउनु भएको छ।

शंखरापुर नगरपालिका(६ स्थित भाग्योदय माध्यमिक विद्यालयको ७५औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताउनु भएको हो।


विद्यालय शिक्षा विधेयक संघीय संसदमा छलफलका क्रममा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले ऐन बनेपछि शैक्षिक क्षेत्रका समस्या, शिक्षकका समस्या र शैक्षिक विकृतिहरु समाधान हुने बताउनु भयो।

“शिक्षा क्षेत्रमा देखिएका विकृतिहरु विभिन्न कोणबाट आएका छन्, अध्यक्ष दाहालले भन्नुभयो, “यस्ता समस्या समाधान गर्न राजनीतिक दल वा विचारबाट भन्दा माथि उठेर सबैको एकता हुनु जरुरी छ।”

आफूले छोटो समय शिक्षकका रुपमा काम गरेको स्मरण गर्दै अध्यक्ष दाहालले नेपालको राजनीतिक, सामाजिक परिवर्तन तथा शैक्षिक उन्नयनमा शिक्षकहरुको भूमिका निकै महत्त्वपूर्ण रहेको बताउनु भयो। शिक्षण पेसालाई अलि अपमानित गर्ने खराब संस्कृतिको विकास हुन थालेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष दाहालले शिक्षणलाई सम्मानित पेसाको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाली जनताको त्याग र बलिदानबाट देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई नयाँ संविधान कार्यान्वयनकै क्रममा रहेको भन्दै अध्यक्ष दाहालले संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी सबैले इमान्दारिपूर्वक पूरा गर्नुपर्ने बताउनु भयो।

ऐतिहासिक, सांस्कृतिक सम्पदाका हिसाबले शंखरापुर निकै धनी रहेको चर्चा गर्दै अध्यक्ष दाहालले ऐतिहासिक साँखु सहर, साली नदी, बज्रयोगिनी गुंबिहार लगायतका सम्पदाले यहाँको ऐतिहासिक, सांस्कृतिक पक्षलाई चिनाएको बताउनु भयो। साँखु क्षेत्रको विकासका साथै विद्यालयको भौतिक पूर्वाधार विकास तथा गुणस्तरीय शिक्षाका लागि आफूले गर्न सक्ने सहयोग र पहल गर्ने प्रतिबद्धता गर्दै अध्यक्ष दाहालले सबैको एकताबद्ध साथ आवश्यक रहेको बताउनु भयो।

 

“शैक्षिक गुणस्तर त तपाईंहरुको जिम्मेवारी भयो,” अध्यक्ष दाहालले भन्नुभयो, “यहाँको भौतिक पूर्वाधार विकासका लागि नगरपालिकासँगको सहकार्यमा मैले गर्न सक्ने सहयोग र पहलका लागि प्रतिबद्धता व्यक्त गर्दछु।”

Leave A Reply

Your email address will not be published.