बालश्रमशोषण गर्ने सांसदलाई उन्मुक्ति दिएको विषयमा संसदमा विरोध
माघ २९, २०८१
काठमाडौँ । बालश्रमशोषण गर्ने सांसदलाई उन्मुक्ति दिएको विषयमा संसदमा विरोध भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले बालश्रमशोषण गर्ने सांसदलाई उन्मुक्ति दिएर यो सरकारले कमलरी प्रथा पुन स्थापित गरेको बताए । उनले यो सरकार अपराधीको संरक्षक बन्दै गएको आरोप लगाए ।
‘यो सरकार न्यायको होइन अन्यायको संरक्षक बन्दै गएको छ । चोरलाई चौतारो निर्दोशलाई सुली चढाउने शासकको रुपमा इतिहासमा दर्ज हुँदैछ ।’ उनले भने, ‘११ वर्षअघि कमलरी मुक्तिको घोषणा गरेर सरकारले थारु चेलीहरुलाई आशा दिलाएको थियो । तर बिडम्बना आज यही सरकारको छत्रछायाँमा रहेको एक सांसदले थारु नाबालिकालाई बन्धक बनाएर दासी सरह शोषण गरी काठमाडौँ महानगरले उद्धार गर्यो तर कारबाही शुन्य । यदी आठ÷आठ वर्षसम्म एउटी नाबालिकालाई एउटी सांसदले बन्धक बनाएर राख्ने, राजनीतिक आडमा अपराधीलाई उन्मुक्ति दिने, र सरकार मुकदर्शक बनेर बसिरहने हो भने नेपाल सरकारले खुलेर घोषणा गरिदिनुपर्यो कमलरी प्रथा पुनस्थापित भईसक्यो भनेर ।’
उनले यो सरकार आफ्नो नेता कार्याकर्तालाई बचाउनलाई, भ्रस्टाचारीलाई जोगाउनलाई, दलाल ठग बिचौलियाहरुलाई उन्मुक्ति दिन बनेको हो ? यदि होइन भने अपराधीमाथि कारबाही किन हुँदैन ? भन्दै प्रश्न गरे ।