नयाँ शक्ति र अनुहार हाम्रै कमजोरीले जन्मिएका हुन्, स्वीकार गर्नु पर्छ ः प्रचण्ड
१५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अभिमत पाएर उदाएका नयाँ अनुहारलाई स्वीकार गर्नु पर्ने बताउनुभएको छ ।
शनिबार प्रचण्डले सामाजिक सञ्जालमार्फत नयाँ शक्ति र अनुहार आफूहरुकै कमजोरीको जगमा उदाएकाले उनीहरुलाई स्वीकार गर्नुपर्ने बताउनुभएको हो ।
उँहाले अगाडि भन्नुभएको छ , ‘सही र गलतको पहिचान जनताले गर्छन, शासकको डण्डाले हैन। यही प्रक्रियाले मात्रै हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।’
‘जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई मैले लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल भन्दै आएको छु’, उनले भनेका छन्, ‘लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरुको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरुले आफूलाई रुपान्तरण गर्न संभव छ।’