सदनमा रास्वपाको गर्जनः प्रहरी कुट्ने एमाले नेतालाई सत्ता टिकाउने बाहनामा उन्मुक्ति, आशिकालाई विनाकसुर १५ दिन हिरासत ?
२०८१ माघ २९, मंगलवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले डय्टीमा रहेका प्रहरी कुट्ने नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुका नेता कमल जोशीमाथि छानबिन नभएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका खनालले सत्ता टिकाउन गृहमन्त्री रमेश लेखकले जोशीमाथि कारबाही नगरेको तर, सामान्य कसुरमा अभियन्ता आशिका तामाङलाई १५ दिनसम्म थुनाएको भन्दै आक्रोश पोखेका हुन् ।
‘ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पस पढ्ने अनेरास्ववियुका नेतालाई नेपाल प्रहरीले अनुसन्धानसमेत गर्ने हिम्मत गरेनछ । त्यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदको रुपमा मलाई त्यहाँका धेरै विद्यार्थीले म्यासेज गर्नु भएको छ । क्याम्पसमा कक्षाकोठामा सधैंभरी उहाँहरुको दादागिरी चल्थ्यो । अब त पुलिसले पनि आँट नगरेपछि कसरी क्याम्पसमा पढ्ने वातावरण होला र ? । कहिले नेविसंघका विद्यार्थी भनेर गृहमन्त्रीसँगको फोटो देखाएर प्राध्यापक थर्काउन पाईने । कहिले सत्ता टिकाउने बाहनामा अखिल समर्थकलाई प्रहरीले अनुसन्धान समेत गर्न आँट नगर्ने । यता अभद्र व्यवहार भनेर आशिका तामाङहरुलाई १५ दिन हत्कडी लगाएर डुलाउने’ उनले भने ।
सांसद खनालले आफ्नो कमाण्डमा रहेका प्रहरीको सुरक्षा गर्न नसकेको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका छन् । उनले नैतिकताको आधारमा गृहमन्त्री लेखक पदमा बस्न नमिल्ने बताएका छन् ।‘दुई तिहाइको तपाईँहरूको बहुमत छ, गृहमन्त्रीले आफैले कमान्ड गरेको प्रहरीको सुरक्षा दिन सक्दैन भने नेपाली युवा कसको युवाको देशमा किन बस्ने ? तपाईंहरूलाई भोट हाल्न मात्र बस्ने ?,’ उनले प्रश्न गरे ।
गत माघ २४ गते यता गत माघ २४ गते राती काठमार्डौंको ठमेलस्थित छायाँ सेन्टर अगाडि ड्युटीमा खटिएका प्रहरीमाथि निर्घात कुटपिट गरेको आरोप जोशीलगायतका नेतामाथि लागेको छ । अमृत साइन्स क्याम्पसका विद्यार्थी नेता जोशीसहति रमेश फुलारा र दिनेश सिग्देलको समूहले प्रहरीलाई कुटपिट गरेको थिए । घटनापछि सिग्देल र फुलारा पक्राउ परेका छन् भने नविन ऐर, गोपाल शाही र सौजन्य शाहीलाई फरार सूचीमा राखिएको छ । तर,जोशीलाई भने फरार सूचीमासमेत नराखी सरकारले सत्ताको आडमा उन्मुक्ति दिने तयारी गरेको छ ।
जोशीसहितका नेताहरुको आक्रमणमा परेर प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइेत भएका थिए । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट समेत लागेको थियो । उनीहरूले प्रहरीको मोटरसाइकल लडाउँदै कुटपिट गरेका थिए भने प्रहरीको लौरो समेत फालिदिएका थिए ।
रिपोर्टर्स नेपाल