उपसभामुखले रामहरिलाई समय दिँदा संसद्मा हंगामा, प्रतिपक्षीको अवरोधपछि बैठक स्थगित
२०८१ माघ २९, मंगलवार
काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगीत भएको छ । आज बसेको बैठकको बीचमा रास्वपा र माओवादी केन्द्रले अबरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगीत भएको हो ।
बैठकमा नियम भन्दा बाहिर गएर नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिईएको भन्दै प्रतिपक्षीले आपत्ति जनाएका छन् ।
सुन्य समय चलिरहेका बेला सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानाले कांग्रेस सांसद रामहरी खतिवडालाई बोल्नका लागि २ मिनेटको समय दिएकी थिईन् । समय पाएपछि खतिवडाले गृहमन्त्री रमेश लेखक र प्रहरीका आईजीपी बसन्त कुँवरको बचाउ गर्दै रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री हुँदा प्रहरीमा बेथिती भित्र्याएको,१६ महिना जुनियरलाई बढुवा गरेको तथा मोलतोल गरेर सरुवा भएकोजस्ता आरोप लगाएका थिए ।
खतिवडालगत्तै रास्वपा सांसद गणेश पराजुलीले कुन नियम अन्तर्गत बोल्न दिइएको भनेर नियमापत्ति जनाए । ‘सरकार पक्षको यो पेलाई कस्तो हो? गरिमामय संसद् प्रक्रियाको लागि हामीसँग नियमावली छ। आकस्मिक समय, शून्य समय र विशेष समयको व्यवस्था गर्ने अधिकार सभामुखकै हो,’ उनले भने, ‘तर सरकारले जसरी जतिबेल मन लाग्यो त्यही बेला पेलान गर्न पाइन्छ? नियमापत्ति गर्दा विषयवस्तुमा नियमापत्ति गर्नुपर्ने हो कि भाषण सुनाउने हो? प्रतिपक्षीलाई दुई तिहाईको धाक दिने हा सम्माननीय सभामुख महोदय? संसद कसरी चलाउने भनेर सरकारले सिकाउने हो कि सभामुखले स्वविवेक प्रयोग गर्ने हो सभामुख महोदय ? हाम्रो यसमा घोर आपत्ति छ घोर विरोध छ।’
उपसभामुख इन्दिराले झुक्किएर सदन सुरुलगत्तै दिइने ३ मिनेटको विशेष समय खतिवडालाई दिएकी थिईन् ।
उनले आफूले लिष्ट हेर्दा झुक्किएर बोलाएको भन्दै सदनको कारवाही अघि बढाउन खोजे पनि माओवादीका सांसद समेत उभिएर अवरोध गरेका थिए । उनीहरुले खतिवडाको भनाइ रेकर्डबाट हटाउन माग गरेका छन् । बैठक केहीबेरामा फेरि सूचारु हुनेछ ।