घरबाट निस्कन डराउने चेली अहिले हान्छन् ‘फ्लाईइङ किक’

जनकपुरधाम : १६ वर्षीया रजिना खातुनलाई पहिला सरसामान किन्न बजार जान डर लाग्थ्यो। उनी नचिनेका व्यक्तिहरूसँग डराउँथिन्, कसैले जिस्काउँदा वा नराम्रो व्यवहार गर्दा पनि उनी सुनेको नसुन्यै गरेर हिँड्थिन्। तर, अहिले कसैले छोयो वा जिस्क्यायो भने सोझै राउन्ड किक हाल्ने हिम्मत उनमा आएको छ।

‘अब त कसैले जिस्कायो भने खान्छ कुटाई’, रजिना हिम्मतका साथ भन्छिन्। रजिना जस्तै १४ वर्षीया कविता महरा पनि आफूलाई विद्यालय, बजार वा अन्यत्र कसैले दुर्व्यवहार गर्न खोज्यो भने सहेर नबस्ने बताउँछन्। उनमा अहिले प्रतिकार गर्ने हिम्मत आएको छ।बिहीबार जनकपुरस्थित ग्रामीण प्रशिक्षण केन्द्रमा आत्मरक्षा प्रशिक्षण लिइरहेका किशोरीहरूमा गज्जबको उर्जा देखिन्थ्यो। सर्च फर कमन ग्राउन्डको आयोजनामा धनुषा जिल्लाका १३ देखि १९ वर्ष उमेर समूहका ४८ जना किशोरीहरूलाई पाँच दिनको आत्मरक्षा तालिम दिइएको हो। तालिमको अन्तिम दिन आफूले सिकेका ज्ञानको प्रयोगात्मक प्रर्दशन देखाउँदै गरेका किशोरीहरू प्रशिक्षक माथि पनि भारी परेका थिए।

मधेसमा किशोरीहरू घर, समुदाय, विद्यालय र सार्वजनिक थलोमा असुरक्षित भएको अवस्थामा उनीहरूलाई अरु माथि निर्भर हुनुका साटो आफ्नो सुरक्षा आफैं गर्ने उद्देश्यले आत्मरक्षा तालिम दिइएको आयोजक संस्थाका आलोक ठाकुरले बताए।किशोरीहरूलाई खतराका क्षेत्रबारे समेत विशेष जानकारी गराई हिंसा र असुरक्षाको अवस्था आइपुग्दा कसरी जोगिने भन्ने सीपहरूबारे प्रयोगात्मक ज्ञान दिइएको प्रशिक्षणमा प्राविधिक सहयोग गरेको परित्राणका प्रशिक्षक उद्धव थापा मगरले बताए।

किशोरीहरूले प्रहरीमा आफ्नो समस्या राख्न वा उजुरी गर्न डराउने हुनाले यस तालिमका माध्यमबाट उनीहरूलाई प्रहरीप्रति सकारात्मक भावना विकासका लागि समेत उत्प्रेरित गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले बताए। ‘किशोरीहरू हाम्रो समाजमा सबैभन्दा बढी हिंसामा परिरहेका छन् तर उनीहरू कसैलाई आफ्नो पीडा भन्न सक्दैनन्’, उनले भने, ‘यस्तोमा उनीहरुलाई प्रहरी साथी हो भन्ने भावना जगाउन आवश्यक छ।’

Comments (0)
Add Comment